• २ माघ २०८१, बुधबार

दुर्गमका विद्यार्थीको आँखा परीक्षण

blog

रमेश विश्वकर्मा

गुल्मी, माघ १ गते । गुल्मीका दुर्गम स्थानमा रहेका विद्यार्थीहरुको आँखा परीक्षण थालिएको छ। नेपाल नेत्रज्योति संघ जिल्ला आँखा उपचार केन्द्रले दुर्गम स्थानका विद्यालयमा पुगेर विद्यार्थीको आँखा परीक्षण अभियान सुरु गरेको नेत्र अधिकृत सूर्य बहादुर बस्नेतले जानकारी दिनुभयो। 

गत वर्ष चन्द्रकोट, मालिका, मदाने र धुर्कोट गाउँपालिकाका विद्यालयमा पुगेर विद्यार्थीहरुको आँखा परीक्षण गरी दृष्टिदोष भएका विद्यार्थीलाई चस्मा समेत वितरण गरिएको थियो। यस वर्ष नेत्रज्योति संघ जिल्ला आँखा उपचार केन्द्रले विद्यार्थीहरुको आँखा परीक्षणका लागि रेसुङ्गा नगरपालिकाको दुर्गम वडा र कालीगण्डकी गाउँपालिकालाई छनोट गरेको छ। 

सेवा फाउण्डेसनको सहयोगमा विद्यार्थीहरुलाई निःशुल्क चस्मा  वितरण गरिने छ। रेसुङ्गा नगरपालिकाका दुर्गम वडामा रहेका विद्यालयका विद्यार्थीहरुको आँखा परीक्षण थालिएको छ। यहाँ सकिएपछि लगत्तै कालीगण्डकी गाउँपालिकाभित्र रहेका विद्यालयका विद्यार्थीहरुको आँखा परीक्षण गरिने उहाँले बताउनुभयो। सफ्टवयरसहितको मोबाइल एपद्वारा विद्यालय, स्वास्थ्य चौकी र घरघरमै पुगी आँखाको परीक्षण गर्न सकिने र पालिकासँगको समन्वयमा विशेषज्ञ सहितको सेवा समेत पहुँचमा नभएका आँखाका बिरामीलाई यस कार्यक्रमले महत्त्वपूर्ण सहयोग गर्ने बताइएको छ। 

प्रत्येक वर्ष आउटरिच कार्यक्रम अन्तर्गत यस जिल्लाका विभिन्न विद्यालयका विद्यार्थीहरुको दृष्टि परीक्षण कार्यक्रम गरिदैं आएको नेपाल नेत्रज्योति संघ गुल्मीका सचिव पदमप्रसाद पाण्डेले बताउनुभयो। जसअन्तर्गत यस वर्ष दश हजार विद्यार्थीहरुको आँखा परीक्षण गर्ने उद्देश्य रहेको छ। परीक्षणका क्रममा आँखामा समस्या भएका ५०० विद्यार्थीहरुलाई चस्मा वितरण गर्ने यस वर्षको लक्ष्य समेत राखिएको उहाँले बताउनुभयो। गत वैशाख महिनामा सञ्चालित दृष्टि परीक्षण अभियान अन्तर्गत मोबाइल एफको प्रयोग गरी यस जिल्लाका विद्यालयतहमा अध्ययन गर्ने ४६ हजार ५२० जना विद्यार्थीहरुको दृष्टि परीक्षण गरिएको थियो। 

नेपाल नेत्र ज्योति संघ जिल्ला आँखा उपचार केन्द्र तम्घासमा प्रत्येक महिनाको ११ र १२ गते मोतियाबिन्दुको शल्यक्रिया शिविर हुने नेपाल नेत्र ज्योति संघ गुल्मीका सभापति अखिलेश्वर प्रसाद पाण्डेयले बताउनुभयो। पुस महिनामा भएको शिविरमा १९ जना मोतियाबिन्दुको समस्या भएका बिरामीको शल्यक्रिया गरिएक हो। रेसुङ्गा नगरपालिका, इस्मा, गुल्मीदरबार, छत्रकोट, रुरुक्षेत्र र सत्यवती गाउँपालिकाले आफ्ना नागरिकहरुको मोतियाबिन्दुको निःशुल्क शल्यक्रियाका लागि सम्झौता समेत गरेका छन्। 

नेपाल सरकार स्वास्थ्य बिमा बोर्डअन्तर्गतको स्वास्थ्य बिमा कार्यक्रमको उपचार सेवा पनि सुरु गरिएको छ। स्वास्थ्य बिमा सेवाअन्तर्गत सेवाग्राहीले बिमा बोर्डको नियमअनुसार २० प्रतिशत सहभुक्तानी पनि गर्नुपर्ने तर लक्षित समूहलाई भने सह–भुक्तानी पनि नलाग्ने उहाँले बताउनुभयो।

निःशुल्क शल्यक्रियाका लागि सम्झौता गरेका पालिकाहरुले सो सेवालाई निरन्तरता दिने र स्वास्थ्य बिमा गरेका नागरिकका लागि सह–भुक्तानीको २० प्रतिशत रकम पालिकाले नै भुक्तानी गर्ने बताइएको छ।