• ४ जेठ २०८१, शुक्रबार

इपीएल गर्न नदिने क्यानप्रति असन्तुष्टी

blog

पत्रकार सम्मेलनमा इपीएल आयोजक र मालिकहरु । तस्बिर : गोरखापत्र

काठमाडौं, जेठ ९ गते । नेपालको क्रिकेट फ्रेन्चाइज लिगमा चर्चित ब्रान्ड बनाएको एभरेष्ट प्रिमियर लिग (इपीएल) आयोजक र फ्रेन्चाइज टोलीले नेपाल क्रिकेट संघ (क्यान) प्रति असन्तुष्टी ब्यक्त गरेका छन् । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी इपीएल आयोजक र सहभागी टोलीका मालिहरुले क्यानले निजि क्षेत्रले आयोजना गर्ने फ्रेन्चाइज लिगलाई मान्यता नदिने बताएपछि असन्तुष्टी ब्यक्त गरेका हुन् । 

क्यानले हालै आफ्नै नेपाल टी–२० फ्रेन्चाइज लिगको घोषणा गरिसकेको छ । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले हरेक देशको एउटैमात्र लिग हुने भएकोले नेपालका अब अन्य फ्रेन्चाइज लिगलाई मान्यता नदिने बताउनुभएको थियो । यसअघि क्यान अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) बाट प्रतिबन्ध हुँदा आइसीसीको स्वीकृतिमा इपीएल सञ्चालन हुँदै आएको थियो । तर आइसीसीले प्रतिबन्ध फुकुवा गरेपछि क्यानले आफै टी–२० फ्रेन्चाइज लिग सञ्चालन गर्न लागेको हो । 

नेपाल टी–२० फ्रेन्चाइज क्रिकेट लिग आगामी आगमी असोज ८ देखि कार्तिक ५ गतेसम्म हुने तय भईसकेको छ ।  लिग सञ्चालनका लागि क्यानले भारतको ‘सेभेन थ्री स्पोर्ट्स’ कम्पनीलाई जिम्मेवारी समेत दिईसकेको छ । क्यानले ‘सेभेन थ्री स्पोर्ट्स’ कम्पनीलाई आठ बर्षसम्म यस प्रतियोगिता सञ्चालनको जिम्मेवारी दिएको हो । जस वापत क्यानलाई ‘सेभेन थ्री स्पोर्ट्स’ ले बार्षिक चार करोड १२ लाख ५० हजार रुपियाँ उपलब्ध गराउनेछ । 

तर इपीएल आयोजक र फ्रेन्चाइज मालिकहरुले क्यानले कर्पोरेट हाउसले यसअघिदेखि गर्दै आएको करौडौं लगानीलाई वेवास्था गरी घरेलु लगानी कर्तालाई अन्याय गरेको बताएका छन् । उनीहरुले इपीएललाई मान्यता नदिए क्रिकेट खेलमा नेपालको निजि क्षेत्रको आर्थिक लगानी नहुने चेतावनी समेत दिएका छन् । 

‘क्यानले देशमा चलिरहेका अन्य फ्रेन्चाइज लिगको दायरालाई साँघुरो पार्ने काम गरेको छ । क्यानको पछिल्लो निर्णयले इपीएलको भविष्य र करोडौं लगानी जोखिममा परेको छ । यसलाई बचाउन हामी कानुनी लडाई समेत लड्न तयार छौँ,’ इपीएल अन्तर्गत ललितपुरका टिम मालिका किशोर महर्जनले भन्नुभयो । 

इपीएल सञ्चालक आमिर आख्तरले क्यानले कुनै छलफल नगरी विदेशी कम्पनीलाई लिग आयोजनाको अधिकार दिएको बताउनुभयो । उहाँले खुला बोलकबोलविना विदेशी कम्पनीलाई लिग आयोजना गर्न दिनु ठूलो आर्थिक चलखेल भएको आरोप समेत लगाउनुभयो ।