धर्बेन्द्र झा
जनकपुरधाम, असार १ गते । मधेश प्रदेश सरकारका प्रवक्ता एवम गृह सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले समाज रूपान्तरणमा कलाकारहरूको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभएको छ ।
मधेश प्रदेशको राजधानी जनकपुरधाममा आइतबार चलचित्र तथा लोक सञ्चार प्रवर्धन वोर्डले चलचित्र तथा लोकसञ्चार प्रवर्धन वोर्डको संस्थागत विकास सम्बन्धी आयोजना गरेको संवाद कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले सीमित स्रोतसाधनका बावजुद मधेश प्रदेश सरकार मधेश प्रदेशको कला संस्कृतिको विकासका लागि प्रतिबद्ध रहेको भन्दै मधेशको कला संस्कृतिको विकासमा चलचित्र तथा लोक सञ्चार प्रवर्धन बाेर्डले पहलकदमी लिनुपर्नेमा जोड दिनुभयो । उहाँले चलचित्र तथा लोक सञ्चार प्रवर्धन बोर्डमा नयाँ नेतृत्व आएपछि भएको यस प्रकारको कार्यक्रममा आएका सुझावलाई बोर्डले गम्भीरता पुर्वक लिएर अगामी दिनमा कार्ययोजना बनाउनु पर्नेमा जोड दिनुभयो । उहाँले देशमा प्राप्त भएका उपलब्धी प्राप्त गर्नमा राजनीतिकर्मीको सँगसँगै पत्रकार र कलाकारको भूमिका पनि उत्तिकै महत्त्वपूर्ण रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “हामीले प्राप्त गरेका उपलब्धीहरू प्रयाप्त छैन । हामीले स्वेत प्रदेशका कुरा गर्दछौं । स्वेत क्षेत्र र स्वेत इलाकाका कुरा गर्छौ । अब संविधानले परिकल्पना गरेअनुसार स्वेत इलाकाहरूको बारेमा पनि छलफल चलाउनुपर्छ ।”
कार्यक्रममा मधेश प्रदेशसभाका प्रदेशसभा सदस्यहरूले कलाकारिता क्षेत्रलाई रोजगारसँग जोडनुपर्ने भन्दै त्यसका लागि चलचित्र तथा लोकसञ्चार प्रवर्धन वोर्डले मधेशमा विलक्षण प्रतिभा भएकाको खोजी गर्नुपर्नेमा जोड दिनुभयो । जसपा नेपालका प्रदेशसभा सदस्य मनिस सुमनले हरेक मान्छेमा विलक्षण प्रतिभा हुनेगरेको भन्दै राज्यले त्यस्ता प्रतिभा भएकाहरूको खोजी गर्नुपर्ने बताउनुभयो ।
नेकपा (एमाले) का प्रदेशसभा सदस्य राजेन्द्र चौधरीले मौलिक परम्परामा आधारित लोक नाचहरू लोप भइरहेको बताउनुभयो । त्यस्ता लोकनाच र लोकगीतको संरक्षण गरी राज्यले यसलाई रोजगारीसँग जोडनु पर्नेमा जोड दिनुभयो । चलचित्र तथा लोकसञ्चार प्रवर्धन बाेर्ड मधेश प्रदेशका अध्यक्ष किशोरकुमार लेखीको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रदेशसभा सदस्यले आफनो विचार राख्नुभएको थियो ।
कार्यक्रममा अध्यक्ष किशोर लेखीसहित मिथिलाका लोकप्रिय गायक ललित कामतसहितका कलाकारहरूले मौलिक गीतहरू प्रस्तुत गर्नुभएको थियो ।