काठमाडौं, माघ ७ गते । नेपालमा अध्ययनरत अधिकांश चिकित्सक अध्ययनपछि विदेश जाने योजना बनाएको पाइएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अतिरिक्त सचिव डा.टंक बाराकोटीको संयोजकत्वको बनेको चिकित्सक तथा स्वास्थ्यकर्मीको सेवा सुविधा सुधारसम्बन्धी अध्ययन कार्यदलले बुझाएको पतिवेदनमा अध्ययन सकाएपछि अधिकांश चिकित्सक विदेश जाने योजना बनाएको पाइएको हो ।
उक्त प्रतिवेदन अनुसार मन्त्रालयले महाराजगन्ज मेडिकल क्याम्पस, त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)मा अध्ययन गरेका प्रायः सबै चिकित्सकले अध्ययन सकिएपछि विदेश जाने योजना बनाएको देखाएको छ ।
उक्त प्रतिवेदन अनुसार महाराजगन्ज मेडिकल क्याम्पसका २०२२ मा एमबिबिएस उत्तीर्ण गरेका मध्य ४३ विद्यार्थीसँग गरेको सर्वेक्षणमा एक सय प्रतिशत विद्यार्थीले विदेश जाने योजना सुनाएको थिए । ४३ मध्ये ४१ (९५) प्रतिशतले विदेशी परीक्षाका लागि दर्ता गरिसकेका थिए । ४१ मध्ये पाँच जना सबै परीक्षा उत्तीर्ण गरी म्याचिङको प्रक्रियामा भएको र ३१ जनाले परीक्षा दिँदै गरेको पाइएको थियो ।
सोही क्याम्पसमा स्नाकोत्तरमा अध्ययन गरिरहेका अधिकांश विद्यार्थीले नेपालमा बसेर गर्ने अवस्था नरहेको र अध्ययनपछि विदेश जाने योजना बनाएको पाइएको थियो ।
नेपाल मेडिकल काउन्सिलका विदेश जाने चिकित्सकको सङ्ख्या बर्सेनी बढिरहेको अध्ययनले देखाएको छ । चार वर्षको अवधिमा विदेश जाने प्रक्रियामा लाग्ने चिकित्सकको सङ्ख्या २.६७ गुणले बढेको काउन्सिलको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।
सन् २०२० मा ८६९ चिकित्सकले विदेश जानका लागि असल चरित्रिक प्रमाणपत्र लिएका थिए । त्यस्तै, सन् २०२१ मा १३ सय २७ र सन् २०२२ मा १९५४, सन् २०२३ मा २३ सय १८ जनाले सो प्रमाणपत्र लिएका छन् ।
नेपालमा चिकित्सक किन काम गर्न चाहँदैनन् भन्ने विषयमा सर्वेक्षण गर्दा न्यून तलब र सुविधा र सम्मानित कामको अभाव, अध्ययन अनुसन्धान र वृत्ति विकासको अभाव, स्वास्थ्य संस्थामा घटिरहने हिंसाका घटना, परिष्कृत स्वास्थ्य संस्थाको अभावको कारणले गर्दा विदेशीने देखिएको बाराकोटीले जानकारी दिनुभयो ।
नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डा.सतिसकुमार देवका अनुसार सन् २०२३ को अन्त्यसम्म ३४ हजार ९१० चिकित्सक दर्ता भएका छन् जसमध्ये १० हजार ५८८ विशेषज्ञ चिकित्सक छन् । उहाँका अनुसार काउन्सिलकाे चार वर्षको तथ्याङ्क अनुसार नेपालमा बर्सेनी करिब दुई हजारदेखि २५ सय नयाँ चिकित्सक काउन्सिलमा दर्ता हुने गरेका छन् ।
तर विगतमा केही वर्षदेखि चिकित्सकहरू ठुलो सङ्ख्यामा विदेश पलायन भइरहेका छन् । नेपाल मेडिकल काउन्सिलको २०२३ को वार्षिक प्रतिवेदन अनुसार सन् २०२३ मा २६ सय ९२ नयाँ चिकित्सक दर्ता भएका थिए । सोही अवधिमा काउन्सिलबाट विदेशमा अध्ययन र काम गर्न २३ सय १८ जना चिकित्सकको असर चरित्रिक प्रमाणपत्र लिएका थिए ।