• ३ माघ २०८१, बिहिबार

‘फ्रम दी रकिज टु हिमालयज’ प्रदर्शनी

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, माघ ३ गते । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, गण्डकी प्रज्ञा–प्रतिष्ठानको आयोजना र सिर्जनशील कलाकार समूहको सहकार्यमा ‘फ्रम दी रकिज टु हिमालयज’ प्रदर्शनी मङ्गलबार सम्पन्न भएको छ । प्रदर्शनीको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गर्नुभयो । उहाँले पर्यटकीय नगरी पोखरालाई कला नगरीका रूपमा चिनाउन यस्ता प्रदर्शनीले महत्वपूर्ण भूमिका खेल्ने बताउँदै आगामी दिनमा सम्झौता गरेर यस्ता कार्यक्रममा सहकार्य गरिने धारणा राख्नुभयो । 

प्रतिष्ठानका बहुआयामिक तथा अन्य सिर्जनात्मक कला विभाग प्रमुख सौरगङ्गा दर्शनधारीले काठमाडौँमा भइरहने यस्ता खाले प्रदर्शनीलाई पोखरामा गर्न पाउँदा खुसी लागेको बताउनुभयो । आयरल्यान्डका कलाकार लोरा मर्फीले कार्यक्रमका आयोजकप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो । प्रदर्शनीमा पोखरेली कलाकारका ३०, अमेरिकाका २२, डेनमार्कका दुई, आयरल्यान्डका दुई कलाकृति राखिएका थिए । जसमा नेपालका दुर्गा बराल,  क्षेत्रलाल कायस्थ, हरेराम जोजिजू, सुनील सिग्देल, राधिका कँडेल, शिव सिर्पाली, दलबहादुर गुरुङ, सुदिन श्रेष्ठ, विश्व केसीको कलाकृति रहेको थियो । प्रदर्शनी अन्तर्गत मङ्गलबार केशवराज खनालले नेपालमा बहुआयामिक कलाको अवस्था र पृथ्वी श्रेष्ठ/सुनील सिग्देलले प्रस्तुति कला विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।