गोरखापत्र समाचारदाता
काठमाडौँ, माघ ६ गते । नेवाः चलचित्रकर्मी र चलचित्रको प्रवर्धन र संवर्धन गर्ने उद्देश्यले स्थापित नेवाः संकिपा (चलचित्र) राष्ट्रिय दबूको दोस्रो अधिवेशनले रत्न महर्जनको अध्यक्षमा १३ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ । संकिपा दबूको उपाध्यक्षद्वयमा रवि डङ्गोल र मञ्जु श्रेष्ठ, सचिवमा रवि महर्जन, सहसचिवमा राजीव राजोपाध्याय, कोषाध्यक्षमा अन्नपूर्णेश्वरी श्रेष्ठ र सहकोषाध्यक्ष रञ्जु श्रेष्ठ रहनुभएको छ । सदस्यमा भीमसेन रिसाल, राज शाक्य, राजेश महर्जन, रेवन्तलाल श्रेष्ठ, रवि श्रेष्ठ र सुवीन्द्र श्रेष्ठ हुनुहुन्छ । संकिपा दबूको पहिलो बैठकले पहिलो नेपाली चलचित्रकी नायिका तथा चलचित्र विषयमा डिप्लोमा गर्ने प्रथम व्यक्ति चैत्यदेवी सिंह तथा पहिलो मातृभाषामा बनेको चलचित्र सिलुका नायक जय श्रेष्ठलगायतलाई मानार्थ सदस्यता प्रदान गर्ने निर्णय गरेको छ । यसै गरी संकिपा कोष स्थापना गर्ने, चलचित्र प्रदर्शन, चलचित्र महोत्सव गर्ने निर्णय पनि गरिएको छ ।