• १३ साउन २०८१, आइतबार

नागरिक उड्डयन प्राधिकरणले एक वर्षका लागि विभिन्न छुट सुविधा दिने

blog

लक्ष्मण पौडेल
भैरहवा, जेठ ११ गते ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले मुलुककै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा नीतिगत रुपमै एक वर्षका लागि विभिन्न सुविधा दिने निर्णय गरेको छ ।

विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले एक वर्षसम्म अवतरण शुल्क, सुरक्षा शुल्क, सञ्चार शुल्क र उड्डयन सेवा शुल्कमा शतप्रतिशत छुट दिने निर्णय नागरिक उड्डयन प्राधिकरणले गरिसकेको जानकारी दिनुभयो ।

“अब अन्तर्राष्ट्रिय विमान कम्पनीहरूले यहाँ सहुलियतमा अवतरण गर्ने र पार्किङ गर्ने अवसर पाउँछन् ।,” उहाँले भन्नुभयो ।

विमान कम्पनीहरुले विमानको तौलका आधारमा यस्तो शुल्क तिर्नुपर्ने व्यवस्था छ । हाल उडान भरिरहेको जजिरा एअरवेजको विमान ७८ हजार केजीको छ । ती सबै शुल्क छुट गर्दा उक्त विमान कम्पनीलाई एकपटकको अवतरणमा करिब एक लाख रुपियाँ छुट हुन जाने महाप्रबन्धक दाहालले बताउनुभयो ।

यसबाट अन्य विदेशी विमान कम्पनीहरु पनि आकर्षित हुने र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्ने विश्वास लिइएको उहाँले बताउनुभयो ।

जेठ २ गतेबाट सञ्चालनमा आएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्नका लागि कतिपय खाडी देश र बौद्ध धर्मावलम्बीको बाहुल्य रहेका मुलुकका वायुसेवाहरूले चासो देखाएको भए पनि अन्तिम निर्णय भइनसकेको दाहालको भनाइ छ ।
महाप्रबन्धक दाहालले विभिन्न देशका वायुसेवाहरूले उडानका लागि चासो देखाएको र आगामी दशैँसम्ममा सो विमानस्थलबाट दैनिक रूपमा १० देखि १५ वटा उडान हुने अपेक्षा आफूहरूले राखेको बताउनुभयो ।

“कुवेतको जजिरा एअरलाइन्सले साताको तीन दिन उडान सुरु गरिसकेको छ, मलाई लाग्छ नेपालका जुन वायुसेवाहरू छन्, नेपाल वायुसेवा निगम, हिमालय एअरलाइन्स र बुद्ध एअरलाइन्सले यहाँबाट अन्तर्राष्ट्रिय उडान गर्न चाहनुभएको अवस्था छ ।,” उहाँले भन्नुभयो ।

एअर अरेबिया, भियतनाम, कम्बोडिया, थाइल्याण्डको स्माइल, ओमानको सलाम एअर लगायतका विभिन्न देशका एअरलाइन्सका संस्थाले पनि करिब एक महिनाअघि यहाँ छलफल गरेको जानकारी उहाँले दिनुभयो । “अब एक दुई महिनाभित्र उडान अवतरणका लागि स्वीकृति लिने सम्भावना छ ।”उहाँले भन्नुभयो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता देवचन्द्रलाल कर्णले धेरै कम्पनीहरूले चासो राखेर सोधिरहेको तर लिखित प्रस्ताव हालसम्म नपठाएको बताउनुभयो । “नेपालमा उडान गरिरहेका अधिकांश विमान कम्पनीले हामीसँग उडानबारे सोध्ने काम भने गरेका छन्, ”उहाँले भन्नुभयो ।

खाडी क्षेत्र जाने कामदार र बौद्ध धर्मावलम्बीलाई आकर्षित गर्ने लक्ष्य
मूल रूपमा खाडी क्षेत्रमा कार्यरत कामदार र धार्मिक पर्यटन अन्तर्गत लुम्बिनीको भ्रमण गर्न इच्छुक बौद्ध धर्मावलम्बीलाई आकर्षित गर्ने लक्ष्य विमानस्थलले लिएको छ । महाप्रबन्धक दाहालका अनुसार मुख्य रूपमा खाडी क्षेत्रकै विमान कम्पनीहरूको यस क्षेत्रमा चासो  छ । “बुद्ध धर्मावलम्बी भएका देशहरूको मुख्य आकर्षण यो विमानस्थल बन्ने हाम्रो अपेक्षा हो ।,”उहाँले भन्नुभयो ।

चासो देखाउने विभिन्न वायुसेवा कम्पनीमध्ये साउदी अरेबियाको एअर अरेबिया पनि एक हो । जसको तयारी अरू एअरलाइन्सभन्दा अलिकति अघि बढिसकेको पाइएको विमानस्थल प्रशासनले जनाएको छ ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका निमित्त निर्देशक श्यामकिशोर शाहले उडानको समय यकिन नभइसकेको भएपनि एअर अरेबियाका तर्फबाट तयारी अघि बढेको पाइएको बताउनुभयो । “उहाँहरूले बजार विस्तारका लागि अध्ययन गरिरहेको र विभिन्न ट्राभल एजेन्सीहरूसँग उडान सञ्चालनबारे छलफल गर्नुभएको छ ।,”उहाँले भन्नुभयो ।

विमानस्थलले विदेशी मुलुकमा जाने कामदारहरुका लागि श्रम स्वीकृति प्रदेशबाटै हुने हो भने यात्रुहरुको सङ्ख्या पनि बढ्ने जनाएको छ । हाल जजिराको विमानले ५० जना यात्रु बोकेर उडान भरिरहेको छ ।