लक्ष्मण पौडेल
भैरहवा, माघ ६ गते । रवि लामिछानेसहित २२ जनाविरुद्धको मुद्दा जिल्ला अदालत पठाइएको छ । सो कुरा न्यायाधिवक्ता प्रेमराज पौडेल, रुपन्देहीले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्नुभएको हो ।
रविसहित २२ जनाविरुद्ध ५५ करोड बिगोसहित मुद्दा दर्ता
यसअघि सुप्रिम सहकारी बुटवलको बचत अपचलनको अभियोगमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, पूर्वडीआईजी छविलाल जोशीसहितका विरुद्ध आइतबार मुद्दा दर्ता भएको थियो ।
जिल्ला सरकारी वकिल कार्यालयले लामिछाने र जोशीसहित २२ जनाविरुद्ध पुरक अभियोग दर्ता भएको हो । ५५ करोड बिगो दाबीसहित रूपन्देही जिल्ला अदालतमा आइतबार मुद्दा दर्ता भएको जिल्ला सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता प्रेमराज पौडेलले जानकारी दिनुभयो ।
यसअघि गत वैशाखमा जीबी भन्ने गितेन्द्रबाबु राईसहित २८ जनालाई प्रतिवादी बनाएर सहकारी ठगीमा मुद्दा दर्ता भएको थियो । तर उनीहरुमध्ये १७ जनाविरुद्ध थप अभियोग समेत लगाइएको छ । यसअघि नै सहकारी ठगीको मुद्दा लगिएका मध्ये केहीलाई पूरकअभियोगमा पनि प्रतिवादी बनाइएको छ । उनीहरुलाई सहकारी ठगी र संगठित अपराधको कसुरमा सजाय माग गरिएको छ ।
जिल्ला न्यायाधिवक्ता पौडेलका अनुसार पूरक अभियोग र थप अभियोगसहित यो मुद्दामा जम्मा प्रतिवादी ४२ जना भएका छन् । पहिलो चरणको मुद्दामा ८६ करोड रुपियाँ बिगो कायम गरिएको थियो । प्रतिवादी थप भएसँगै बिगो पनि झण्डै डेढ अर्ब पुगेको हो ।
प्रहरीले एक साताअघि नै चार सय पेज बढीका दुई प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई बुझाएको थियो । जिल्ला सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता पौडेलले सुरु प्रतिवेदनका २८ जना र पूरक जाहेरीका आधारमा रवि र छविसहित १७ जना थप गरेर प्रहरीले ४५ जनालाई मुद्दा चलाउनु पर्ने राय दिएकाले सोही अनुसार मुद्दा दर्ता गरिएको बताउनुभयो । असोज ५ गते रवि र छविविरुद्ध किटानी जाहेरी परेपछि प्रहरीले थप पूरक प्रतिवेदन तयार गरेको गरी सरकारी वकिल कार्यालयमा बुझाएको थियो ।
प्रतिवेदनमा रवि लामिछानेलाई व्यक्तिगत दुई करोड र सामूहिक दायित्व दुई करोड १३ लाख गरी चार करोड १३ लाख रुपियाँ, छविलाल जोशीलाई दुई करोड ५० लाख व्यक्तिगत र एक करोड ७८ लाख सामूहिक दायित्व गरी चार करोड २८ लाख बिगो दाबी माग गरिएको छ ।
सुप्रिमबाट दुई करोडको चार लाख सेवा शुल्क कटाएर एक करोड ९६ लाख रुपियाँ लामिछानेको खातामा गएको देखिएको छ । त्यसको भौचरसहित प्रहरीले प्रतिवेदनमा समेटेर दुई करोडलाई व्यक्तिगत र अन्यलाई सामूहिक दायित्वमा उल्लेख गरेको छ । लामिछानेका नाममा २०७७ चैत १८ गते दुई करोड रकम ग्लोबल आईएमई बैंकको खातामा जम्मा भएको थियो ।
त्यस्तै, गितेन्द्रबाबु राईलाई चार करोड नौ लाख रुपियाँ थप बिगो, दीपक लामालाई चार करोड २५ लाख, नरेश जिसीलाई तीन करोड, हेमन्त अधिकारीलाई दुई करोड ७७ लाखसहित ४२ जनाबाट बिगो भराउने गरी मुद्दा दर्ता गरिएको छ ।
बुटवलस्थित सुप्रिम सहकारी ऋण तथा बचत सहकारी संस्थाका १० हजार तीन सय ९१ जना बचतकर्ताको एक अर्ब १२ करोड भन्दा बढी रकम अपचलन भएको छ ।