काठमाडौँ, माघ ३ गते । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी सङ्घ (नेवि सङ्घ) को आयोजनामा माघ ७ गतेदेखि दक्षिण एसियाली विश्वविद्यालय ‘टी–२० जय नेपाल कप’ क्रिकेट प्रतियोगिता हुने भएको छ ।
प्रतियोगितामा नेपालका चार, भारतको तीन र बङ्गलादेशको एक गरी आठ वटा विश्वविद्यालयको सहभागिता रहने बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताका संयोजक गणेश थापाले जानकारी दिनुभयो ।
प्रतियोगितामा नेपालबाट काठमाडौँ विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालय, भारतको दिल्ली विश्वविद्यालय, लखनउ विश्वविद्यालय र बाबासाहेब भीमराव विश्वविद्यालय तथा बङ्गलादेशको ढाका विश्वविद्यालयको सहभागिता रहनेछ ।
त्रिवि मैदान कीर्तिपुरमा नौ दिनसम्म चल्ने प्रतियोगितामा सहभागि टिमलाई दुई समूहमा विभाजन गरी लिग फरम्याटमा प्रतिस्पर्धा गराईनेछ । ग्रासरुट क्रिकेटको विकास र प्रतियोगिताको माध्यामबाट जलवायु परिवर्तनको महत्त्वपूर्ण मुद्दालाई प्रवर्द्धन गर्ने उद्येश्य रहेको आयोजक नेवि सङ्घका अध्यक्ष दुजाङ शेर्पाले बताउनुभयो ।
करिव तीन करोड रुपियाँ लगानीमा आयोजना हुने प्रतियोगिताको विजेता टिमलाई १५ लाख र उपविजेतालाई १० लाख रुपियाँ तथा ब्यक्तिगत विधाको विजेतालाई पाँच लाख रुपियाँ प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितालाई नेपाल क्रिकेट सङ्घ (क्यान) ले प्राविधिक सहयोग गर्नेछ ।