• ८ वैशाख २०८१, शनिबार

बलात्कारको अपराधमा हदम्याद हटाउन माग

blog

काठमाडौँ, जेठ १० गते । आठ वर्षअघि एक किशोरीलाई बलात्कार गरेको आरोप लागेका कन्सल्टेन्सी व्यवसायी मनोज पाण्डेलाई कारबाही गर्न राष्ट्रिय सभाका सांसदहरूले माग गरेका छन् । सोमबार बसेको राष्ट्रिय सभा बैठकमा सांसदहरूले बलात्कारजस्ता जघन्य हिंसा र अपराधमा भएको हदम्याद व्यवस्था हटाउनुपर्नेमा जोड दिएका छन् । 

सांसद प्रमिला कुमारीले हाडनाता करणीमा जस्तै अन्य प्रकारका यौन शोषणमा पनि हदम्याद हटाउनुपर्नेमा जोड दिनुभयो । उहाँले कतिपय देशमा बलात्कारसम्बन्धी मुद्दामा हदम्यादको व्यवस्था १० वर्षसम्म गरिएको प्रसङ्ग उल्लेख गर्दै यस्तो व्यवस्था नेपालमा गर्न सकिने बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले उजुरी हाल्दा एक वर्षको मात्रै किन हदम्याद तोकिएको छ । भारतलगायतका कतिपय देशमा हदम्याद नै तोकिएको छैन, हाम्रो देशमा किन हदम्याद तोक्नुप-यो ?” 

सांसद जयन्तीदेवी राईले दैनिक रूपमा कम्तीमा पनि तीन जना महिला बलात्कारमा पर्ने गरेको तथ्य उल्लेख गर्दै पीडकलाई कडा कारबाही माग गर्नुभयो । नाबालिकाको हकमा भएको बलात्कारको मुद्दा दर्ता गर्न हदम्याद व्यवस्था संशोधन गरी अपराधीलाई कानुनी कठघरामा ल्याउन उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो । 

सांसद मायाप्रसाद शर्माले महिला हिंसाको प्रसङ्ग उठाउँदै जतिसुकै पुरानो घटना भए पनि अपराधीलाई कानुनी दायरामा ल्याउन जोड दिनुभयो । उहाँले कानुन संशोधन गरेर भए पनि अपराधीलाई कानुनको दायरामा ल्याउन माग गर्नुभयो । 

सांसद डा. खिमलाल देवकोटाले बलात्कार र महिला हिंसामा हदम्याद हटाउनुपर्ने बताउनुुभयो । स्थानीय निर्वाचनले लोकतन्त्रलाई थप सुदृढ बनाएको विचार व्यक्त गर्दै उहाँले स्थानीय निर्वाचनमा काठमाडौँले मधेसीमूल र मधेसले पहाडीमूलका उम्मेदवारलाई अनुमोदन गरेको प्रसङ्ग जोड्नुभयो । चेतना र राजनीतिमा ठूलो परिवर्तन भएको बताउँदै उहाँले स्वतन्त्र उम्मेदवारको विजयलाई नागरिकले परिवर्तन चाहेको आभास भएको बताउनुुभयो । 

मूल्यवृद्धिको आलोचना 

सांसद भगवती न्यौपानेले पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको मूल्यवृद्धिको चर्को आलोचना गर्नुभयो । उहाँले भन्नुभयो, “विपन्न वर्गका जनता अब कसरी बाँच्ने भन्ने प्रश्न उठेको छ ।” सरकार संवेदनाहीन भएको उहाँले आरोप लगाउनुभयो । 

सरकारसँग पेट्रोलियम पदार्थमा लगाइएको अतिरिक्त कर खारेजीको माग गर्दै उहाँले महँगी नियन्त्रण र मूल्यवृद्धि फिर्ता गर्न माग गर्नुभयो । सांसद भैरवसुन्दर श्रेष्ठले पेट्रोलियम पदार्थको मूल्यवृद्धिले जनता मर्माहत भएको भन्दै सरकारको आलोचना गर्नुभयो । पछिल्लो छ÷सात महिनामा भएको मूल्यवृद्धिले नागरिक आक्रान्त भएको तर सरकारको अनुभूति हुन नसकेको आरोप लगाउनुभयो ।