• २ माघ २०८१, बुधबार

चार जना स्रष्टालाई नइ पुरस्कार

blog

काठमाडौँ, माघ १ गते। नइ प्रकाशनले चार जना स्रष्टालाई पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ। नइ प्रकाशनका सदस्य सचिव नरन्द्रराज प्रसाईका अनुसार कुलपति इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो।

उहाँले नइ प्रकाशनले दुई लाख रुपियाँ राशिको ‘नइ देरुनीख अन्तर्राष्ट्रिय पुरस्कार’ भारत असमका केबी नेपालीलाई प्रदान गर्ने निर्णय गरेको जानकारी दिनुभयो। 

साहित्य सिर्जना र बिन्दु त्रैमासिकको सम्पादनका माध्यमबाट नेपाली वाङ्‍‍मयको श्रीवृद्धिका लागि विगत साढे छ दशकदेखि निरन्तर नेपाली भाषासाहित्यको अन्तर्राष्ट्रिय विस्तारमा महत्त्वपूर्ण योगदान पुर्‍याए बापत उहाँलाई सो पुरस्कार प्रदान गर्ने निर्णय भएको उहाँको भनाइ छ। 

उहाँले सो पुरस्कार नेपाली–गोर्खाली मूलका विदेशी नागरिकलाई मात्र प्रदान गरिने बताउनुभयो। विशेष गरेर नेपाली गीतको गायनका लागि उच्चस्तरीय सङ्गीत निर्माण गरी देशदेशान्तरमा नेपाली भाषालाई जनप्रिय बनाउन अहोरात्र क्रियाशील सङ्गीतकार मुम्बई निवासी रञ्जित गजमेरलाई  ‘नइ कोइलीदेवी पुरस्कार’ समर्पण गर्ने निर्णय भएको जानकारी उहाँले दिनुभयो। 

उहाँले नेपाली भाषा, साहित्यको समालोचना तथा अन्वेषणमा समर्पित रही उत्कृष्टता हासिल गरेबापत दार्जिलिङका डा. जीवन नामदुङलाई ‘नइ ईश्वर बराल पुरस्कार’ समर्पण गर्ने निर्णय भएको बताउनुभयो।

साथै, नेपाली साहित्यमा कविता, निबन्ध, कथा र समालोचना लेखनबाट आफ्नै आकाश निर्माण गरी प्रसिद्धि कमाएकी सिक्किम निवासी साहित्यकार डा. शान्ति क्षेत्रीलाई ‘नइ गणेशदुर्गा अन्तर्राष्ट्रिय पुरस्कार’ समर्पण गर्ने निर्णय भएको उहाँको भनाइ छ।