अमृतप्रसाद पौडेल
म्याग्दी, पुस २७ गते । हिमालपारिको जिल्ला मुस्ताङमा पर्ने हिन्दु तथा बौद्ध धर्मावलम्बीको पवित्र तीर्थस्थल मुक्तिनाथको मुक्तिनाथ विकास समितिले ३१ लाख रुपियाँभन्दा धेरै राजस्व राज्यलाई बुझाएको छ । मुक्तिनाथ विकास समितिका अध्यक्ष एवं मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालका अनुसार मुक्तिनाथ विकास समितिले लेखा परीक्षण गरेपछि आन्तरिक राजस्व कार्यालयले तय गरेको ३१ लाख तीन हजार ९५३ रुपियाँ राजस्व दाखिला गरेको हो । मुक्तिनाथ मन्दिरमा चढाउने दानदक्षिणा तथा नगद एवं जिन्सीको विवरण अझै व्यवस्थित हुन सक्ने भए पनि सो अनुसार दुरुस्त भएन भनेर विगतमा प्रश्न उठ्दै आउने गरेकोमा अहिले आएर सबै कुरालाई व्यवस्थित गरिएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “मुक्तिनाथ मन्दिरको सञ्चालन र व्यवस्थापन २०२८ सालदेखि प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा तदर्थ रूपमा चलिआएको थियो ।”
२०६४ कात्तिक ३० गते जिल्ला प्रशासन कार्यालय मुस्ताङमा संस्था दर्ता ऐन, २०३४ अनुरूप मुक्तिनाथ विकास समिति विधिवत् रूपमा दर्ता भएर आएको थियो । निश्चित समयसम्म नवीकरण तथा लेखा परीक्षण भएको भए पनि २०७७ सालपछि लेखा परीक्षण र नवीकरण नभएकोमा प्रजिअ भुसालको अग्रसरतामा नवीकरण तथा लेखा परीक्षण गर्ने काम भएको हो । भाखा नाघेको पछिल्लो दुई वर्षको कर दाखिला गरेमा त्यसअगाडिको कर छुट पाउने प्रावधान अनुसार ३१ लाख दाखिला गर्दा त्यसअगाडिको छुट मिलेको प्रजिअ भुसालले जानकारी दिनुभयो । हाल मुक्तिनाथ विकास समितिको कोषमा नौ करोड ३२ लाख ६५ हजार २७७ नेपाली रुपियाँका साथै ४२ लाख हाराहारी भारतीय मुद्रा रहेको छ । २०६४ मा मुक्तिनाथ विकास समिति दर्तापछि २३ जना प्रजिअले मुक्तिनाथ विकास समितिका ३९ बैठक गरी मुक्तिनाथको दिगोपना र विकास तथा पारदर्शिताका लागि प्रयास गरेको प्रजिअ भुसालको भनाइ छ । मुक्तिनाथको दिगोपनाका लागि मुक्तिक्षेत्रको गुरुयोजना तयार भएको समेत उहाँको भनाइ छ ।
मुक्तिनाथ विकास समितिकै पहलकदमीमा मुक्तिनाथसम्म पुग्ने राम्रो सडक निर्माण हुनुका साथै यातायातको सहज पहुँच पुगेको छ । अहिले मुक्तिनाथमा स्वास्थ्य केन्द्र सञ्चालन र पर्याप्त सुरक्षा व्यवस्था गरिएको छ । दान, भेटी, चन्दाको व्यवस्थापन, तीर्थालुलाई सहज पूजाअर्चनाको व्यवस्था, जाडो सिजनमा आगो ताप्ने व्यवस्था मिलाइएको छ । सर्वदलीय र सर्वपक्षीय सहमतिमा मुक्तिक्षेत्र विकासमा ऐक्यबद्धतासमेत बढाइएको छ । वारागुङ मुक्तिक्षेत्र गाउँपालिका र मुक्तिनाथ व्यवस्थापन समितिको संयुक्त पहलमा मुक्तिनाथ क्षेत्रमा एक लाख शालिग्राम रहेको शलिग्राम पार्क/सङ्ग्रहालय निर्माण गरिने गाउँपालिका अध्यक्ष तथा मुक्तिनाथ विकास समितिका उपाध्यक्ष रिङजीन नामगेल गुरुङले जानकारी दिनुभयो ।
गत मङ्सिर १६ गते मुक्तिनाथ विकास समितिको वार्षिक साधारण सभाले नयाँ समिति चयन गरेपछि अरू धेरै सुधारका प्रयास थालिएको मुक्तिनाथ विकास समितिका कोषाध्यक्ष प्रमेश गुरुङको भनाइ छ । संस्थागत निरन्तरता, मास्टर प्लानको कार्यान्वयन तथा आवश्यक पूर्वाधार विकास, तीर्थालुको स्वास्थ्य सुविधा र सुरक्षामा ध्यान दिँदै अगाडि बढ्ने नयाँ समितिले अर्जुनदृष्टि लिएको उहाँले सुनाउनुभयो ।