• २१ पुस २०८१, आइतबार

म्याक्सिम गोर्कीको आमा पढेपछि पुस्तक लेख्ने प्ररेणा मिल्यो : नेता पोखरेल

blog

पुस्तक विमोचन कार्यक्रममा धारणा राख्नुहुँदै नेपाल कम्युनिस्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल । तस्बिरः केशब गुरुङ

काठमाडौँ, पुस १९ गते । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले म्याक्सिम गोर्कीको आमा पुस्तक पढेपछि आफूलाई पुस्तक लेख्न प्रेरणा मिलेको बताउनुभएको छ । शुक्रबार काठमाडौँमा आयोजित आफ्नो  ‘आमा, सपना र ताराहरु’ नाक संस्मरण कृति विमोचन कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । 

उहाँले भन्नुभयो, “मेरी आमालाई मैले जस्ताको तस्तै चित्र उतार्नुपर्छ कलमको माध्यमले, त्यही हो मैले कोसिस गरेको।जहाँसम्म रचना गर्नुको एउटा ऐतिहासिक पृष्ठभूमि के छ भने मलाई आमा सम्बन्धमा लेख्न किन मन लाग्यो भने म्याक्सिम गोर्कीको आमा पढिसकेपछि म उद्धेलित भएको थिएँ।आमाप्रतिका मेरा अनुभूतिहरु जागृत भएको थिएँ। वास्तवमा, मलाई त्यही किताब पढेपछि लेख्न उत्प्रेरणा मिलेको हो ।” उहाँले साहित्यको कुनै साहित्यको सिर्जना गर्छु भनेर उक्त पुस्तक सिर्जना नभएको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “मैले यो किताब तयार गरिरहँदा कुनै साहित्यको सिर्जना गर्छु भन्ने मैले कहिल्यै ठानिनँ। अहिले पनि मलाई त्यस्तो लाग्दैन, मैले जीवनमा मेरो आमालाई कुन–कुन ठाउँमा कसरी भेटें ? कसरी पाएँ ? मेरो अनुकूलतासित जुध्दै अगाडि बढ्ने यात्रामा मैले मेरी आमालाई कहाँ, कुन ठाउँमा पाएँ भन्ने अनुभूतिलाई मैले प्रस्तुत गरेको मात्रै हुँ ।”

कार्यक्रममा बोल्नुहुँदै नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले देशका पूर्व राष्ट्रपतिहरु सामाजिक परिवर्तनको प्रेरणा बन्नुपर्ने धारणा राख्नुभयो।

महामन्त्री शर्माले भन्नुभयो, “सामाजिक परिवर्तनको प्रेरकका रुपमा एउटा आमाले भन्दा कसले बढी बुझ्न सक्दछ सम्माननीय पूर्व राष्ट्रपतिज्यू, यद्दपि, मेरो शुभकामना छ, राजनीतिमै फेरि आउन चाहनुभएको हो कि, साथीले इच्छा राख्नुभएको होकि भन्ने पनि चर्चा छ। यहाँको म सम्मान गर्छु। तर, यदि कसैले मलाई सोध्छ भने तिम्रो देशको शील निवासबाट निस्केको पूर्व राष्ट्रपतिले के गर्नुपर्छ भनेर सामाजिक अभिभावक यो देशलाई चाहिएको छ ।”


पुस्तकमाथि टिप्पणी गर्नुहुँदै उपप्राध्यापक डा. बिन्दु शर्माले हृदयबाट स्वतः सिर्जित कुनै आडम्बर तथा कृत्रिमताबिनाको प्रस्तुति पुस्तकमा रहेको बताउनुभयो। पुस्तकमा पाठकले अपनत्व गर्न सक्ने ठाउँहरु प्रशस्तै रहेको बताउनुभयो । शर्माले पछिल्लो समय बजारमा आएका संस्मरणरु आत्मप्रशंसाको पुलिन्दा हुने गरेको भए पनि पोखरेलको पुस्तक त्यो किसिमको नभएको टिप्पणी गर्नुभयो। उहाँले संस्मरणमा सबैभन्दा महत्वपूर्ण विषय ईमानदारीता रहेको चर्चा गर्नुभयो । 

एमाले उपमहासचिव प्रदीप ज्ञवालीले आमासँगको सम्बन्धका कृति कहिल्यै पुरानो नहुने विषय उल्लेख गर्नुभयो । ज्ञवालीले भन्नुभयो, “आमा यस्तो सम्बन्ध रहेछ, जसलाई जतिचोटी लेखे पनि त्यो पुरानो हुँदैन। एउटै कुरा दोहोरियो भन्ने लाग्दैन। मानवीय सम्बन्धको असाध्यै पवित्र धागोले जोडिएको छ जस्तो लाग्छ मलाई। त्यही श्रृङ्खलामा आज यो पुस्तक आएको छ ।”  

नेता पोखरेलको ‘आमा सपना र ताराहरु’ पुस्तक पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी, काँग्रेस महामन्त्री विश्वप्रकाश शर्मा, एमाले उपमहासचिव प्रदीप ज्ञवाली, लेखक पोखरेल र समालोचक डा.  बिन्दु शर्माले संयुक्त रुपमा सार्वजनिक गर्नुभएको हो ।