काठमाडौँ, असोज २८ गते । विश्व कराते च्याम्पियनसिपको छनोट प्रतियोगितामा नेपालबाट चार खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।
फ्रान्सको पेरिसमा अक्टोबर १७ देखि १९ तारिखसम्म हुने प्रतियोगितामा एक पुरुष र तीन महिला खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । जसमा स्वनिम मानन्धरले पुरुष एकल कातामा प्रतिस्पर्धा गर्नुहुनेछ ।
महिला ६८ केजीमाथि एरिका गुरुङ, ५० केजीमुनि वर्षा बुढा र ५५ केजीमुनि सविना श्रेष्ठले चुनौती पेश गर्नुहुनेछ । खेलाडीसहित ६ सदस्सीय नेपाली टोली बुधबार फ्रान्स जानेछ ।
स्वनिमको स्पर्धामा ४९, एरिकाकोमा ३४, वर्षाकोमा ३८ र सविनाकोमा ४६ प्रतिद्वन्द्वी छन् । यो छनोटको हरेक स्पर्धामा शीर्ष ६ स्थानमा रहने खेलाडी इजिप्टको काइरोमा नोभेम्बर २७ देखि ३० तारिखसम्म हुने विश्व कराते च्याम्पियनसिपमा छनोट हुनेछन् ।
विभिन्न १२ स्पर्धा समावेश छनोटमा पाँच सय ४९ खेलाडी सहभागी हुने छन् । नेपालबाट सानुमाया थिङले भने इजिप्टको यात्रा पक्का गरिसक्नुभएको छ ।
टोलीको प्रशिक्षकमा कुशल श्रेष्ठ हुनुहुन्छ । पेरिसमै अक्टोबर १६ मा हुने प्रशिक्षक परिक्षामा सहभागी हुन अमिर राना पनि टोलीसँगै जानुहुनेछ ।