भक्तपुर, पुस २७ गते । भक्तपुरको प्रमुख पर्यटकीय गन्तव्य नगरकोट जाने मुख्य सडक ११ वर्षसम्म पनि निर्माण सम्पन्न हुन सकेको छैन । सडक निर्माणको माग गर्दै स्थानीयले पटक पटक आन्दोलन गर्दै आएका छन् । सरकारले पटक पटक म्याद थप गरेर सहजीकरण गरे पनि काम हुने अवस्था नदेखिएपछि अन्ततः सरकारले भक्तपुर–नगरकोट–सिपाघाट सडकको ठेक्का सम्झौता रद्द गरेको छ ।
पटक पटक म्याद थप गर्ने तर ठेकेदारबाट बारम्बार सम्झौता उल्लङ्घन हुन थालेपछि उक्त सडक स्तरोन्नति परियोजनाका लागि विकास परियोजना निर्देशनालयसँगको संयुक्त सम्झौता सरकारले रद्द गरेको हो । निर्देशनालयले ठेक्का सम्झौता रद्द गर्न यसअघि पनि पटक पटक सूचना जारी गरेको थियो । त्यसताका अन्तिममा म्याद थप हुने गरेको थियो ।
सरकारले अन्तिम पटक यही मङ्सिर मसान्तसम्म निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्ने गरी १० आँै पटक म्याद थप गरे पनि कम्पनीले सो अनुसार कुनै प्रगति गरेन । गत साता निर्देशनालयले ठेक्का सम्झौता रद्द गर्नु नपर्ने कारणसहित सातदिने स्पष्टीकरण माग गरेको थियो ।
निर्देशनालयका भक्तपुर नगरकोट सडक निर्माण आयोजना प्रमुख मेघराज मरासिनीले गत बुधबार सरकारका तर्फबाट ठेक्का सम्झौता रद्द गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “भक्तपुर–नगरकोट सडकको ठेक्का सम्झौता रद्द भएको छ । अब निर्माण कम्पनीले सम्झौता अनुसारको गर्नुपर्ने काम कति बाँकी छ त्यसको अनुगमन एवं मूल्याङ्कन हुने छ । त्यसपछि निर्माण कम्पनीसँग सोही मूल्याङ्कनका आधारमा जरिबाना लगाउने र सडकको बाँकी काम कसरी गर्ने भन्नेबारेमा छलफल गरेर अगाडि बढ्छ ।”
एक्जिम बैङ्क इन्डियाको ऋण सहयोगमा नेपाल सरकारसँग विसं २०७३ असार ३ गतेसम्म सम्पन्न गर्ने गरी सम्झौता भएको थियो । २०७१ जेठ २२ गते शैलुङ कन्स्ट्रक्सन र भारतीय कम्पनी अराभली इन्फ्रापावर लिमिटेडले संयुक्त निर्माण गर्ने गरी २७ करोड रुपियाँमा ठेक्का सम्झौता भएको हो । सडकको लागत बढेर भ्याटसहित ३१ करोड रुपियाँ पु¥याउँदा पनि निर्माण कम्पनीले विभिन्न बहाना गर्दै सडक निर्माण सम्पन्न गरेको थिएन ।
सडक छिटो सम्पन्न गर्न माग गर्दै चाँगुनारायण नगरपालिका, नगरकोटका होटेल एवं पर्यटन व्यवसायी, स्थानीयवासीलगायतले पटक पटक विरोध गर्दै आएका थिए । यता निर्माण कम्पनी एससिसिपिएल र यसको भारतीय साझेदार एआइपिएलले बिहीबार विज्ञप्ति जारी गर्दै भक्तपुर–नगरकोट–सिपाघाट सडक स्तरोन्नति परियोजनाका लागि विकास परियोजना निर्देशनालयसँगको संयुक्त उद्यम सम्झौता रद्द गरेको जनाएको छ ।
कम्पनीले निर्देशनालयले गरेको बारम्बारका गल्तीहरू समाधान गर्न असफल भएको र गत विसं २०८० असोज ९ गते प्रमाणित गरिएको आइपिसी–१४ भुक्तानी अहिलेसम्म नदिइएकाले परियोजनाको वित्तीय अवस्थामा गम्भीर असर पर्न गएकाले रद्द गर्नु परेको जनाएको छ ।
सडक निर्माणको ठेक्का सम्झौता रद्द भएपछि यहाँका सरोकारवाला भने खुसी भएका छन् । चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले शैलुङ कन्स्ट्रक्सनले ११ वर्ष लाग्दासमेत सडक निर्माण सम्पन्न नगरेर स्थानीयवासीलाई दुःख दिएकोमा अब त्यसबाट मुक्ति पाइने आशा व्यक्त गर्नुभयो । उहाँले यहाँका पर्यटन व्यवसायीलाई दुःख दिएको अवस्थामा ठेक्का सम्झौता रद्द भएसँगै अब थप काम गर्न बाटो खुलेको बताउनुभयो ।
नगरपालिकाले विसं २०८२ वैशाखदेखि चैतसम्म एकबर्से नगरकोट महोत्सव–२०८२ को आयोजना गर्ने घोषणा गरेर सडक निर्माण छिटो सम्पन्न गर्न पटक पटक दबाब, विरोध एवं आन्दोलन गर्दा पनि बेवास्ता भएपछि महोत्सव नै सङ्कटमा पर्ने डर अब हटेको बताउनुभयो । उहाँले नगरकोट महोत्सवलाई दृष्टिगत गर्दै सरकारले सडकको स्तरोन्नति छिटो गर्नुपर्ने बताउनुभयो ।
उहाँले सरकारले पनि उक्त सडक निर्माणमा ढिलाइ गरे चाँगुनारायण नगरपालिका आफैँले बहुवर्षीय आयोजना अन्तर्गत स्तरोन्नति गर्ने बताउनुभयो । चाँगुनारायण नगरपालिका–६ का अध्यक्ष धनबहादुर लामाले सडक सम्झौता रद्द हुँदा खुसी हुनुपर्ने बेला आएको भन्दै नगरकोट महोत्सवलाई सफल पार्न सरकारले सडक स्तरोन्नतिमा चासो दिनुपर्ने बताउनुभयो ।
यस्तो छ सडकको अवस्था भक्तपुर नगरपालिका–१०,
कमलविनायक भत्केको पाटीमा सडकभरि खाल्टैखाल्टा रहेका छन् । अलिमाथि नेपाली सेनाको खरिपाटी ब्यारेकदेखि चाँगुनारायण नगरपालिका कार्यालय अगाडिसम्म कालोपत्रे उप्किएर बनेका खाल्डो पनि उस्तै छैन । त्यसमाथि नेपाली सेनाको ब्यारेक क्षेत्रमा पर्ने घुमाउनेमा बाटो नै खस्ने गरी चर्किएको सडक, नगरकोटसम्म खाल्डोभरि जमेको पानी, कतै हिलाम्मे त कतै धुलाम्मे छ ।
समयमै सडक निर्माण नहुँदा खेप्नु परेको सास्ती कम दर्दनाक छैन । दुर्घटनामा ज्यान गुमाउने, वर्षायाममा सडकको हिलोपानी घरभित्र पस्ने, हिउँदमा धुलैधुलोका कारण बेहोर्ने स्वास्थ्य समस्याले सडक आसपासका बासिन्दाको दैनिकी कठिन छ । विशेष गरी भक्तपुर भत्केकोपाटीदेखि नगरकोटसम्मको १५ .६ किलोमिटर सडक क्षेत्रको अवस्था निकै समस्याग्रस्त छ ।
अनुगमनमाथि अनुगमन
भक्तपुर नगरकोट सडकको प्रगतिबारे जान्न भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको नेतृत्वमा राजनीतिक दलका प्रतिनिधि, स्थानीय जनप्रतिनिधिसहितको टोलीले यहाँको अवस्था अनुगमन गरेको छ । टोलीले सडक निर्माणमा गुणस्तरहीन काम भएको निष्कर्ष निकालेको छ ।
यसअघि विसं २०७९ फागुन १८ गते तत्कालीन उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले उक्त सडकको अनुगमनपछि फागुन महिनाभित्र सडक निर्माण नसके कारबाही र ठेक्का रद्द गरिने बताउनुभएको थियो । त्यसअघि विसं २०७८ कात्तिक २८ गते तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले सडकको अनुगमन गरी दुई महिनाभित्रमा निर्माण सम्पन्न नभए ठेक्का रद्द गरेर कम्पनीलाई कारबाही गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।
मन्त्रीद्वय श्रेष्ठ र यादवले अनुगमन गर्दा स्थानीयले सडकमै सुतेर र सडकमै घेराबन्दी गरेर अवरोध गरेका थिए । त्यसअघि विसं २०७६ साउन १३ गते तत्कालीन प्रतिनिधि सभा, विकास तथा प्रविधि समितिले अनुगमन गरी सन् २०२० को नेपाल भ्रमण वर्षअगावै सडक कालोपत्रे सम्पन्न गर्न निर्देशन दिएको थियो ।
निर्देशन मानेन निर्माण कम्पनीले
सडक निर्माण सुरु भएपछि चाँगुनारायण नगरपालिकाका तत्कालीन नगरप्रमुख सोम मिश्रदेखि वर्तमान नगरप्रमुख जीवन खत्रीसम्मको नेतृत्वमा गएको टोलीले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल, तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा तथा यसअघि प्रधानमन्त्री भएका बखत हालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत भेट गरी सडक छिटो निर्माणका लागि ध्यानाकर्षण गराएका थिए ।
पूर्वनगरप्रमुख मिश्र भन्नुहुन्छ, “सरकार परिवर्तन हुनेबित्तिकै प्रधानमन्त्रीदेखि मन्त्रीलाई भेटेर ज्ञापनपत्र दिने र छिटो निर्माण सम्पन्न गराइदिन माग गर्दै दबाब दिँदा पनि काम भएन । ठेकेदार सरकारभन्दा बलिया हुँदा रैछन् जस्तो लाग्यो ।”