काठमाडौं, पुस २३ गते। युवा उद्यमी ज्ञानेन्द्र कार्की अस्ट्रेलियाको सिड्नीमा रियल स्टेट र निर्माण व्यवसायमा सक्रिय हुनुहुन्छ।
सुरूमा ‘रियलस्टेट’ व्यवसाय सुरू गर्नुभएका ज्ञानेन्द्र यतिबेला लाभिस कन्स्ट्रक्सन एन्ड डेभलपमेन्ट व्यवसायमासमेत आबद्ध हुनुहुन्छ। अस्ट्रेलियामा धेरैले ज्ञानेन्द्रलाई ‘ग्यारी’ नामले चिन्ने गरेका छन्।
ठुला लगानीमा जोखिम रहने भए पनि व्यावसायिक यात्रामा धैर्य आवश्यक हुने ज्ञानेन्द्रको भनाइ छ। विराटनगरको रङ्गेलीमा जन्मिनुभएका कार्कीको बाल्यकाल सामान्य परिवारमा बितेको थियो। बुवा कृष्णबहादुर सरकारी जागिरे भएकाले परिवारमा उनले ठुलो अभाव झेल्नु परेन। बुवा प्रहरी सेवामा भएकाले उहाँले अध्ययनका लागि राम्रो अवसर पाउनुभयो।
पढाइमा अब्बल कार्कीको अध्ययनको अलवा अतिरिक्त क्रियाकलापमा ध्यान बढी नै जान्थ्यो। घर परिवारमा भने छोरा डाक्टर, इन्जिनियर बनिदिए हुन्थ्यो भन्ने चाहना हुन्थ्यो।
कार्कीले महेन्द्र मोरङ कलेजबाट कमर्स विषयमा प्रवीणता प्रमाणपत्र तहसम्मको अध्ययन गर्दागर्दै उहाँले रेस्टुरेन्ट व्यवसाय सुरु गर्नुभएको हो। सानैदेखि व्यापार व्यवसायमा उहाँको चासो थियो।
उहाँले काठमाडौंस्थित मीनभवन क्याम्पसमा मास्टर्स गर्दागर्दै मेडिकल बिजनेस सुरु गर्नुभयो। नेपालमा कार्कीको मेडिकल बिजनेसले निकै राम्रो व्यापार गर्यो। उहाँ व्यापार विस्तारका लागि विदेश पुग्नुभयो। उहाँको व्यापारको रोजाइँ बन्यो अस्ट्रेलिया।
व्यवसाय विस्तारका लागि कार्की पहिलो पटक २००९ मा अस्ट्रेलिया पुग्नुभएको हो। उहाँले सिड्नीमा बोस्टर्न मेडिकल इन्भेस्टमेन्ट कम्पनी खेलेर व्यापार थाल्नुभयो। कम्पनीमार्फत एक्सरे मेसिनदेखि सीटी स्क्यान तथा आइसियूका भेन्टिलेटरको निर्यातमा उहाँको व्यवसाय फस्टायो।
त्यसपछि कार्की अमेरिकामा रहेका आफ्नै दाइको सुझाव अनुसार अस्ट्रेलियामा रियल स्टेटको व्यापारमा संलग्न हुनुभएको हो। रियल स्टेटसम्बन्धी अध्ययन सकेपछि सन् २०१४ मा एउटा रियल स्टेटमा काम गर्न पुग्नुभएका कार्कीले त्यहीँबाट व्यवसाय सुरु गर्नुभएको हो।
पछिल्लो समय कार्कीले मेट्रो होम्स एन्ड पाटनर्स, एक्पर्ट स्टेट, अर्बन होम्स, लाभिस कन्सटक्सन जस्ताठुला कम्पनी सञ्चालनमा ल्याउनुभयो। पछिल्लो समय भने उहाँ नयाँ योजना बनाउँदै अगाडि बढ्नुभएको छ। फाइनान्सको फरक अभ्यास उहाँका लागि नयाँ चुनौती र योजना बन्ने भएको छ।
उहाँ भन्नुहुन्छ, ‘अवसरलाई पछ्याउन सक्नु सफल जीवन हो। जीव र जीवन्तलाई छुट्याएर हेर्न सक्नुपर्छ। सफल जीवनका लागि परिश्रम, मिहिनेत, लगनशीलता र धैर्य चाहिन्छ।’
कार्की आफ्नो सफलताको श्रेय जीवनसङ्गिनी शक्तिदा बानियाँलाई दिनुहुन्छ। शक्तिदाले घरपरिवार समाल्दै व्यवसायलाई समेत साथ दिनुभएको छ। शक्तिदा कम्पनीको फाइनान्स प्रमुख भएर काम गर्दै आउनु भएको छ। कार्कीले आफ्नो व्यवसायलाई कहिल्यै पछाडि फर्केर हेर्नु परेको छैन।