गोरखापत्र अनलाइन
काठमाडौँ, माघ १ गते । सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुक परिवर्तन गर्ने सरकारको भिजनको जरुरी हुने बताउनुभयो । उहाँले नेकपा (एमाले) र नेपाली कांग्रेसको गठबन्धित सरकारसँग देश विकासको प्रष्ट भिजन रहेको प्रष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “हामीसँग देश विकासको प्रष्ट भिजन छ ।”
नेपाल टेलिभिजनमा आज सार्वजनिक सेवा प्रसारण (पिएसबी) को पूर्वारम्भ कार्यक्रम सम्बोधन गर्दै मन्त्री गुरुङले हालसम्म विगतमा भत्किएका र बिग्रिएका बेथीतिलाई सुधार गर्दै देशलाई सही दिशातर्फ उन्मुख हुन लागेको बताउनुभयो ।
उहाँले विकासका विभिन्न अवरोध सिर्जना गर्ने आधारलाई तत्काल सुधार गर्न र विकासको तिब्रतासँगै, शुसासन जोगाउन सरकारले अध्ययादेश ल्याएको बताउनुभयो ।
“अब मुलुक कोमाबाट निस्किएर आइसियुमासम्म आइपुगेकोछ” उहाँले भन्नुभयो, “केही समयमा हामीले मुलुकलाई स्वस्थ र चलायमान बनाउछौँ ।” उहाँले लोकतान्त्रिक समाजमा सरकारको सही आलोचना गर्न पाइने तर्क गर्नुभयो । जनताले सही सूचना पाउनुपर्छ, तर गलत सूचना होइन भन्ने उहाँको जोड थियो ।