भूकम्प (भुइँचालो) पृथ्वीमा लगातार आउन सक्ने नियमित प्रक्रिया वा प्राकृतिक विपत्ति हो । जमीनबाट करिब ८० देखि १०० किलोमिटर तलसम्मको पृथ्वीको माथिल्लो भाग धेरै टुक्रामा विभाजित छ । यी टुक्रालाई टेक्टोनिक प्लेट भनिन्छ । ती प्लेटहरू समुद्रमा डुङ्गा तैरिरहे जस्तो ‘एस्थेनोस्फेएर’ मा तैरिएर निश्चित दिशामा हिँडिरहेका हुन्छन् । हिँड्ने क्रममा कहिले एकअर्काबाट टाढा जाने र कहिले नजिक आएर ठोक्किन पुग्छन् । यसरी ठोक्किँदा, एक प्लेट अर्कोको मुनि घुस्दा वा घोटिने क्षेत्रमा दबाब सिर्जना हुँदा शक्ति सञ्चय हुँदै जान्छ । यस्तो शक्ति केही समयदेखि वर्षौंसम्म सञ्चित भएर रहन्छ । त्यो शक्ति जब उक्त क्षेत्रमा रहेको चट्टानले थेग्ने क्षमताभन्दा बढी हुन्छ, तब पृथ्वीको माथिल्लो तहमा रहेका चट्टानसमेत फोरेर सबै ऊर्जा एकैचोटि बाहिर निस्कँदा कम्पन आउने गर्छ सोही कम्पन नै भूकम्प हो । टेक्टोनिक प्लेटहरूको सिमाना जहाँ जहाँ पर्छ ती क्षेत्रमा भूकम्प आउने गर्छ ।
अतः भूकम्प भू गर्भीय गडबडीबाट आउने पृथ्वीको कम्पन हो । यो कम्पनलाई रेक्टर स्केलमा नापिन्छ । भूकम्प नाप्ने यन्त्रलाई सिस्मोमिटर भनिन्छ । भूकम्प दुई तरिकाले मापन हुन्छ, त्यो हो रेक्टर स्केल र अर्को इन्टेन्सिटी । स्केलको विकास भइसकेपछि इन्टेन्सिटीको प्रयोग कम हुन थालेको छ । स्केलले भूकम्पको क्षमता नाप्छ । इन्टेन्सिटीले क्षतिको मापन गरेर मात्र कत्रो भूकम्प आएको हो भन्ने अनुमान गर्छ । रेक्टर स्केलमा ० देखि १० सम्मको भूकम्पको मापन हुन्छ । आठ रेक्टर स्केलभन्दा धेरै परिमाणका भूकम्पलाई ठुला र त्यसभन्दा साना छ सम्मकालाई मझौला र छ रेक्टर स्केलभन्दा साना चार रेक्टर स्केलसम्मकालाई साना भूकम्प भनिन्छ । अधिकांश विध्वंसात्मक भूकम्प भौगर्भिक चिरामा चट्टान चर्की पारस्परिक विस्थापन भएर हुन जान्छ ।
भूकम्प लम्बीय र क्षितिजीय मार्गबाट जान्छ । भूकम्पमा तीन किसिमका तरङ्ग उठ्छन् । पहिलो, पि–वेभ (ध्वनि तरङ्ग) सुरुमा निस्कन्छ र यसले कुनै हानिनोक्सानी गर्दैन । दोस्रो, एस–वेभ (जमिन तल माथि गरेर आउने तरङ्ग) र तेस्रो, सतही तरङ्गले नोक्सानी गर्छ । सतही तरङ्ग पनि दुई किसिमका हुन्छन् । ती हुन् : जमिनको माथिल्लो पत्र दायाँबायाँ हल्लिने तरङ्ग (लभ वेभ) र माथिल्लो पत्र घुमेर हल्लिने तरङ्ग (रेलेज वेभ) । यी तरङ्गले गर्दा जमिनमा अति खतरनाक कम्पन उत्पन्न हुन्छ । भूकम्म उत्पन्न भएको केन्द्रविन्दु (इपिसेन्टर) को दुरी अनुसार यी तरङ्गको आगमन समय पनि फरक फरक हुन्छ ।
सामान्य खालको भूकम्प नियमित जसो कहीँ न कहीँ गइरहेको हुन्छ । तिनको हामीले महसुस गर्न सक्दैनौँ । जसको मापन पनि गरिँदैन । पाँच रेक्टर स्केलभन्दा माथिको भूकम्प गएको थाहा पाइन्छ र त्यसले क्षति पुर्याउँछ । भूकम्पले सधैँ र सबै स्थानमा एकै किसिमको क्षति गर्दैन । सन् १९६० मा चिलीमा गएको भूकम्प विश्वमा हालसम्मकै सर्वाधिक ठुलो हो भने तर जनधनको क्षतिका हिसाबले सन् २०१० मा हैटीमा गएको भूकम्प हालसम्मकै विनाशकारी
बनेको छ ।
विश्वका शक्तिशाली भूकम्प
चिलीमा सन् १९६० मे २२ तारिखमा गएको ९.५ रेक्टर स्केलको भूकम्प हालसम्मकै सर्वाधिक ठुलो मानिएको छ । सो कम्पनको प्रत्यक्ष असरबाट १७ सय मानिसको मृत्यु भएकोमा त्यसको कारणले उठेको सुनामी छालमा परी २० लाख मानिसको ज्यान गएको थियो । यस्तै सन् १९६४ मार्च २७ मा अलस्कामा ९.२ रेक्टर स्केलको भूकम्प गएको थियो तर त्यति शक्तिशाली भूकम्प जाँदा पनि मानवीय क्षति न्यून अर्थात् १५० जना मानिसको मृत्यु भएको थियो । अलस्कामा सन् १९६५ अप्रिल ९ मा पनि ८.७ रेक्टर स्केलको भूकम्प गएको थियो । त्यसबाट पाँच मिलियन डलर बराबरको भौतिक संरचना नोक्सान भयो । विशेष सावधानी अपनाइएकाले त्यसमा एक जना मानिस मर्नु त के, घाइतेसम्म पनि भएनन् ।
इन्डोनेसियामा सन् २००४ डिसेम्बर २६ मा ९.१ रेक्टर स्केलको भूकम्प गएको थियो । सो कम्पनमा प्रत्यक्ष रूपमा चार हजार मानिसको ज्यान गएको थियो तर समुद्रको किनारमा केन्द्रविन्दु भएकोले भूकम्पपश्चात् उत्पन्न सुनामीले थप दुई लाख २४ हजार ८८९ मानिसको ज्यान गयो र उक्त सुनामीले एसिया मात्र होइन, अफ्रिकासम्म हानेको थियो । यसै गरी सन् १९५२ नोभेम्बर ४ मा रसियाको कामचट्कामा नौ रेक्टर स्केलको भूकम्प गएको थियो । अर्बौं मूल्य बराबरको क्षति त भयो तर विशेष सावधानी अपनाइएकाले त्यहाँ मानवीय क्षति भएन ।
जापानको सेन्डाइमा सन् २०११ मार्च ११ मा गएको ८.९ रेक्टर स्केलको भूकम्पलाई क्षतिको हिसाबले चौथो ठुलो मानिएको छ । सो भूकम्पका कारण १५ हजार ८९१ मानिसको मृत्यु भएको थियो । सुनामीका कारण परमाणु केन्द्रमा ठुलो दुर्घटना भयो । बारम्बार आइरहने भूकम्पीय स्थान भएकाले जापानीहरू भूकम्पले नढलाउने किसिमका घर बनाएका त छन् तर प्रशस्त जमिन नभएको समुद्री क्षेत्र बढी भएको जापानमा भूकम्पपछि आउने सुनामीले धेरै क्षति पुर्याउँदै आएको छ । यस्तै हैटीमा सन् २०१० जनवरी १२ मा सात रेक्टर स्केलको भूकम्प गएको थियो, जसका कारण दुई लाख २० हजार मानिसको मृत्यु, तीन लाख घाइते र ३५ लाख प्रभावित भएका थिए । संयुक्त राष्ट्र सङ्घको हेडक्वार्टर, अधिकांश सरकारी भवन, निजी घरहरू गरी एक लाख ८८ हजार ३८३ भन्दा बढी भौतिक संरचना ध्वस्त भएका थिए । भूकम्पले ७० खर्ब अमेरिकी डलर बराबरको क्षति भएको अनुमान गरिएको थियो । भूकम्पपछि फैलिएको हैजाबाट नौ हजार मानिसको ज्यान गएको थियो । जनधनको क्षतिको हिसाबले विश्वको भूकम्पीय इतिहासमा हैटीको सो भूकम्प नै सबैभन्दा भयानक र पीडाजनक रहेको छ ।
नेपालमा विसं १९९० माघ २ गते सङ्खुवासभाको चैनपुर केन्द्रविन्दु भएर ८.४ रेक्टर स्केलको भूकम्प गएको थियो । सो भूकम्पमा परी आठ हजार ५१९ मानिसको ज्यान गएको थियो भने दुई लाख सात हजार ४० भौतिक संरचना भत्किएका थिए । २०७२ वैशाख १२ मा ७.८ रेक्टर स्केलको अर्को भूकम्प जाँदा ठुलो भौतिक तथा मानवीय क्षति बेहोरिएको नेपालमा एक दशकसम्म पनि पर्याप्त सावधानीको अभ्यास नहुँदा गत वर्ष जाजरकोटमा गएको ६.४ रेक्टर स्केलको भूकम्पबाट ठुलो भौतिक तथा मानवीय क्षति बेहोर्नु परेको थियो । समुद्र तटीय देशमा ठुलो परिणामका भूकम्प जाँदा त्यसको कारणले आउने सुनामीबाट ठुलो नोक्सानी हुने गर्छ । धन्न नेपाल भूपरिवेष्टित मुलुक भएकोमा भूकम्पसँगै आउन सक्ने सुनामी छालबाट बच्ने गरेको छ ।
सावधानीले क्षति न्यूनीकरण
हामी भूकम्पलाई रोक्न त सक्दैनौँ तर त्यसबाट हुन सक्ने क्षतिलाई भने न्यूनीकरण गर्न सक्छौँ । त्यसका लागि भूकम्पको पूर्वतयारी गर्नु पर्छ । भूकम्पका कारण हुने मृत्यु तथा घाइते भूकम्प स्वयम्ले गरेको नभई मानव निर्मित संरचनाले भएको हो । अतः प्राविधिकको सल्लाहमा सुरक्षित घर बनाउने, पुरानो घर मर्मतसम्भार तथा भवन निर्माण संहिताको पालना गर्नु पर्छ । भूकम्पपछि सङ्कटको स्थितिमा प्रयोग गर्ने सामग्रीको पहिले नै तयारी गर्नु पर्छ । भूकम्पको बेलामा टपक्क टिपेर सुरक्षित स्थानमा जान मिल्ने गरी आकस्मिक सामान राखेर एउटा झोलाको सदैव तयारी गरौँ । भूकम्पको बेला हुन सक्ने सुरक्षित स्थानबारे परिवारका सदस्यबिच सल्लाह गर्नु पर्छ । भूकम्पको बेला नआत्तिने, घरको भित्री भागको ढोकाको बिचमा अथवा बलियो पिलरको सहायतामा उभिएर बस्ने वा बलियो टेबल, डेस्क, खाटमुनि छिर्ने र सम्भव भएसम्म बाहिर खुला ठाउँमा सुरक्षित किसिमले जानु पर्छ । सवारीसाधन चलाइरहेको अवस्थामा भए सुरक्षित स्थानतर्फ लगेर रोक्ने र भूकम्प गइन्जेल गाडीभित्र नै बस्ने र रोकिनासाथ सुरक्षाको स्थिति हेरेर मात्र घरको सदुपयोग गर्नु पर्छ । सम्भव भएसम्म आवश्यक परेकालाई उद्धार र प्राथमिक उपचार गर्ने । भूकम्पको धक्का फेरि पनि आउन सक्ने हुँदा सोको बारेमा सचेत रहने, ग्यास, बिजुलीको मेन स्वीच बन्द गर्ने, खबर, समाचार वा विशेष निर्देशन थाहा पाउन सञ्चार माध्यमको प्रयोग गर्ने साथै साझा भावना राखेर सहयोग लिनेदिने गर्नु पर्छ । विगतमा गएका भूकम्पबाट पाठ सिकेर आचारसहिंता अनुसार संरचना बनाउने र यसमा सरकारको प्रभावकारी विकास नीति, पालना र साथ सहयोग हुनु पर्छ ।