गोरखापत्र समाचारदाता
काठमाडौँ, माघ ८ गते । काठमाडौँ महानगरपालिकाले काठमाडौँ उपत्यकामा गरिरहेको सवारी प्रदूषण परीक्षणमा ७८ प्रतिशत सवारीसाधन अनुत्तीर्ण भएका छन् ।
महानगरले सोमबार चक्रपथको सुकेधारा भएर गुडिरहेका ४० वटा डिजेलका सवारीसाधनको प्रदूषण परीक्षणमा गर्दा ३१ वटा (७८ प्रतिशत) अनुत्तीर्ण भेटिएको महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिनुभयो । त्यसै गरी महानगरले माघ ६ गते टेकुमा ४० वटा सवारीसाधन परीक्षण गर्दा ३३ वटा अनुत्तीर्ण भेटिएका थिए ।
महानगरद्वारा पुस २९ गतेबाट थालिएको सवारीसाधनको प्रदूषण परीक्षणको क्रममा सोमबारसम्म डिजेलबाट चल्ने १४० वटा र पेट्रोलबाट चल्ने २० गरी १६० वटा सवारीसाधनको जाँच भएको छ । यीमध्ये डिजेलबाट चल्ने ९४ वटा र पेट्रोलबाट चल्ने छ वटा सवारी अनुत्तीर्ण भेटिएको हो ।
यसरी गरिएको परीक्षणमा मापदण्डबाहिर रहेका सवारीसाधनलाई मर्मत गर्न, त्यसपछि पुनः परीक्षण गराउन र मापदण्डभित्र मात्र सञ्चालन गर्न कबुलियतनामा गराइएको महानगरले जनाएको छ ।
वायु प्रदूषण नियन्त्रणका प्रयासमध्ये सवारीसाधनबाट निस्कने प्रदूषक तत्व न्यूनीकरण तथा नियन्त्रणका लागि महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले नेपाल सरकारको वातावरण विभाग, उपत्यका ट्राफिक प्रहरी कार्यालय र महानगर प्रहरी बलसँगको सहकार्यमा स्थलगत चेकजाँच गरिरहेको छ ।