गोरखापत्र समाचारदाता
काठमाडौँ, जेठ ३१ गते । इतिहासकार स्व. ज्ञानमणि नेपालद्वारा लिखित ‘अतीतका स्मृति र अनुभूति : विश्वेश्वरदेखि विभूतिसम्म’ नामक पुस्तकको विमोचन गरिएको छ । नेपाल बार एसोसिएसनमा शुक्रबार आयोजित कार्यक्रममा सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँल, सर्वोच्च अदालतका पूर्वन्यायाधीश आनन्दमोहन भट्टराई र वरिष्ठ अघिवक्ता कृष्णप्रसाद भण्डारी गुरुदेवले संयुक्त रूपमा पुस्तकको विमोचन गर्नुभयो ।
सर्वोच्चका न्यायाधीश फुयाँलले कृति इतिहासको अध्ययन, अनुसन्धान गर्नेका उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले कृतिमा नेपालीपन र मौलिकता पाइने पनि बताउनुभयो । पूर्वन्यायाधीश भट्टराईले स्व. नेपाल इतिहास र संस्कृतिको महाविद्यालय भएकाले उहाँको मूल्याङ्कन गर्न कठिन रहेको बताउनुभयो । स्व. नेपालका अनुसन्धान आधिकारिक रहेकाले उहाँको हरेक कृति पढ्दा आस्था बढेर जाने बताउनुभयो ।
पुस्तकमाथि साहित्यकार कृष्ण धरावासी, पूर्वन्यायाधीश शेषराज शिवाकोटी र पत्रकार अरुण बरालले टिप्पणी गर्नुभएको थियो । यसै गरी लेखक नेपालको व्यक्तित्व तथा कृतिका विविध आयामबारे टिप्पणीकर्ताले चर्चा गर्नुहुँदै पुस्तकले नेपालको आधुनिक इतिहासमा प्रकाशमा नआएको तथ्य र घटनालाई उजागर गरेको धारणा राख्नुभयो । पैरवी बुक हाउस प्रालिका अध्यक्ष अधिवक्ता चन्द्रप्रसाद शिवाकोटीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन डा. रेवती त्रिपाठीले गर्नुभएको थियो ।