गोरखापत्र समाचारदाता
काठमाडौँ, पुस २८ गते । प्रेस चौतारी नेपालले सञ्चार माध्यममा प्रकाशित सामग्रीलाई लिएर आमसञ्चार माध्यमका प्रकाशक, सम्पादक र पत्रकारविरुद्ध एकपछि अर्को विद्युतीय अपराध (साइबर क्राइम) मा मुद्दा चलाएको भन्दै आपत्ति जनाएको छ ।
प्रेस स्वतन्त्रतालाई बन्देज लगाउने र सरकारलाई समेत बदनाम गराउने गरी प्रहरी र सम्बन्धित निकायले साइबर अपराधमा मुद्दा चलाएको भन्दै चौतारीले ध्यानाकर्षण भएको जनाएको छ । प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतको अध्यक्षतामा बसेको सङ्गठनको छैटौँ केन्द्रीय समितिको बैठकपछि ११ बुँदे काठमाडौंँ घोषणापत्र जारी गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, सूचना प्रवाहको स्थापित अन्तर्राष्ट्रिय मूल्यमान्यता तथा अभ्यास र नेपालको संविधानले आत्मसात् गरेको सिद्धान्त अनुकूल प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको निर्बाध प्रयोगको वातावरण निर्माणका लागि प्रतिबद्धता व्यक्त गर्न आग्रह गरेको छ ।
चौतारीले श्रमजीवी पत्रकारसम्बन्धी ऐन जारी भएको तीन दशक भइसक्दा पनि यसको पूर्ण कार्यान्वयन हुन नसकेको विडम्बनापूर्ण अवस्था रहेको भन्दै पूर्ण कार्यान्वयनका लागि माग गरेको छ ।
श्रमजीवी पत्रकारको निःशुल्क दुर्घटना बिमालाई स्वास्थ्य बिमामा रूपान्तरण गरी त्यसको प्रभावकारी कार्यान्वयनको माग पनि प्रेस चौतारीले गरेको छ । चौतारीले गत मङ्सिर २८ गते सम्पन्न भएको नेपाल पत्रकार महासङ्घको निर्वाचनमा आफ्ना उम्मेदवारलाई मतदान गर्ने सदस्यलाई धन्यवाद दिएको छ । बैठकले महाधिवेशन सफलतापूर्वक सम्पन्न गराउन योगदान गर्ने तिनै तहका निर्वाचन समिति, महासङ्घको निवर्तमान नेतृत्व, कर्मचारीलगायत सबैलाई धन्यवाद र विजयीलाई बधाई ज्ञापन गरेको छ ।
‘प्रेस चौतारीको १० औँ महाधिवेशन फागुन २५ देखि २७ गतेसम्म विराटनगरमा हुने र नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीबाट उद्घाटन हुने भएकाले भव्यतापूर्वक सफल पार्नका लागि सम्पूर्ण श्रमजीवी पत्रकार र सबै शुभेच्छुकलाई बैठकले अपिल गर्दछ,’ घोषणापत्रमा लेखिएको छ ।