• ८ जेठ २०८१, मङ्गलबार

मतपत्र च्यात्ने कांग्रेस सचिवमाथि अनुसन्धान जारी

blog

शेरबहादुर राई
ओखलढुङ्गा, जेठ ९ गते ।
मतपत्र च्यातेको आरोपमा पक्राउ परेका नेपाली कांग्रेस जिल्ला कार्यसमिति सचिव राजकुमार ढुङ्गानामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिकामा मतगणना भइरहेको समयमा मतपत्र च्यातेको आरोपमा ढुङ्गानालाई पक्राउ गरी प्रहरी हिरासतमा राखी अनुन्धान भइरहेको ओखलढुङ्गा प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुकदेव खनालले बताउनुभयो ।

वडा नं.३ को मतगणनाका क्रममा नेपाली कांग्रेस र माओवादी केन्द्रका वडा अध्यक्षका उम्मेदवारको मत बराबरी भएपछि विवाद उत्पन्न हुँदा सचिव ढुङ्गानाले मतपत्र च्यातेको आरोप छ । सोही आरोपमा कांग्रेसको तर्फबाट चिशङ्खुगढी गाउँपालिका–३ को वडा अध्यक्षका उम्मेदवार मिनबहादुर आले मगरलाई पनि प्रहरीले पक्राउ गरी अनुसन्धान भइरहेको छ ।

करिब एक साता अघि पक्राउ परेका ढुङ्गाना र मगरमाथी ओखलढुङ्गा जिल्ला अदालतबाट एक साताको म्याद थप गरी कानुनअनुसार अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक खनालले जानकारी दिनुभयो ।