अमरराज नहर्की
तनहुँ,पुस २७ गते। नेपाल सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले मेला तथा महोत्सवमा आयतित समान बिक्री नगर्न आग्रह गर्नुभएको छ।
तनहुँ उद्योग वाणिज्य संघको आयोजना तथा दमौली बजार इकाईको सहआयोजनामा तनहुँको सदरमुकाम दमौलीमा सुरु भएको नवौं तनहुँ कृषि पर्यटन तथा प्रविधि महोत्सवमा शनिबार सम्बोधन गर्नुहुँदै मन्त्री पौडेलले सो आग्रह गर्नुभएको हो।
मन्त्री पौडेलले भन्नुभयो, ‘स्वदेशी वस्तु बिक्री भएमात्रै देश धनी बन्छ। आयातित सामग्री बिक्री गरेर फाइदा हुँदैन।’
कृषिमा यान्त्रिकरण गरी उत्पादन बढाउने र बजारीकरण गरेर नेपालीको जीवनस्तर माथि उठाउन सकिने उहाँको भनाइ छ। मेला, महोत्सवको माध्यमबाट बजारीकरण गर्ने, स्थानीय उत्पादनले पर्यटकीय बजारमा स्थान पाउने अवस्था भए जीवनस्तर उकास्न मद्दत पुग्ने उहाँले बताउनुभयो।
तनहुँ महोत्सवमा स्थानीय उत्पादनलाई बजारीकरण गर्न कृषि र पर्यटनलाई प्राथमिकता दिएको देख्दा खुसी लागेको उहाँले बताउनुभयो। महोत्सवले स्थानीय उत्पादनको बजारीकरण, भाषा, साहित्य र संस्कृतिको संरक्षणमा टेवा पुग्ने हुँदा निरन्तरता दिइनु पर्ने पौडेलले बताउनुभयो।
तनहुँ उद्योग वाणिज्य सङ्घका अध्यक्ष तथा महोत्सव मुल समारोह समितिका संयोजक बैकुण्ठनाथ मिश्रले बिचौलीयाको माध्यमबाट सस्तोमा बेच्नुपर्दा लागत मूल्य नउठेर किसान पलायन हुने र उपभोत्ताले महंगो मूल्यमा किन्नुपर्ने बाध्य भएकोले किसानलाई संरक्षण गर्न टेवा पु¥याउन महोत्सवमा कृषिलाई प्राथमिकता दिएको बताउनुभयो।
किसानलाई स्टलको पैसा तिर्न नपर्ने र उत्कृष्टलाई पुरस्कारको व्यवस्था गरिएको मिश्रले बताउनुभयो। पुस २५ गतेदेखि सुरु भएको महोत्सव माघ ७ गतेसम्म हुने आयोजकले जनाएको छ। कृषि क्षेत्रमा भएको उत्पादनको बजारीकरण, नयाँ प्रविधिबारे जानकारी प्रदान गर्नुका साथै व्यावसायिक कृषि पेसामा आबद्ध हुनका लागि युवालाई उत्प्रेरित गर्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ।