• २६ पुस २०८१, शुक्रबार

आमा समूहलाई मादल बजाउने तालिम

blog

आमा समूहका महिलालाई तालिम दिइँदै । तस्विरः अर्जुन काफ्ले

अर्जुन काफ्ले

स्याङ्जा, पुस २६ गते । अर्जुनचौपारी गाउँपालिकाले महिला लक्षित मादल बजाउन सिकाउने तालिम प्रदान गरेको छ । तीन चरणमा प्रदान गरिने तालिम गत आइतबारदेखि गाउँपालिकाको सभाहलमा सुरु भएको हो । 

गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले लोकसंस्कृतिको संरक्षणका लागि मादल बजाउने तालिम सञ्चालन गरेको बताउनुभयो । स्थानीय बाजा संरक्षणमा पालिकाका लागिपरेको बताउँदै अध्यक्ष तिवारीले यस्ता किसिमका तालिमले स्थानीय मौलिक बाजा संरक्षणमा भूमिका खेल्ने बताउनुभयो । 

गाउँघरमा हुने विवाह, व्रतवन्धलगायत विभिन्न धार्मिक, सांस्कृतिक कार्यक्रममा स्थानीय मौलिक बाजा प्रयोग हुने हुँदा यस्ता तालिमले लोकसंस्कृति संरक्षणमा टेवा पुग्ने अध्यक्ष तिवारीको भनाइ छ । 

पहिलो चरणको तालिम वडा –१ र ६ का आमा समूहलाई प्रदान गरिएको छ ।   दोस्रो चरणमा वडा –२ र ३ र तेस्रो चरणमा वडा –४ र ५ का आमा समूहलाई प्रदान गरिने सूचना प्रविधि शाखाका कर्मचारी लोककुमारी काफ्लेले बताउनुभयो । 

तालिममा अर्जुनचौपारी गाउँपालिकाभित्रका ६२ आमा समूह तथा महिलाले नेतृत्व गरेका संघ संस्थाका १३३ जनालाई तालिम दिइने बताइएको छ । तीन चरणमा प्रदान गरिने तालिम माघ १० गतेसम्म चल्नेछ । मादल बजाउने तालिममा प्रशिक्षण कलाकार तथा वाद्यवादक श्याम घर्ती जिटीले प्रदान गर्नुभएको छ ।