• ४ जेठ २०८१, शुक्रबार

गुजरात फाइनलमा प्रवेश

blog

आइपीएलको पहिलो क्वालिफायर खेलमा गुजरात र राजस्थान रोयल्स प्रतिस्पर्धा गर्दै । तस्बिर : क्रिकिन्फो

काठमाडौं, जेठ ११ गते । गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको फाइनलमा पुगेको छ । कोलकाता स्थित इडेन गार्डेन मैदानमा मंगलबार राति भएको पहिलो क्वालिफायर खेलमा गुजरातले राजस्थान रोयल्सलाई ७ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको हो । 

जितको लागि १ सय ८९ रनको विजयी लक्ष्य पछ्याएको गुजरातले १९.३ ओभरमा तीन विकेटको क्षतिमा १ सय ९१ रन बनाएको थियो ।  गुजरातको जितमा डेविड मिलर अविजित ६८ रन बनाउनुभयो । कप्तान हार्दिक पान्डेयले अविजित ४०, शुभमन गिलले र म्याथ्यु वेडले समान ३५ रन बनाउनुभयो । बलिङमा राजस्थानका ओबेद म्याकोय र ट्रेन्ट बोल्टले एक एक विकेट लिनुभयो

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा  १ सय ८८ रन बनाएको थियो । राजस्थानका ओपनर जस बटलरले सर्वाधिक ८९ रन बनाउनुभयो । सन्जु स्यामसनले ४७ र देवदत्त पाडिक्कलले २८ रन बनाउनुभयो । 

गुजरातका मोहम्मद शामी, यश दयाल, हार्दिक पान्डेय र रविश्रीनिवासन साई किशोरले एक एक विकेट लिनुभयो । राजस्थानले अब एलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्नेछ । एलिमिनेटरमा तेस्रो स्थानको लखनऊ सुपर जायन्ट्स र चौथो स्थानको रोयल च्यालेन्जर्स बेंगलोरबीच आज (बुधबार) प्रतिस्पर्धा हुँदैछ । एजेन्सी