• ३१ जेठ २०८२, शनिबार

पहिरोग्रस्त क्षेत्रका बासिन्दालाई बाँसको बिरुवा वितरण

blog

मोसो प्रजातिको बाँसको बिरुवा वितरण गर्नुहुँदै गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेम (दायाँ) । तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक
ताप्लेजुङ, जेठ ३१ गते ।
ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित पहिरोग्रस्त क्षेत्रमा बाँसको बिरुवा वितरण गरिएको छ । पहिरोग्रस्त क्षेत्र वडा नम्बर ३ र ४ साँघुमा गाउँपालिकाले ‘मोसो’ प्रजातिको बाँसको बिरुवा वितरण गरेको हो ।

गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमका अनुसार पहिरोग्रस्त क्षेत्रमा पहिरो नियन्त्रण गर्न अर्थात भू–क्षय रोक्ने साथै पर्यावरण जोगाउने उद्देश्यले बाँसको बिरुवा वितरण गरिएको हो । बाँस रोप्दा भू–क्षय रोक्नमा सहयोग पुग्ने पाइएपछि पहिरोग्रस्त क्षेत्रका स्थानीय बासिन्दालाई बाँसको बिरुवा वितरण गरेको अध्यक्ष वनेमले बताउनुभयो ।

पहिरो गइरहने क्षेत्रमा मोसो प्रजातिको बाँस रोप्नाले अन्य बोट, बिरुवा वा वनस्पतिको तुलनामा यसले भू–क्षय रोक्न ठुलो सहयोग गर्ने भएकाले बिरुवा वितरण गरिएको अध्यक्ष वनेमको भनाइ छ । उहाँका अनुसार उक्त प्रजातिको बाँसबाट कागज र हस्तकलाका विभिन्न सामग्रीसमेत निर्माण गर्न सकिन्छ । त्यस्तै बाँसको तामा अर्थात टुसा तरकारीका रुपमासमेत उपभोग गर्न सकिने उहाँले बताउनुभयो ।

नेपालमा पाइने विभिन्न प्रजातिमध्ये मोसो बाँस बेग्लै विशेषता भएको गाउँपालिकाका प्रवक्ता चन्द्रकुमार तामाङले बताउनुभयो । मैवाखोला गाउँपालिका–१ का वडाध्यक्षसमेत रहनुभएका प्रवक्ता तामाङका अनुसार पहिरोग्रस्त क्षेत्रका बासिन्दालाई तीनहजार वटा मोसो प्रजातिको बाँसको बिरुवा वितरण गरिएको छ ।

मोसो बाँससँगै गाउँपालिकाका किसानलाई कफीको बिरुवा पाँच हजार, सुन्तला दुई हजार, आँप तीन सय र दुई सय वटा लिचीको बिरुवा वितरण गरिएको पनि उहाँले जानकारी जानकारी दिनुभयो । मैवाखोला गाउँपालिका वडा नम्बर ३ र ४ साँघुमा केही टोल पहिरोग्रस्त क्षेत्र रहेका छन् । वि.सं २०८० को असार महिनामा भएको भीषण वर्षासँगै पहिरो जाँदा साँघुको ओदक बस्तीका मात्रै ६२ परिवार विस्थापित भएका छन् ।

त्यसबेला बाढीपहिरोका कारण ओदक बस्तीका समेत ६५ परिवार विस्थापित भएका छन् । पहिरोले विस्थापित भएका परिवारलाई साँघुकै निर्माणाधीन मदन भण्डारी रङ्गशालामा गाउँपालिकाले तत्काल अस्थायी आवास निर्माण तथा व्यवस्थापन गरी बसोबासको प्रवन्ध मिलाएको थियो । पहिरो पीडितहरु अहिले पनि सोही अस्थायी आवासस्थलमा बसोबास गर्दै आइरहेका छन् ।