गोरखापत्र समाचारदाता
काठमाडौँ, चैत २६ गते । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विश्व व्यापार सङ्गठनको सहकार्यमा सेवा व्यापार तथा विद्युतीय व्यापार (ई कमर्स) सम्बन्धी तीनदिने कार्यशाला सम्पन्न गरेको छ । नेपालको अर्थतन्त्रमा ६० प्रतिशतभन्दा बढी योगदान रहेको सेवा क्षेत्रको विकास, विस्तार र सेवा व्यापारको प्रवर्धन समग्र आर्थिक एवं सामाजिक विकासका लागि महत्वपूर्ण रहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । मन्त्रालयद्वारा जारी विज्ञप्ति अनुसार विश्वव्यापी रूपमा सेवा व्यापारको हिस्सा बढिरहेको सन्दर्भमा नेपालको वैदेशिक व्यापारमा समेत सेवा व्यापारको अंश प्रत्येक वर्ष बढ्दै गइरहेको छ । प्रविधिको विकाससँगै विद्युतीय व्यापार (ई कमर्स) नेपालमा दिनानुदिन लोकप्रिय हुँदै गइरहेको हुँदा त्यसलाई नियमन तथा प्रवर्धन गर्न विद्युतीय व्यापार (ई कमर्स) ऐन, २०८१ जारी भइसकेको छ । नेपाल व्यापार एकीकृत रणनीति, २०८० ले पर्यटन, सूचना प्रविधि र इन्टरनेटमा आधारित सेवा, जलविद्युत्, निर्माण सेवा, दक्ष तथा अर्धदक्ष श्रम सेवालाई निर्यात सम्भावना भएका सेवाको रूपमा प्राथमिकता दिएको छ । विश्व व्यापार सङ्गठन अन्तर्गतको सेवा व्यापारसम्बन्धी सामान्य सम्झौताका प्रावधान, उक्त सम्झौताबमोजिम सदस्य राष्ट्रहरूले जनाएका प्रतिबद्धता, विद्युतीय व्यापारका सम्बन्धमा विश्व व्यापार सङ्गठनमा भइरहेका वार्ता, नेपालको सेवा व्यापारको अवस्था तथा सेवा व्यापार विकासका लागि अपनाउनुपर्ने उपाय, विद्युतीय व्यापार नियमनको अन्तर्राष्ट्रिय अभ्यास र नेपालले अपनाउनुपर्ने रणनीतिलगायतका विषयमा अन्तर्क्रिया सम्पन्न भएको मन्त्रालयले जनाएको छ ।
कार्यशालाले नेपालको सेवा व्यापार र विद्युतीय व्यापारको विकासको निर्यात प्रवर्धन र व्यापार घाटा न्यूनीकरण गर्न एकीकृत राष्ट्रिय रणनीति बनाई सरोकारवाला सम्पूर्ण निकायको सामूहिक प्रयत्न अगाडि बढाउन सहयोग पुर्याउने मन्त्रालयको विश्वास छ ।