काठमाडौँ, पुस २० गते। नेपाली कांग्रेसका नेत्री एवम् प्रतिनिधि सभा सदस्य कुसुमदेवी थापाले नेपालको कान्छो जिल्ला रुकुमपूर्वले सम्भावना बोके पनि आवश्यक बजेट विनियोजन नहुँदा विकास निर्माणमा पछि परेको बताउनुभएको छ। प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापतिसमेत रहनुभएका थापाले बजेट भाषणपछि आफ्नो जिल्ला हरायो भनेर सूचना नै दिनुपरेको बताउनुभयो। गोरखापत्र अनलाइनको ‘सांसदलाई सवाल’मा कुराकानी गर्नुहुँदै थापाले यस्तो बताउनुभएको हो।
‘रुकुमपूर्व प्राकृतिक स्रोतका दृष्टिले धनी भए पनि धेरै पछाडि परेको छ। जिल्लाको विकासका लागि प्राथमिकता दिनुपर्छ। मेरो जिल्ला हरायो भनेर संसदमा बजेट भाषणपछि सूचना नै दिनुपर्ने अवस्था आयो। अप्ठेरो भूगोल भएकाले जिल्लाका लागि सम्मानजनक बजेट आवश्यक छ। नयाँ जिल्लाले प्राथमिकता पाउनुपर्छ भन्ने मेरो धारणा छ’, उहाँले भन्नुभयो। धौलागिरि सर्किटलाई निर्माण गर्न सके जिल्लाको विकासका लागि कोशेढुङ्गा बन्नसक्ने उहाँले बताउनुभयो। जिल्लाको पर्यटन विकासका लागि पर्यटन विभागसँग समन्वय गर्नुपर्ने थापाको भनाइ छ।
२०२९ साल भदौ २९ गते बुवा भक्तबहादुर र आमा चन्द्रकलाको कोखबाट जन्मिनुभएका थापा रुकुमपूर्वलाई प्रतिनिधित्व गर्दै समानुपातिक समूहबाट प्रतिनिधि सभा सदस्य बन्नुभएको हो। उहाँ काठमाडौं रानीवारी, सामाखुशीमा बसोबास गर्नुहुन्छ। ग्रामीण विकासमा स्नातकोत्तर गर्नुभएका उहाँले २०५२ सालदेखि राजनीति सुरु गर्नुभएको हो। उहाँले नेपाल विद्यार्थी सङ्घमा आबद्ध हुँदै राजनीति सुरु गर्नुभएको हो। नेपाल राष्ट्रिय मगर सङ्घको संस्थापक सदस्य हुँदै उहाँ केन्द्रीय उपसभापतिसमेत बन्नुभयो। नेपाल महिला सङ्घको तेस्रो अधिवेशनमा केन्द्रीय कोषाध्यक्ष उम्मेदवार बन्नुभएका थापा नेपाली कांग्रेस केन्द्रीय सदस्यको प्रत्याशी हुनुहुन्छ।
प्रस्तुत छ - प्रतिनिधि सभा सदस्य एवम् कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति कुसुमदेवी थापासँग गोरखापत्र अनलाइनको ‘सांसदलाई सवाल’मा दिनेश लुइटेलले गरेको कुराकानीका आधारमा मनोजरत्न शाही र केशब गुरुङले तयार पार्नुभएको भिडियो कुराकानीः