भाइबहिनीहरू, अभिभावक वा कसैले सामान वा सवारीसाधन वा घरजग्गाको कर तिर्नु पर्छ भनेको कुरा सुन्नुभएको होला । कुनै पनि कुरा किन्दा वा उपयोग गर्दा सरकारलाई तिरिने शुल्कलाई कर भनिन्छ । आम्दानी गर्दा वा सामान किन्दा तोकिएको रकम सरकारलाई पनि तिर्नुपर्ने हुन्छ ।
प्राचीनकालमा नोट वा सिक्काको चलन थिएन । त्यो बेला एउटा सामानसँग अर्को सामान साटेर किनबेच गर्ने चलन हुन्थ्यो । नागरिकले आफूले उब्जनी गरेका अन्नपात करका रूपमा राज्यलाई बुझाउनु पर्दथ्यो । राणा शासनमा कृषि र व्यापारबाट कर उठाइन्थ्यो । किसानले जिम्मुवाल, तहविलदार, बडाहाकिममार्फत करका रूपमा मालपोत बुझाउनु पथ्र्याे । त्योबेला जस्तै मालपोत बुझाउने चलन अहिले पनि छ । नेपालमा २००८ सालबाट आधुनिक कर प्रणाली सुरु भएको हो ।
देश सञ्चालन गर्न खर्चको आवश्यकता पर्छ । सरकारले शिक्षक वा कर्मचारीलाई हरेक महिना तलब दिन्छ । सडक वा पुल वा नहर बनाउँछ । अस्पतालमा उपचारको व्यवस्था गरिदिन्छ । निःशुल्कमा पाठ्यपुस्तक र खाजा उपलब्ध गराउँछ । यी सबै काम गर्न सरकारले नागरिकसँग रकम लिने गर्दछ । यसैलाई कर भनिन्छ ।
देशले विभिन्न नाममा महसुल, शुल्क, दस्तुर आदि नाममा कर सङ्कलन गर्ने गरेको हुन्छ । कर दुई किसिमको हुन्छ– प्रत्यक्ष कर र अप्रत्यक्ष कर । सिधै सरकारलाई बुझाउनुपर्ने करलाई प्रत्यक्ष कर भनिन्छ । व्यक्ति, कम्पनी र व्यवसायले कमाएको आम्दानीमा प्रत्यक्ष कर लगाइन्छ । जस्तैः तपाईंका अभिभावकले एक वर्षमा पाँच लाख रुपियाँ कमाउनुहुन्छ भने त्यसमा एक प्रतिशतका दरले वर्षको पाँच हजार रुपियाँ सामाजिक सुरक्षा कर तिर्नु पर्छ । प्रत्यक्ष कर अरूकोमा सार्न सकिँदैन । जसले आम्दानी गर्छ उसैले यो कर तिर्नु पर्छ ।
अप्रत्यक्ष कर सम्बन्धित व्यक्तिले तिर्नु पर्दैन । तपाईंले कुनै कुरा किन्दा तिर्नु भएको रकमको एक भाग करको रूपमा सरकारलाई जान्छ । चकलेट, चिप्स, खेलौना किन्दा तपाईंले पनि कर तिरिरहनुभएको हुन्छ तर यो कुरा तपाईंलाई थाहा हुँदैन । सामान उत्पादक वा व्यापारीले सरकारलाई विभिन्न कर तिर्नुपर्ने हुन्छ । उसले त्यो कर तपाईंमाथि सारिदिएको हुन्छ । तपाईंले सामान किन्दा कर तिरिदिनुहुन्छ ।
करको दर फरक फरक हुन्छ । आम्दानी र सम्पत्तिका आधारमा करको दर फरक हुन्छ । जस्तैः पाँच लाखदेखि सात लाखसम्म वार्षिक आम्दानी गर्नेले १० प्रतिशत कर तिर्नु पर्दछ । वर्षमा ५० लाख रुपियाँभन्दा धेरै आम्दानी गर्नेले ३९ प्रतिशत आयकर तिर्नु पर्दछ ।