• ५ माघ २०८१, शनिबार

विद्यालय भवन शिलान्यास

blog

बौद्धीमाई नगरपालिकाका नगरप्रमुख प्रदिपकुमार यादवले विद्यालय भवनको शिलान्यास गर्नुहुँदै । तस्बिर : सञ्जय कुमार मिश्र

सञ्जय कुमार मिश्र
गौर, माघ ५ गते ।
रौतहटको बौद्धीमाई नगरपालिकाका नगरप्रमुख प्रदिपकुमार यादवले  १२ कोठे विद्यालय भवनको एक कार्यक्रमबिच शिलान्यास गर्नुभएको छ ।

विद्यालयको पठनपाठन सहज हुने उद्देश्यले बौद्धीमाई नगरपालिका वडा नं. ६ पिपरियास्थित शारदा माध्यमिक विद्यालयको १२ कोठे भवन निर्माणका लागि उहाँले शनिबार शिलान्यास गर्नुभएको हो ।

नगरपालिकाको तीन करोड ९४ लाखको लागतमा बाबा गण्निाथ, जयमाँ दुर्गा कमल जेभिले २८ मई २०२५ सम्म उक्त विद्यालय भवन निर्माण सम्पन्न गर्ने बौद्धीमाई नगरपालिकाले जनाएको छ ।

विद्यालय भवन शिलान्यासपछि कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नगरप्रमुख यादवले उक्त विद्यालयको भवन निर्माणका लागि विगतमा थुप्रै लगानीमा भवन निर्माण गरिए पनि अधिकांश भवन आधा अधुरो, विना डिजाइन तथा जीर्ण रहेकाले  आफ्नो कार्यकालमा गुणस्तरिय र दीर्घकालीन सेवा सुविधा लिन सक्ने उद्देश्यले ठोस विद्यालय भवन निर्माण कार्य गर्न लागेको बताउनुभयो ।

नगरप्रमुख यादवले विगतका जनप्रतिनिधिहरुले गरेको आधा अधुरो काम, एक तर्फ निर्माण गर्ने अर्को तर्फ टुटने फुटने तथा एउटै काममा पटक पटक लगानी गरी जनतालाई विकासको नाममा ठग्ने प्रवृतिलाई अन्त्य गर्ने प्रतिवद्धता व्यक्त गर्नुहुँदै आफ्नो कार्यकालमा ठोस गुण्स्तरिय तथा दीर्घकालीन रुपले सञ्चालन हुने कार्यलाई प्राथमिकता दिइएको बताउनुभयो ।

नगरप्रमुख यादवले आफूले नगरभरिको सडक फराकिलो तथा नालासहित सुन्दर गुणस्तरिय सडक निर्माण गरी नगरपालिकाको मुहान फेर्न लागेको प्रति विपक्षीहरुले विभिन्न बाधा व्यवधान खडा गरी विकास निर्माणको गतिलाई अवरोध उत्पन्न गरिरहेको गम्भीर आरोप लगाउदै उहाँले जनताको मर्म तथा भावना अनुसार तथा ऐन कानुन र स्थानीय निकाय सञ्चालन ऐनको परिधि भित्रमा रहेर विकास निर्माण कार्यलाई सम्पन्न गराउने वाचा गर्नुभयो ।

शिलान्यास कार्यक्रममा उपनगरप्रमुख प्रमिला देवी जयसवाल, वडाध्यक्षहरु, कार्यपालिका सदस्य, प्रमुख प्रशासकीय अधिकृत सन्देश यादव, विद्यालयकाका शिक्षक नपाका कर्मचारीलगायतको सहभागिता रहेको थियो ।