श्यामशंकर पाण्डे
लुम्बिनी, पुस १८ गते । नेपाल भ्रमणमा आउने पर्यटकका निम्ति भिसा लगाउन र नेपालबाट बाहिरिने पर्यटकलाई डिपार्चलको प्रमाणीकरण गरिदिन अध्यागमन कार्यालय बेलहियामा कर्मचारीको अभावले केही महिना यता अत्यधिक ढिलाइ हुँदै आएको छ ।
सेप्टेम्बरपछि लुम्बिनी आउने पर्यटकको सिजन सुरु हुने भएकाले अत्यधिक पर्यटकको आगमन हुने र बेलहिया नाका हुँदै प्रस्थान गर्ने पर्यटकको सङ्ख्या पनि उत्तिकै हुने भएकाले अध्यागमन कार्यालयमा लगभग दिनहुँ पर्यटकको भीड लाग्ने गरेको छ । पर्यटनको सङ्ख्याको तुलनामा काम गर्ने जनशक्तिको कमी हुँदा पर्यटक सेवा लिनका लागि घण्टौ लाइनमा बस्नु पर्ने बाध्यता भएको हो ।
विशेषगरी लुम्बिनीका लागि बुद्धिष्ट मुलुकका पर्यटक सुनौली–बेलहिया नाका हुँदै नेपाल आउने गर्छन् । भारतमा रहेको बोधगया, कुशिनगर, सारनाथ, सराबस्ती लगायतका बौद्ध पर्यटन स्थलको भ्रमणपछि लुम्बिनी र आसपासको बुद्ध स्थलका लागि भारतीय बस लिएर उनीहरू आउने गर्छन् ।
उनीहरूले अध्यागमनमा पर्ने कामका लागि सामान्यतया एक घण्टाको समय छुट्याएर समय तालिका बनाएर भ्रमणमा निस्किन्छन् । अध्यागमनमा हुने ढिलाइले समयतालिका बिग्रेपछि जतिसक्दो चाँडो लुम्बिनीको दर्शन गरेर फर्किन हतार गर्ने गर्छन् । जसका कारण कपिलवस्तुको तिलौराकोट, नवलपरासीको रामग्राम, देवदह लगायतका बुद्धसँग सम्बन्धित पर्यटकिय स्थल घुम्ने योजनालाई उनीहरूले समय अभावका कारण स्थगित गर्ने गरेका छन् । बुद्धिष्ट तिर्थयात्रीले निश्चित समयभित्रै खाना खाने गरेको र साँझ घाम अस्ताएपछि खाना खाँदैनन् ।
‘‘सेप्टेम्बर लागेपछि यहाँका होटल ७५ प्रतिशत बुद्धिष्ट पर्यटकका कारण बुक हुने गर्छ’’, आगामी एक महिनासम्मका लागि आफ्नो होटल बुद्धिष्ट पर्यटकका लागि अग्रिम बुक भएको जानकारी दिनुहुँँदै पर्यटन व्यवसायी आशा गुरुङले भन्नुभयो, ‘‘अध्यागमनमा हुने ढिलाइले पर्यटकका लागि बनाएको खाना दिनहुँ खेर जाने, तर पर्यटक भने भोकभोकै सुत्नु पर्ने अवस्थाले नेपालको पर्यटन क्षेत्रमा नकारात्मक असर पर्ने त होइन ? भन्ने चिन्ता थपिएको छ ।’’
अध्यागमन र सीमा क्षेत्रमा हुने गरेको सास्तीले कतिपय पर्यटक सिमानाबाटै फर्किन खाज्छन् । तर बुद्धको जन्मस्थलको दर्शन गर्ने अभिलाशाले गर्दा जसरी भए पनि आउने गरेको उहाँले बताउनुभयो । यो अध्यागमन कार्यालय पर्यटक आवागमनको हिसाबले काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पछिको मुलुककै दोस्रो ठुलो हो । कोभिड सङ्क्रमणकाल अघि यस कार्यालय हुँदै सुनौली–भैरहवा नाकाबाट आवागमन हुने पर्यटकको सङ्ख्या वार्षिक तीन लाख नाघेको थियो । कोभिड सङ्क्रमणको बेला पर्यटकको अवागमन शून्य अवस्थामा रहेको थियो । तर अहिले पर्यटकको आवागमन बढ्दै जान थालेको छ ।
पर्यटकको आगमन बढाउने नीति तीनवटै तहका सरकारले अवलम्बन गरिरहँदा आवश्यकता अनुरूपको कर्मचारी अभावले अध्यागमन कार्यालयमा पर्यटकले पाउने सास्तीले यहाँका पर्यटन व्यवसायी भने चिन्तित छन् । अध्यागमन कार्यालय बेलहियाका प्रमुख नारायणप्रसाद पाण्डे सेवा लिन आउने पर्यटकको तुलनामा कार्यालयमा उपलब्ध जनशक्ति कमी रहेको र एकै पटक धेरैजना पर्यटक आइपुग्दा यस खालको समस्या हुने गरेको बताउनुभयो ।
‘‘कार्यालयमा जनशक्तिको कमी छ । एकैपटक धेरैजना पर्यटक आउँदा पर्यटकलाई धेरै समयसम्म लाइनमा बस्नु पर्ने बाध्यता भएको हो’’, पाण्डेले भन्नुभयोे, ‘‘सुनौली–बेलहिया नाका हुँदै नेपाल आउने पर्यटकको बढ्दै जान थालेको छ, तर त्यस अनुरूपको जनशक्ति कार्यालयमा छैन ।’’
उहाँका अनुसार, कहिलेकाही १५ सयभन्दा धेरै पर्यटक एकैदिन आइपुग्छन् । कार्यालयमा प्रमुखसहित पाँच जनामात्र कर्मचारी छन् । एक जना कर्मचारीले दैनिक १४ घण्टासम्म सेवा दिनु परेको छ । चारवटा डेस्कबाट सेवा उपलब्ध गराइएको छ । सबै प्रक्रिया पुगेको पर्यटकलाई भिसा दिँदा एक जनालाई सरदर १ मिनेट र डिपार्चलका लागि करिब आधा मिनेटमा सेवा उपलब्ध हुने गर्छ । थप तीन जना कर्मचारी उपलब्ध भएमा यो समस्या तत्कालका लागि समाधान हुने उहाँले बताउनुभयो ।