कुनै समय खरो चलचित्र समीक्षकको परिचय बनाउनुभएका दीपेन्द्र लामाको परिचय फेरिएको पनि आधा दशकभन्दा बढी भइसकेको छ । चलचित्र ‘घामपानी’ मार्फत निर्देशन फाँटमा ‘डेब्यु’ गर्नुभएका लामाको त्यसयता करिब आधा दर्जन चलचित्र प्रदर्शनमा आइसकेका छन । निर्मातालाई नडुबाउने निर्देशकको छाप छोड्नुभएका लामा यतिबेला आफूले निर्देशन गरेको चलचित्र ‘दुःखी आत्मा’ को प्रदर्शनको तयारीमा हुनुहुन्छ । चलचित्र ‘दुःखी आत्मा’ र अन्य समसामायिक विषयमा केन्द्रित रहेर गोरखापत्रका लागि सुकृत नेपालले निर्देशक लामासँग गर्नुभएको कुराकानी :
० चलचित्र ‘दुःखी आत्मा’ को पहिलो टिजरमा यौन र यौनिकताका कुरा धेरै मिसाउनुभयो भन्ने आरोप छ नि ?
– चलचित्र नै पुरुषमा हुने इरेक्टाइल डिस्फक्सन अर्थात् लिङ्ग उत्तेजित नहुने समस्याका बारेमा हो । यस्तो विषयमा भारत र विदेशतिर प्रशस्तै चलचित्र बनेका छन् । नेपालमा सम्भवतः पहिलो पटक बनेको हो । यौनसम्बन्धी बनेको चलचित्र भएपछि टिजरमा दर्शकले अपेक्षागरेभन्दा नौला दृश्य र संवाद हुने भइहाल्यो नि ।
० यो विषय किन उठाउनुभयो ?
– अव्यवस्थित जीवनशैली, मानसिक तनाव र मधुमेह तथा अन्य कारणले पुरुषमा यस्तो समस्या बढेको रहेछ । यौन स्वास्थ्यमाथि बनेका धेरै विदेशी चलचित्र हेरेको थिएँ । मलाई पहिलेदेखि नै लाग्थ्यो, नेपालमा यस्तो विषयमा चलचित्र कहिले बन्छ ? पछि आफैँ चलचित्र निर्देशनमा आए र लगातार कुनै न कुनै संवेदनशील विषयमा काम गर्दै आएको छु । अन्य चलचित्रकर्मीले यो विषयमा जोखिम उठाउने नदेखेपछि म आफैँ मैदानमा आएको हुँ ।
० ‘दुःखी आत्मा’ नाम सुन्दा मान्छेले सुरुमा यसलाई कस्तो खालको चलचित्र भन्ने ?
– यसलाई केहीले हरर चलचित्र हो भनेर सोधे, केहीले धार्मिक भनेर पनि सोधे । केहीले गरिब पात्रमाथिको चलचित्र होला भनेर अनुमान गरे तर यो एउटा हास्यप्रधान चलचित्र हो । विषयवस्तु गम्भीर भए पनि सुरुदेखि अन्त्यसम्म दर्शकको हाँसोको फोहोरा छुट्ने छ । दर्शकले नेपाली चलचित्रमा पहिलो पटक नयाँ खाले कन्टेन्ट हेर्न पाउने छन् ।
० तपाईंको निर्देशनमा बनेका चलचित्रको कथा सधैँ नयाँ नै हुन्छन्, यी सबैमा भिन्नता के छन् ?
– विषयवस्तुका हिसाबले यो नौलो भइहाल्यो । सेन्सर बोर्डले वर्गीकरण गर्न बाँकी नै छ तर अहिलेलाई हामी आफैँले यो चलचित्र वयस्कका लागि मात्र भनेर वर्गीकरण गरेका छौँ । १८ वर्षमाथिका दर्शकले सहज वातावरणमा हेर्न उपयुक्त चलचित्र हो यो तर वयस्कका लागि भन्दैमा पोर्न वा सफ्ट पोर्न चलचित्र नै बनाइहाले कि भनेर नहच्किनुहोला । नेपाली दर्शकको पाचनशक्तिलाई ख्याल गरेर चलचित्र बनाइएको छ । चलचित्रमा पचाउन नसकिने एउटै पनि दृश्य खिचिएको छैन ।
० सधैँ अन्य चलचित्रको आलोचनात्मक समीक्षा लेख्ने तपाईंलाई आफ्नो आलोचना सुन्दा कस्तो लाग्छ ?
– आलोचना गर्ने संस्कृतिको दरिलो उपस्थिति र विकास हुनु पर्छ भन्ने मान्छे हुँ म । त्यसैले मेरो चलचित्रको आलोचना सुन्दा र पढ्दा समग्रमा खुसी लाग्छ । कम्तीमा मान्छेले आफूलाई लागेको कुरा खुलेर भन्न थाले । मेरो असन्तुष्टि केमा हो भने, चलचित्रकर्मीको जसरी स्तरोन्नति भइरहेको छ, चलचित्रमाथि समीक्षा गर्नेको कलम त्यति तिखो भइरहेको छैन । समीक्षा गर्ने चलचित्र बुझ्ने सामथ्र्यलाई आलोचकले बढाउन जरुरी छ ।
० नेपाली चलचित्रको भविष्य कस्तो देख्नुहुन्छ ?
– नेपाली चलचित्रको भविष्य एकदमै उज्ज्वल छ । दर्शकलाई मन पर्ने चलचित्र बनाए दर्शक हलसम्म आउन तयार छन् । हप्तामा दुई/तीन वटै चलचित्र हेर्न पनि तयार छन् । चलचित्रको प्रविधि र चलचित्रकर्मीले आफ्नो स्किललाई पनि बढाइरहेका छन् । बजारको आयतन बढेको बढ्यै छ । केही वर्षअघि तीन करोड ग्रसलाई हिट भनेर मक्ख पर्नुपर्ने अवस्था थियो । आज ४० करोडको आँकडालाई नाघिसक्यो । त्यसैले भविष्य उज्यालो छ ।
० तपाईंको नजरमा चलचित्र र पत्रकारितामा कुन सहज रहेछ ?
– पत्रकारिता अहिलेलाई छोडेको नै हो । दुवै काम अप्ठ्यारा छन् । दुवैको जिम्मेवारी ठुलो छ । पत्रिकामा लेख्नु भनेको एकदमै वान म्यानसिप हो तर चलचित्र निर्देशन गर्नु भनेको टिमवर्क हो । चलचित्र राम्रो वा नराम्रो बन्नुमा टिमको महत्वपूर्ण भूमिका रहन्छ ।