काठमाडौं, पुस २३ गते । उपप्रधान एवम् शहरीविकासमन्त्री प्रकाशमान सिंहले कलाकारलाई सम्मान गर्नु राज्यको दायित्व भएको बताउनुभएको छ ।
मङ्गलबार काठमाडौंमा नेपाल व्यवसायिक कलाकार संघको ३० औं स्थापना दिवस तथा राष्ट्रिय विभूति अरनीको स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले कलाकारहरुले आफ्नो कलाकारितामार्फत नेपाललाई विश्वभर चिनाइरहेको उल्लेख गर्नुभयो । उहाँले कलाकारिता क्षेत्रमा भावी पुस्ताले भविष्य सुनिश्चित देख्नेगरी काम गर्न जरुरी रहेको बताउनुभयो ।
उपप्रधानमन्त्री भन्नुभयो, ‘‘कलाकारलाई सम्मान त गर्नुपर्छ नि त । आफूले केही गर्न नसकेपनि नेपालमा कलाकारिता गरेर यो विधालाई जीवन्त तुल्याइरहनुभएको छ । उहाँहरुलाई कदर गर्ने कार्यक्रममा जसरी पनि पुग्नुपर्छ भनेर म आइपुगेँ । कलाकारितालाई नयाँ पिँढीले पनि यसमा भविष्य छ भन्ने प्रेरणाको रुपमा लिनेछन् ।’’
उपप्रधानमन्त्री सिंहले कलाकारिताको माध्यमबाट कलाकारहरुले नेपाललाई विश्वमा चिनाइरहेको बताउनुभयो ।