• १९ मङ्सिर २०८२, शुक्रबार

चीन भ्रमणको अन्त्यमा म्याक्रोनको सांस्कृतिक स्पर्श

blog

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन ।

चेङ्ग्दू (चीन), मङ्सिर १९ गते । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले युक्रेन र व्यापार सम्बन्धी महत्वपूर्ण र केही कडा कूटनीतिक वार्तापछि शुक्रबार चीनको आफ्नो चौथो राजकीय भ्रमणलाई थप हल्का र मैत्रीपूर्ण शैलीमा समापन गर्नु भएको छ । 

दक्षिणपश्चिमी सिचुआन प्रान्तको चेङ्ग्दू सहरमा उहाँले प्राचीन बाँध, पाण्डा तथा पिङ-पङसँग जोडिएका सांस्कृतिक कार्यक्रममा सहभागी भएर भ्रमणलाई सहज वातावरणमा समाप्त गर्नुभयो । राष्ट्रपति म्याक्रोन र उहाँकी पत्नी ब्रिजिट म्याक्रोनले राष्ट्रपति सी जिनपिङ तथा उहाँकी पत्नीलाई बेइजिङस्थित ग्रेट हल अफ द पिपलभन्दा बाहिरको परिवेशमा भेट्न चेङ्ग्दू जाने कार्यक्रम राख्नु भएको थियो । 

गत वर्ष मे महिनामा फ्रान्सकै पाइरेनिस क्षेत्रमा राष्ट्रपति सीलाई स्वागत गर्नु भएकाले यस पटक उहाँले सो आतिथ्यलाई प्रतिउत्तर स्वरूप निकै विशेष भावका रूपमा लिएको बताउनुभयो । म्याक्रोनले यसले दुवै देशबिच विश्वास, सद्भाव र सहयोग गर्न इच्छाशक्ति रहेको स्पष्ट सङ्केत दिएको टिप्पणी गर्नुभयो ।

यसै क्रममा राष्ट्रपति सीले आफ्ना पाहुनालाई करिब ७२६ मिटर उचाइमा रहेको प्रसिद्ध माउन्ट किङचेङतर्फ लानुभयो, जहाँ प्राचीन सिँचाइ प्रणाली र विशाल बाँध अवस्थित छ । दुवै राष्ट्र प्रमुख दम्पतीबिचको भेटघाट दिगो मित्रता र बहुसांस्कृतिक आदान–प्रदानलाई सुदृढ पार्ने अवसरका रूपमा हेरिएको छ । भेटपछि म्याक्रोन दम्पतीले आफ्नो अलग–अलग सांस्कृतिक कार्यक्रम पनि तय गर्नु भएको छ ।

चीनको चौथो ठूलो तथा सांस्कृतिक रूपमा खुला रहेको चेङ्ग्दू सहरमा राष्ट्रपति म्याक्रोनले विद्यार्थीसँग अन्तरक्रिया गर्नु हुने छ । सोही समयमा ब्रिजिट म्याक्रोनले विश्व प्रसिद्ध चेङ्ग्दू जायन्ट पाण्डा ब्रिडिङ रिसर्च बेसको भ्रमण गर्दै ‘पाण्डा कूटनीति’को प्रत्यक्ष अवलोकन गर्ने कार्यक्रम छ । सन् २०१२ मा फ्रान्सलाई ऋणमा दिइएका दुई पाण्डा भर्खरै चीन फर्किएका छन् । त्यहीँ उहाँले सन् २०१७ मा फ्रान्समै जन्मिएको पहिलो विशाल पाण्डा ‘युआन मेङ’-जसकी उनी आधिकारिक ‘गडमदर’ हुन लाई फेरि भेट्नु हुने छ ।

सिचुआनको जङ्गल हिउँ चितुवा र विशाल पाण्डासहितका दुर्लभ प्रजातिका बास स्थानका रूपमा चिनिन्छ । फ्रान्सेली राष्ट्रपति म्याक्रोनले पेरिस २०२४ ओलम्पिकका स्टार टेबल टेनिस खेलाडी एलेक्सिस र फेलिक्स लेब्रुन दाजुभाइलाई पनि भेट्नु हुने छ । उनीहरू हाल चीनमा मिश्रित टोली विश्वकपमा सहभागी भइरहेका छन् । यसले दुवै देशबिच खेल सहयोग तथा सांस्कृतिक सम्बन्धसमेत मजबुत भएको सङ्केत दिन्छ ।

भेटघाटको वातावरण सहज र मैत्रीपूर्ण देखिए पनि यस भ्रमणमा गम्भीर विषयको चर्चा पनि केन्द्रमा रह्यो । बेइजिङमा बिहीबार राष्ट्रपति म्याक्रोनले युक्रेनमा जारी युद्ध अन्त्य गर्न चीनले प्रभावकारी भूमिका खेल्नु पर्नेमा जोड दिनु भएको थियो । 

साथै फ्रान्स-चीन तथा युरोप-चीनबिचको बढ्दो व्यापार असन्तुलनलाई सुधार गर्न आग्रह गर्नु भएको थियो । चीनले शान्ति वार्ताका लागि निरन्तर आह्वान गर्दै आए पनि रूसको आक्रमणबारे प्रत्यक्ष टिप्पणी नगर्ने नीति कायम राखेको छ । पश्चिमी मुलुकले चीनमाथि रूसलाई अप्रत्यक्ष रूपमा आर्थिक र प्राविधिक सहयोग गर्दै आएको आरोप लगाउने गरेका छन्, जसलाई चीनले अस्वीकार गर्दछ ।

फ्रान्समा चिनियाँ लगानी बढाउन राष्ट्रपति म्याक्रोनले राखेको आग्रहलाई केही सकारात्मक सङ्केत देखिएको छ । यसै क्रममा बिहीबार दुवै पक्षबिच पारस्परिक लगानी विस्तार गर्ने उद्देश्यको आशय पत्रमा हस्ताक्षर भएको छ । राष्ट्रपति सीले ‘निष्पक्ष व्यापार वातावरण’ कायम गर्दै आपसी लगानी र व्यापारिक साझेदारी सुदृढ गर्न चीन तयार रहेको बताउनु भएको थियो फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन रासस/एएफपी