सिराज खान
नेपालगन्ज, असार २२ गते । बाँकेको बैजनाथ गाउँपालिकामा छोराले बाबुको हत्या गरेको प्रहरीले जनाएको छ । बैजनाथ गाउँपालिका–२ मकैबारी निवासी ६० वर्षीय टोपबहादुर रोका क्षेत्रीको शनिबार राति हत्या भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
इलाका प्रहरी कार्यालय कोहलपुरका सूचना अधिकारी प्रहरी निरीक्षक हरि भट्टराईका अनुसार शनिबार कान्छा छोरा भविलाल रोकाले धारिलो हतियार प्रयोग गरी बुबा टोपबहादुरको हत्या गरेका हुन् ।
घरमा परिवारका अन्य सदस्यहरु नभएको बेला भविलालले बाबुको हत्या गरेको प्रारम्भिक जानकारी आएको जनाउँदै इलका प्रहरी कार्यालय कोहलपुरका सूचना अधिकारी भट्टराईले घटनाबारे अनुसन्धान सुरु गरिएको बताउनुभयो ।
उहाँले बाबुको हत्या गरेर भविलाल फरार रहेको जनाउँदै प्रहरीले उनको खोजी भइरहेको जानकारी दिनुभयो । यद्यपि हत्या किन र कसरी भयो भन्नेबारे अहिलेसम्म खुल्न नसकेको उहाँले बताउनुभयो ।
छिमेकीहरुका अनुसार भविलाल लागुऔषध सेवन गर्ने भएकाले सो घटना भएको हुन सक्ने अनुमान गरिएको छ । सो घटनाबारे प्रहरीले अनुसन्धान अगाडि बढाएको जनाउँदै प्रहरीको तालिमप्राप्त कुकुरको सहायताले फरार भविलालको खोजी गरिरहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।