शशिधर पराजुली
विराटनगर, मङ्सिर १९ गते । उद्योग व्यवसाय क्षेत्र र श्रम बजारको आवश्यकताबिच तालमेल नहुँदा उद्योगहरूले चाहेअनुरूपको जनशक्ति पाउन नसकेको गुनासो गरेका छन् ।
उद्योग सङ्गठन मोरङ र नेपाल व्यावसायिक योग्यता प्रणाली परियोजनाको सहकार्यमा दक्ष जनशक्ति उत्पादन, सीप परीक्षण तथा पूर्व सिकाइको मान्यता विषयक अन्तर्क्रिया कार्यक्रममा वक्ताहरूले यो समस्या समाधानमा जोड दिनुभएको हो ।
कार्यक्रममा सङ्गठनका अध्यक्ष नन्दकिशोर राठीले व्यावहारिक सीपको महत्त्व बढ्दै गएको वर्तमान परिप्रेक्ष्यमा उद्योगले खोजे अनुसारको जनशक्ति नपाउनु ठलो चुनौती रहेको बताउनु भयो ।
‘रोजगारी खोज्ने व्यक्तिको सीप र उद्योगले खोजिरहेको सीपबिच ठुलो खाडल छ’ अध्यक्ष राठीले भन्नु भयो, ‘यो खाडल पुर्न सीपको प्रभावकारी मूल्याङ्कन तथा प्रमाणीकरणमार्फत उद्योगलाई आवश्यक दक्ष जनशक्ति विकास गर्नु हामी सबैको साझा दायित्व हो ।’
उहाँले धेरै जनशक्तिसँग व्यावहारिक सीप भए पनि औपचारिक प्रमाणपत्र नहुँदा समस्या भइरहेको बताउँदै पूर्व सिकाइको मान्यताले यस्ता सीपलाई औपचारिक स्वीकृति दिलाउन सहयोग गर्ने विश्वास व्यक्त गर्नु भयो ।
सोही अवसरमा सङ्गठनका उपाध्यक्ष सुरेन्द्र गोल्छाले उद्योग व्यवसाय, सीप विकास र श्रम बजारबिचको सम्बन्धलाई अझ मजबुत बनाउन आवश्यक रहेको बताउनुभयो । उहाँले दक्ष जनशक्ति विकासले मात्र प्रतिस्पर्धी र सक्षम औद्योगिक वातावरण निर्माणमा सहयोग पुग्ने धारणा व्यक्त गर्नु भयो ।
अर्का उपाध्यक्ष विपिन कावराले लामो अनुभव र अभ्यासबाट सीप हासिल गरेका धेरै श्रमिकहरू औपचारिक प्रमाणपत्र नहुँदा अवसरबाट वञ्चित भइरहेको अवस्थालाई चित्रण गर्नु भयो । उहाँले भन्नुभयो, ‘सीप परीक्षण र पूर्व सिकाइको मान्यताले यिनै अनुभवी श्रमिकलाई औपचारिक पहिचान दिलाएर उनीहरूको क्षमतामा नयाँ ऊर्जा थप्ने छ ।’
नेपाल व्यावसायिक योग्यता प्रणाली परियोजनाका प्रमुख सुभाष घिमिरेले श्रम बजारमै आधारित सीप प्रणाली विकास गर्नु आजको आवश्यकता भएको बताउनु भयो । अनुभवलाई औपचारिक मान्यता दिने र उद्योगमैत्री सीप परीक्षण विस्तार गर्ने कार्यमा निजी क्षेत्रको सक्रिय सहभागिता अत्यावश्यक रहेको बताउँदै घिमिरेले भन्नु भयो, ‘सीप विकासमा केन्द्रित संस्थाहरूबिच सहयोग सुदृढ भएमा स्थानीय तहमै रोजगारी सिर्जना र उत्पादकत्व अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्ने छ ।’
कार्यक्रममा सहभागी उद्योगी व्यवसायी, ट्रेड युनियन, इन्स्योर परियोजना, एनभिक्युएस तथा पेसागत सङ्गठनका प्रतिनिधिहरूले उद्योगका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन र सीप परीक्षण प्रणालीको प्रभावकारी कार्यान्वयनका लागि सामूहिक प्रयासमा जोड दिएका थिए ।