वासुदेव त्रिपाठीले कतिलाई पढाउनुभयो सायदै लेखाजोखा होला ? एउटै वासुदेव त्रिपाठीलाई पढाउने चाहिँ धेरै भए । उहाँले कीर्तिपुरमै स्थिर भएर चालिस वर्ष पढाउँदा विद्यार्थीको अभाव थिएन, उहाँले पढ्दा पढने ठाउँकै अभाव थियो, कहिले कता कहिले, कता गर्दै थरी थरीका मास्टरबाट थरी थरीका ज्ञान लिनुभयो उहाँले । घरैमा बुवाले अक्षराम्भ गराएपछि थालिएको अध्ययनको बाटो बेपत्ताले अघि बढ्न थाल्यो । पढ्नलाई जन्मथलो तनहुँ भन्सार वरपर विद्यालयसम्म थिएन, वरपर रहेका पण्डित, मास्टर, रकमी, हवल्दार गुरुहरूकै भर पर्नुपर्ने अवस्थामा भेटिए अनेकथरी गुरु । १३ वर्षको उमेरसम्म कति कक्षा, कुन स्कुल भन्नेसम्म पत्तो थिएन उहाँलाई र पनि पढेका कुरा सबै कण्ठाग्र । एकै आसनमा बसेर पढ्नु त कहाँ अनेकथरी गुरुले विविध विषयको ज्ञान दिए– संस्कृत, अङ्ग्रेजी, ऐन–स्रेस्ता, हार्मोनियम समाएर गीत भजन गाउन, कवाज खेल्न, अनुवाद गर्न । अझ शिखरनाथ सुवेदीका नाति विश्वनाथ उपाध्यायले त उहाँलाई अहिलेकोे वासुदेव बन्न जग बसालिदिएकै हो । औलोकोे डरले आफ्नो थलो उक्लेर गोर्खाको सिरानचोकमा उहाँको मावलीमा बसेर पढ्न थाल्नुभयो उनै विश्वनाथसँग । अङ्ग्रेजी, अनुवाद, सेक्सपियरका नाटक पढाउनु मात्र भएन, अभिनय गर्न पनि सिकाउनुभयो । त्यस्तै टेकराज पन्त, रेवतीरमण आचार्य र भीमप्रसाद कट्टेल हुँदै गायत्रीगणेश अर्यालसम्म गोर्खा र लमजुङका गुरुहरूबाट नानाथरी विषय पढ्दै अनि त भीमनिधि तिवारीको नाटकमा अभिनयसमेत गर्नुभयो । १४ वर्षसम्मको उमेर यसरी नै बितेको शैक्षिक खुड्किलाले २०१३ सालमा पढ्न काठमाडौँ टेकेपछि उहाँको अध्ययनले शिखर आरोहण गर्ला भनेर सायदै कसैले सोचे होलान् । काठमाडौँको रानीपोखरीदेखि पश्चिमको संस्कृत प्रधान पाठशालाका गुरुहरूले ल्याकत जाँची उहाँलाई पूर्वमध्यमा भर्ना गरिदिए, पढाइको कक्षागत साँध लाग्यो । अर्को सालदेखि पूर्वमध्यमा पार गरी उहाँ महाविद्यालयका सिँढीहरू चढ्दै रहनुभयो । सँगसँगै जुद्धोदयमा राति चल्ने विकास भवनमा आएर ७ कक्षामा भर्ना गरिनुभएका उहाँ योग्यताका कारण १० क्लासमा एकैचोटि फड्को मार्न सफल हुनुभयो । एसएलसी द्वितीय श्रेणीमा पास हुनुभयो । १० कक्षामा कमलाभक्त माथेमा सरले अङ्ग्रेजी पढाएको आजसम्म पनि बिर्सिनु भएको छैन । व्यावहारिक व्याकरण त उहाँलाई सम्पूर्ण ज्ञान थियो, निरन्तर अनुवाद गराउने, निबन्ध, कथा लेख्न लगाउने गर्नुहुन्थ्यो । पढाइमा त एसएलसी परीक्षा द्वितीय श्रेणीमा पास हुनुभयो तर साहित्यका लागि यही नै अघि बढ्ने माध्यम बन्यो । संस्कृत, हिन्दी, अङ्ग्रेजीबाहेक बङ्गाली र उर्दु भाषाको पनि ज्ञानले अनि पुस्तकालय धाएर आर्जेको ज्ञान र शिक्षाले वासुदेव त्रिपाठीलाई अझ सशक्त बनायो । मदन पुरस्कार पुस्तकालयका प्रायः जम्मै किताब पढिसिध्याउने उहाँले अन्य पुस्तकालयमा पनि त्यत्तिकै अध्ययन गर्नुभयो । लेखनाथ र लक्ष्मीप्रसादका कविता, नेहरूको छोरीलाई चिठी, भीमनिधि तिवारीका कथा, नाटक, पूर्णप्रसाद ब्राह्मणका लघुकथा, गोविन्दप्रसाद लोहनीको यो हो सोभियत रुस, आजाद चीन जस्ता कृतिको अध्ययनसँगै साहित्यमा प्रवेश गर्ने अवसर जु¥यो ।
यतिखेर बानेश्वर वरपर हिँड्दा, विश्वविद्यालय परिसर आउजाउ गर्दा, तनहुँ वा कुनै भूगोल टेक्दा त्रिपाठी सर, वासुदेव गुरु, डाक्टर साब भनेर शिर नझुकाउने, हात नजोड्ने कमै भेटिएलान् । त्यसो त धारे हात लाउने पनि भेटिए, गाली गरेर लेख्ने पनि यदाकदा देखिए । तिनका बारेमा उहाँलाई यत्ति भन्नु छ– नीलकण्ठ भएर जतिसक्दो विष पिएँ, सट्टामा अमृत दिएँ । मैले कसैलाई जवाफ दिइनँ । मेरो काम लेख्नु हो, निरन्तर लेखिरहेँ ।
आँखाले हेरुन्जेल थकाइ लाग्ला जस्तो सम्मान र पुरस्कारका फ्रेमले भरिएको कोठामा छौँ हामी । यही संवादबाट कुरो अघि बढ्न थाल्छ । २०८१ सालको भदौ २२ गतेको दिन ।
पहिले जीवन प्रवृत्तितिर उन्मुख थियो, अचेल निवृत्तितिर गइरहेको छ । आखिरमा जे जति कृति रचियो सपना सधैँ शेष हुने रहेछ, जीवन खालि सम्झनाको लय जस्तो रहेछ । अहिले यो ८३ टेक्दाको उमेरमा आइपुग्दा कस्तो लाग्दै छ भने मृत्यु अपरिहार्य छ, त्यसलाई पर्खनु र यो उमेर र अब बाँचिने उमेरको बिचमा जे जति सकिन्छ गर्दै जाने हो । अपरिहार्य मृत्युलाई पर्खने व्रmममा दुःख, पीडा, शोकको अनुभव गर्न नपरोस्, नजानेर पनि कसैको चित्त नदुखाऊँ भन्ने लाग्छ । आखिर जीवन त बुद्धले भन्नुभए जस्तै क्षणिक छ, सुख छ, दुःख छ । मलाई निराशा चाहिँ अनुभव हुँदैन । मृत्युले अमूर्त रूपले छोपेको सङ्केत गरिरहेको भान हुन्छ । जतिसुकै मित्थ्या भने पनि बाँच्ने मोह चाहिँ हुँदो रहेछ ।
समालोचना र कविताका, खोज र कोशका, अनुसन्धान र नाट्य अभिनयको, अध्यापन र प्राध्यापनको कुरालाई एकातिर पन्छाएर दर्शन र भावनाका कुराले ठाउँ पाएपछि उहाँ समाज र परिवारतिर मोडिनुहुन्छ ।
नवौँ वर्षको उमेरको मातृवियोगको चोटबाहेक जीवनको यो उमेरसम्म आइपुग्दा मलाई दुःख केही कुरामा छैन । एउटै कुरामा चाहिँ दुःख लाग्छ, बाबुआमा, बाजेबज्यैले दिएको सुसंस्कार जोगाउन हामीलै सकेनौँ । मेरा बाले दिनुभएको जायजेथा मात्र होइन, उहाँहरूबाट प्राप्त सभ्यता, संस्कृति, संस्कारलाई हामीले जोगाउन सकेनौँ भन्ने लाग्छ । पछिल्लो पुस्तालाई त्यसरी नै दिन सकेनौँ वा भनौँ उनीहरूले ग्रहण गरेनन् । अलिकति पश्चिमी, केही नास्तिकता, बढी भौतिकवादी अनि सन्देहका कारण जोगाउन सकेनौँ ।
साहित्यमा पनि त्यही अवस्था हो त ?
लेखनाथ, सम, देवकोटाको समयमा आएर अलि द्वन्द्वको अनुभव हुन थालेको थियो । पूर्वेली ज्ञानसँगै पश्चिमी ज्ञानले पनि उत्तिकै ठाउँ ओगटिरहेको थियो । समको प्रह्लाद नाटक, देवकोटाको यात्री यसैका उदाहरण हुन् ।
हातमा हार्मोनियम लिएर गाउँदै हिँडेका दिन, अभिनय गरेर कलाकार बनेको सायदै अहिलेकाले थाहा पाए, अहिले वासुदेव त्रिपाठी भनेपछि समालोचक, सम्पादक, कवि भनेर जान्छन् र मान्छन् पनि । त्यसमा पनि पाश्चात्य समालोचनाको सिद्धान्तको कृति लेख्ने समालोचक । यो लेख्नुको पनि कथा रहेछ–
नेपाली साहित्यमा पाश्चात्य समालोचनाको सिद्धान्तको कृतिको अभाव थियो । त्यतिबेला साझा प्रकाशनको महाप्रबन्धक क्षेत्रप्रताप अधिकारी र अध्यक्ष कमलमणि दीक्षित हुनुहुन्थ्यो । उहाँहरूले नै साझा प्रकाशनलाई यस्तो कृति चाहियो भनेपछि मैले योजना बनाएँ । तारानाथ शर्माजीलाई यसको जिम्मा दिने भन्यौँ तर उहाँले मान्नुभएन, बरु पश्चिमका केही महान् साहित्यकार लेख्नुभयो उता क्षेत्रप्रतापजीले साझाको क्यालेन्डरमै राखिदिएपछि म दबाबमा परेँ, पिएचडी गर्दै गरेको अवस्थामा । क्यालेन्डरमै राखेपछि मैले अब त लेख्नै पर्छ भन्ने लागेर सोधखोज र अध्ययन गर्न थालेँ । कोलम्बो प्लानका अङ्गे्रेजी प्राध्यापकहरूसँग सरसल्लाह गर्ने, हिन्दी र अङ्ग्रेजीको पद्धतिलाई अपनाएर ? नयराज पन्त र ? अनुसन्धान पद्धति अपनाएर लेख्न थालेँ । विश्वविद्यालयमा चार घण्टा पढाउनुपर्ने, पिएचडीको तयारी, किताब सबै नपाइने, यस्तो अवस्थामा लेखेको हुँ । यसको भाग १ र २ त लेखियो, ३ को तयारी गर्दै थिएँ । मधुमेहले छोएपछि त्यो चाहिँ लेख्न सकिनँ ।
बिसको दशकको थालनीमै समालोचकका रूपमा दरिइसक्नुभएका उहाँको यसअघि हिमाली साहित्य (सहसम्पादन २०२१) नेपाली कविताको सिंहावलोकन (२०२७), विचरण (२०२८) जस्ता समालोचनाका कृति प्रकाशमा आइसकेका थिए । समालोचना यात्राका बारेमा उहाँ थप्नुहुन्छ–
विसं २०१८ सालमा संस्कृत छात्र सङ्घको सभापति छँदा त्यतिखेरै हामीले साहित्य सम्मेलन गरेका थियौँ । भुटान, बर्मा, भारत, सिक्किमका साहित्यकारका कृति रचनासहित साहित्यकारको पनि जमघट थियो यसमा । अनि त यसलाई हामीले अन्तर्राष्टिय साहित्य सम्मेलन नाम दियौँ । अनि यसै साल ठाकुर पराजुली र म मिलेर त्यस सम्मेलनमा छानिएका विधागत रचना राखी सम्पादकीयलगायत लेखी लेखेको उपर्युक्त हिमाली साहित्य मेरो समालोचनाको कखरा नै हो ।
वासुदेव त्रिपाठीलाई बिसको दशकको आरम्भमै छापिएको उत्तररामचरितमा महाकवि भवभूति समीक्षाले चिनाएन मात्र चर्चामा पनि ल्याइदियो । गोरखापत्रमा छापिएका २०२३ नेपाली काव्यजगत् र नेपाली पद्य कविता र गीतिजगत् समालोचनाले उहाँ समालोचनातर्फ आकर्षित त हुनुभयो नै केन्द्रित पनि । यसअघि लेख्दै आएको कथा, नाटक, अनुवाद, अन्तर्वार्ता, जीवनी आदि विधाबाट अलि पर हटेर २०२४ सालदेखि विशेष गरी समालोचना केन्द्रित बनेको उहाँ अहिले महासमालोचकको रूपमासमेत सम्मानित हुनुहुन्छ । विसं २०२६ सालमा कविशिरोमणि लेखनाथ पौड्यालका कवित्वको विश्लेषण तथा मूल्याङ्कनसम्बन्धी शोधकार्य थाल्नुभएका वासुदेव त्रिपाठीलाई २०३१ सालमा विद्यावारिधिको उपाधि प्राप्त भएपछि त्यसै दिनदेखि उहाँको अर्को चिनारी थपियो नेपाली साहित्यमा पहिलो विद्यावारिधि गर्ने विद्वान्का रूपमा ।
पहिले लेखेका विधाका कृति निकाल्ने समय नजुरेर तिनलाई कृतिको रूप दिन नसकेकोमा थोरै दुःख लागेको छ उहाँलाई । साहित्य क्षेत्रमा प्रवेश गरेको कविता विधालाई भने उहाँले निरन्तरता दिँदै आउने क्रममा तीन थुँगा (काव्यसङ्ग्रह) देशको महिमा (खण्डकाव्य), नव पल्लव (गीतसङ्ग्रह), सम्झनाकुञ्ज, जीवननिकुञ्ज, सृजनकुञ्ज, मधुकुञ्ज, जस्ता कविता, काव्य र गीतको सङ्ग्रह अनि रचनाकुञ्ज कविता, काव्य–महाकाव्य र गीतिको सङ्ग्रह) प्रकाशमा आइसकेका छन् । जीवनमा पहिलो पटक २०१८ सालमै कवितामा स्वर्ण पदक पाएर पुरस्कारको सूची अघि बढाउने उहाँले आदिकवि भानुभक्त पुरस्कार, मदन पुरस्कार, भूपालमानसिंह प्रज्ञा पुरस्कार, उदयानन्द पुरस्कार, लेखनाथ साहित्य पुरस्कार, राष्ट्रकवि माधव घिमिरे पुरस्कार, महाकवि देवकोटा पुरस्कार, युगकवि सिद्धिचरण पुरस्कार, रमेश विकल वाङ्मय पुरस्कारलगायत सयभन्दा बढी पुरस्कार र सम्मान पाइसक्नुभएको छ । नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका उपकुलपति, साझा प्रकाशनका सञ्चालक, बनेर साहित्यको क्षेत्रमा विशेष योगदान दिने उहाँले धेरै साहित्यिक सङ्घसंस्थामा रहेर महìवपूर्ण नेतृत्व प्रदान गर्नुभएको छ ।
चालिस वर्ष लामो समय त्रिभुवन विश्वविद्यालयमा पढाएर नेपाली विभागको प्राध्यापक, प्रमुख, मानविकी तथा सामाजिक शिक्षा सङ्कायको डिन हुनुभयो उहाँ । यसअघि २०२१ सालमा जुम्ला पुगेर हेडमास्टर बनेको कथा पनि कम्ता रोचक छैनन् ।
२०२१ मा योगी नरहरिनाथले दैनिक समाजमा विज्ञापन छपाएको देखेँ– मैले जुम्लाको चन्दननाथमा खोलेको माध्यमिक विद्यालयमा शिक्षकको अभाव भएकाले जुम्लीहरूको एक वार्षिक सत्रको समय बर्बाद हुन लागेकाले सहयोगका आह्वान गर्दछु । यही विज्ञापन देखेपछि मैले जाने निधो गरेँ र महिनाको ६०० रुपियाँ तलब पाउने गरी त्यहाँ पढाउन थालेँ, मेरो अध्यापनका अनि जागिरे जीवनको आरम्भ यही थियो । त्यही करिब छ महिना हेडमास्टर बनेर पढाउँदा हिमाच्छादी कर्णाली नामक पत्रिका निकालेँ । दुई चार पटक साहित्य गोष्ठी पनि गरेँ ।
त्रिविबाट अवकास नहुँदै बिहानी सत्रमा काठमाडौँ उपत्यका क्याम्पसमा भएपछि केही समय आई एस्सीका विद्यार्थीलाई पनि पढाएँ । अहिले खासगरी लगभग दस लाख शब्दको बृहत् शब्दकोशको प्रकाशनको तरखरमा छु । नेपाली साहित्यको बृहत् इतिहास लेखन पनि चालु छ । सङ््ग्रह गरेर छाप्ने हो भने समालोचनाका धेरै कृति प्रकाशमा आउन सक्थे । अब स्वास्थ्यका कारणले पनि चाहे जस्तो काम गर्न सकेको छैन ।
उहाँबाट भएका अनि गर्नुपर्ने र गर्दै रहेका उहाँको कामलाई मात्र सम्झने हो भने वासुदेव त्रिपाठीको योगदान बेजोड मान्न सकिन्छ । बढ्दै गएको उमेर, अनि उमेरसँगै जोडिन पुगेको रोग नहुँदो हो त नेपाली साहित्यले उहाँबाट अझ कति पाउने थियो होला सम्झँदा पनि के एउटै मान्छेबाट यतिका काम सम्भव छ र ? भन्ने प्रश्न गरौँ जस्तो लाग्ने । पढाउनु अनि लेख्नु जीवन यही हो उहाँको । दान, पुण्य जे भने पनि साहित्य र शिक्षा क्षेत्रमा उहाँले दिनुभएको योगदान त छँदैछ उहाँले सिर्जेका र सम्पादन गरेका कृतिले पनि वासुदेव त्रिपाठीलाई नेपाली साहित्यको सिरानमा राखेर धेरैले सम्मान गर्दै आएका छन् । पढ्दै आएका छन् । मधुपर्क