• २८ पुस २०८१, आइतबार

घाँसे मैदान व्यवस्थापनको काम सुरु

blog

चितवन निकुञ्जको सुखिभार क्षेत्रमा व्यवस्थापन गरिएको घाँसे मैदान । तस्बिर : शालिग्राम नेपाल

शालिग्राम नेपाल 

चितवन, पुस २८ गते  । आहारको अभावमा जङ्गली जनावर बस्तीमा पस्न थालेपछि चितवन राष्ट्रिय निकुञ्जले घाँसे मैदान व्यवस्थापनको काम सुरु गरेको छ । 

जाडोको मौसममा जङ्गलभित्र घाँसको अभाव र चिसो भएपछि गैंँडासहित अन्य जनावर मानवबस्तीमा पस्न थालेपछि निकुञ्ज प्रशासनले यस वर्ष २५० हेक्टर क्षेत्रफलमा घाँसे मैदानको व्यवस्थापन कार्यलाई अगाडि बडाएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. गणेश पन्तले जानकारी दिनुभयो ।  

घाँसे मैदानका लागि चालु आर्थिक वर्षमा ३७ लाख ५० हजार रुपियाँ खर्च गर्ने योजना रहेको छ । निकुञ्जभित्र कसरा, लामीताल, सुखिभार, भिम्ले, डुमरिया, बुढी राप्तीलगायत क्षेत्रमा घाँसे मैदान व्यवस्थापनको काम गरिने उहाँले जानकारी दिनुभयो । 

“वन्यजन्तुलाई चरन क्षेत्र व्यवस्थापनका लागि हरेक वर्ष घाँसे मैदान व्यवस्थापनका काम हुँदै आएको छ,” उहाँले भन्नुभयो, “यस वर्ष चाँडै नै काम सुरु गरिएको हो ।” 

घाँसे मैदान व्यवस्थापनका लागि घाँस काट्ने उपकरणसँगै मजदुर लगाएर मैदान व्यवस्थापन थालिएको निकुञ्जका सूचना अधिकारी अविनाश मगरले जानकारी दिनुभयो । अहिले कसरा क्षेत्रमा घाँसे मैदान व्यवस्थापनको काम भइरहेको भन्दै हालसम्म ६० हेक्टर क्षेत्रफलमा व्यवस्थापनको काम सकिएको उहाँले जानकारी दिनुभयो । निकुञ्ज ९५२.६३ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ । चितवन निकुञ्जका लागि १० हजार हेक्टर घाँसे मैदान आवश्यक पर्दछ । विगतका वर्षमा पनि १० हजार हेक्टर घाँसे मैदान व्यवस्थापन गर्दै आएका थियौँ, अहिले न्यून बजेटले काम गर्न ज्याँदै समस्या भएको सूचना अधिकारी मगरले भन्नुभयो । 

विगतका वर्षमा घाँसे मैदानका लागि मात्रै तीन करोड रुपियाँ बजेट आएकोमा अहिले घटेर ३७ लाख ५० हजार रुपियाँ मात्र निकासा भएको उहाँले जानकारी दिनुभयो । न्यून बजेटले सरसफाइ, घाँस काट्न अन्य काम गर्न कठिन भएको छ । 

निकुञ्जको विवरण अनुसार आव २०७७/७८ मा तीन करोड रुपियाँ घाँसे मैदानका लागि बजेट आएकोमा त्यसपछि बजेट कटौती हुँदै आएको छ । कुल क्षेत्रफलको नौ प्रतिशत भाग घाँसे मैदान बनाउनुपर्ने प्रावधान रहेको उहाँले बताउनुभयो । चरनको आवश्यकता पर्ने जनावरका लागि मैदान आवश्यक हुन्छ । हिउँदमा घाम ताप्न, खुला स्थानमा बस्न रुचाउनेको लागि पनि मैदान आवश्यक पर्ने भएकाले व्यवस्थापन अत्यन्तै जरुरी पर्ने प्रमुख संरक्षण अधिकृत पन्तले बताउनुभयो । 

निकुञ्जको घाँसे मैदानमा रहेका ठुला घाँस काटेर व्यवस्थापन र नयाँ ठाउँमा बुट्यान काटेर निर्माण गरिन्छ । घाँसे मैदान व्यवस्थापनसँगै आहारा प्रजातिका जनावरको सङ्ख्या बढ्ने र जनावर मानवीय बस्ती क्षेत्रमा जाने व्रmम कम हुने छ । घाँसे मैदान व्यवस्थापनले मानव र वन्यजन्तुबिच द्वन्द्वमा समेत कमी ल्याउने अपेक्षा निकुञ्जले लिएको छ । 

घाँसे मैदान व्यवस्थापन र निर्माणमा ध्यान नदिने हो भने एकसिङे गैँडा, चित्तल, हरिणलगायत प्रजातिका जनावरका लागि खानाको अभाव हुने निकुञ्ज कार्यालयले जनाएको छ ।