• २७ पुस २०८१, शनिबार

नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा : अर्थमन्त्री पौडेल

blog

उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल शनिबार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्नुहुँदै । तस्बिर : न्यूज एजेन्सी नेपाल

काठमाडौं, पुस २७ गते । उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जलवायु परिवर्तनको मुद्दा मुलुक विशेषको नभई विश्वव्यापी साझा मुद्दा भएको बताउनुभएको छ । शनिबार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्नुहुँदै उहाँले नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेको बताउनुभएको हो । उहाँले यसका असरहरू आर्थिक, सामाजिक एवम् पूर्वाधारका क्षेत्रमा समेत प्रष्ट रूपमा देखिँदै आएको जानकारी दिनुभयो ।

अर्थमन्त्री पौडेलले जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि सबै मुलुकहरू मिलेर समाधानका प्रयास गर्नुपर्ने बताउनुभयो । उहाँले जलवायु परिवर्तनबाट नेपाललाई परेको असर र प्रभावको तुलनामा जलवायु परिवर्तनमा नेपालको भूमिका नगण्य रहेको औंल्याउनुभयो ।

नेपालले आफ्नो स्रोत र साधनले सम्भव भएसम्म जलवायु उत्सर्जन न्यूनीकरण र अनुकुलनका लागि गरेको प्रयास महत्त्वपूर्ण रहेको उहाँको भनाइ छ । आर्थिक वृद्धि इन्जिनको रूपमा रहेको अन्तर्राष्ट्रिय व्यापारमा समेत जलवायु परिवर्तनले प्रतिकुल प्रभाव पारेको उल्लेख गर्नुभयो ।

अर्थमन्त्री पौडेलले भन्नुभयो,  ‘‘आर्थिक वृद्धिको इन्जिनको रूपमा रहेको अन्तर्राष्ट्रिय व्यापारमा समेत जलवायु परिवर्तनले प्रतिकुल प्रभाव पारेको छ । अन्तर्राष्ट्रिय व्यापारको दिगोपनाका लागि जलवायु परिवर्तनका मुद्दाहरू सम्बोधन गर्ने सन्दर्भमा यस सम्मेलनले उपयोगी निष्कर्ष अघि सार्नेछ ।’’

अर्थमन्त्री पौडेलले जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा आएको र आउनसक्ने चुनौतीलाई सामना गर्नेगरी क्लाइमेट स्मार्ट एग्रिकल्चरको प्रभावकारी कार्यान्वयनको रणनीति बढाउन आवश्यक रहेको बताउनुभयो । जलवायु परिवर्तनले नेपालको प्रचुर सम्भावना भएको स्वच्छ उर्जाको उत्पादन, विकास एवम् अन्तरक्षेत्रीय व्यापारमा समेत असर पार्ने भएकाले असर न्यूनीकरणमा अन्तर्राष्ट्रिय साझेदारी र सहयोग महत्त्वपूर्ण रहेको बताउनुभयो ।

व्यापार संवद्ध पूर्वाधारमा नयाँ प्रविधिको प्रयोग गरी उत्थानशिल बनाउनेतर्फ थप क्रियाशिलता अवलम्वन गर्नुपर्ने आवश्यकता रहेको जानकारी दिनुभयो । जलवायुमैत्री विकास प्रक्रियामा थप प्रभावकारी प्रयास आवश्यक रहेको बताउनुभयो ।

‘‘नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेको छ । र यसका असरहरू आर्थिक, सामाजिक एवम् पूर्वाधारका क्षेत्रमा समेत प्रष्ट रूपमा देखिँदै आएको छ । यो मुद्दा कुनै मुलुक विशेषको भन्दा पनि विश्वव्यापी साझा मुद्दा हो । यसका लागि सबै मुलुकहरु मिलेर समाधानका प्रयासहरू गर्नुपर्छ भन्ने विषयमा नेपालले अन्तर्राष्ट्रियस्तरमा समेत निरन्तर आवाज उठाउँदै आएको छ ।,’’ अर्थमन्त्री पौडेलले भन्नुभयो, ‘‘जलवायु परिवर्तनबाट नेपाललाई परेको असर र प्रभावको तुलनामा जलवायु परिवर्तनमा नेपालको भूमिका नगण्य रहेको छ । यद्यपि नेपालले आफ्नो श्रोत र साधनले सम्भव भएसम्म जलवायु उत्सर्जन न्यूनीकरण र अनुकुलनका लागि गरेको प्रयास महत्त्वपूर्ण छन् । ’’

अर्थमन्त्री पौडेलले विश्व अर्थतन्त्रको महत्त्वपूर्ण हिस्साको रूपमा रहेको दक्षिण एशिया क्षेत्रमा आर्थिक वृद्धि र यसको दिगोपना तथा खाद्य सुरक्षामा जलवायु परिवर्तनले चुनौती खडा गरेको बताउनुभयो । दक्षिण एशिया क्षेत्र भौगोलिक, आर्थिक एवम् सामाजिक असमानताका हिसाबले विविधतापूर्ण रहेको र जनसङ्ख्याको ठुलो हिस्सा गरिबीको रेखामुनी रहेको अवस्थामा जलवायु परिवर्तनको प्रभावले झनै ठुलो आर्थिक एवम् सामाजिक विषमता सिर्जना गर्नसक्ने तर्फ सबै सजग हुनुपर्ने बताउनुभयो ।