• २ असार २०८२, सोमबार

७६ जना फरार प्रतिवादी पक्राउ

blog

फाइल तस्बिर

रवीन्द्र उप्रेती

बर्दिबास, असार १ गते । विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भइ फरार रहेका ७६ जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । अदालतबाट फैसला भए पनि लुकीछिपी बस्दै आएका उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । 

महोत्तरी जिल्ला अदालतबाट प्राप्त फरार प्रतिवादीहरूको विवरणको आधारमा जिल्ला प्रहरी तथा मातहतका प्रहरी युनिटहरूले जेठ महिनाभर सञ्चालन गरेको अभियानका क्रममा उनीहरूलाई जिल्लाका विभिन्न ठाउँबाट पक्राउ गरिएको जिल्ला प्रहरीका प्रहरी निरीक्षक नन्दकिशोर चौहानले बताउनुभयो । 

पक्राउ परेका मध्ये सबैभन्दा बढी कुटपिट मुद्दाका २७ जना छन् । त्यस्तै कुटपिट लुटपिटका १४ जना, सवारी ज्यानका ६, चोरीका ५, लेनदेन बिगोका ४, लागुऔषधका ४, जालसाजीका ३, कर्तव्य ज्यानका २ तथा चेक अनादर, बैंकिङ कसुर, बहुविवाह र शिक्षासम्बन्धी कसुरका एक–एक जना गरी ४ जना र लागुऔषध चोरी मुद्दाका एक जना समेतलाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ परेका ७६ जनाबाट २१ वर्ष ८ महिना ६ दिन कैद तथा दुई लाख ९० हजार ३६२ रुपियाँ बराबरको जरिवाना असुल उपर गर्न महोत्तरी जिल्ला अदालतमा दाखिला गरेको चौहानले बताउनुभयो । 

पक्राउ परेका मध्ये बहुविाहका प्रतिवादीलाई अदालतले तारेखमा र कुटपिटका २७ जना प्रतिवादीबाट आठ हजार ८८२ रुपियाँ जरिवान असुल गरी छाडेको छ । त्यस्तै कैद तथा जरिवानाको सजाय पाएका १३ जनालाई जलेश्वर कारागार चलान गरिएको छ । 

कारागार चलान हुनेमा कर्तव्य ज्यान, बैंकिङ कसुर, लागुऔषध, लेनदेन विगो र सवारी ज्यान तथा लागुऔषध चोरीका फरार प्रतिवादी रहेको जिल्ला प्रहरीले जनाएको छ ।