नागेन्द्रकुमार कर्ण
महोत्तरी, पुस २५ गते । देशको विभिन्न भूभागहरुमा चिकित्सक अध्ययनको लागि छात्रवृत्तिमा नाम निकाल्न सफल महोत्तरी जिल्लाको सोनमा गाउँपालिकाका विद्यार्थी तथा अभिभावकहरुलाई पालिकाले सम्मानसहित पुरस्कृत गरेको छ ।
सोनमा गाउँपालिकाको विभिन्न वडाका चार जना युवाहरु चिकित्सक अध्ययनको लागि एमबिबिएसमा छात्रवृत्तिमामा नाम निकालेपछि पालिकाले ती युवासहित उनका अभिभावकहरुलाई सम्मानसहित पुरस्कृत गरेको हो । पालिकाका अध्यक्ष विशेश्वर प्रसाद यादवले सोनमा गाउँपालिका १ बस्ने अमनकुमार यादव, संजीवकुमार यादव, वडा नं. ७ बस्ने अजयकुमार साह र निरज यादवसहित उनका अभिभागकहरुलाई आफ्नै कार्यकक्षमा बोलाएर सम्मान र पुरस्कारले सम्मान गर्नुभएको हो ।
अध्यक्ष यादवले चारै जना युवाहरुले उच्च अध्ययनद्वारा गाउँको नाम चम्काएको भन्दै ४१÷४१ हजार रुपियाँले पुरस्कारसहित सम्मान गर्नुभएको हो । उहाँले सो अवसरमा चिकित्सक अध्ययनपश्चात पालिकाका वासिन्दाहरुलाई लाभ पुग्ने गरि काम गर्न समेत आग्रह गर्नुहुँदै पालिकाका युवाहरुलाई प्रोत्साहनसहित सम्मान र पुरस्कार वितरण गरिएको बताउनुभयो ।
गाउँपालिकाबाट उच्च शिक्षा लिन प्रेरित गर्न, शिक्षाको लागि हौसला दिन तथा पालिकामा शिक्षाको प्रगतिको लागि दुई वर्षदेखि यस्तो कार्यक्रम आयोजना गर्दै आएको पालिका अध्यक्ष यादवले बताउनुभयो । उहाँले यस्तो वातावरण बनाउने अभिभावकहरु समेत सम्मानको हकदार भएकोले सम्मान गरिएको जानकारी दिनुभयो ।
उहाँले चिकित्सा अध्ययनको लागि मात्रै नभई अन्य शिक्षाको क्षेत्रमा समेत प्रगति गर्ने पालिकाका वासिन्दाहरुलाई सम्मान र पुरस्कृत गरिने बताउनुहुँदै पालिका अध्यक्ष यादवले यसलाई अभियानको रुपमा अथ्र्याउनुभयो । उहाँले भन्नुभयो, ‘पालिकामा शिक्षाको विकासको लागि तथा पालिकाका वासिन्दाहरुलाई शिक्षामा आकर्षित गर्न यो अभियान सुरु गरिएको हो ।’
सम्मान र पुरस्कार पाउनुभएका युवाहरुले पालिकाको यो कदम सराहनीय भएको बताउनुहुँदै रकम अभावमा शिक्षाबाट वञ्चित रहेका युवायुवतीहरुलाई समेत सहयोगको लागि आग्रह गर्नुभएको थियो