शङ्कर केसी
सल्यान, मङ्सिर १९ गते । सल्यानमा सफारी गाडी दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । जिल्लाको कपुरकोट गाउँपालिका–३, नयाँरोड नजिकै शुक्रबार दिउँसो भएको सवारी दुर्घटनामा ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
रोल्पाबाट तुलसीपुर दाङतर्फ आउँदै गरेको रा. १ ज. ८४३ नम्बरको सफारी गाडी अनियन्त्रित भएर भित्री सडक खण्डमा पल्टिएको थियो । घाइते हुनेहरूमा रोल्पा गङ्गादेव गाउँपालिका–४ का ४५ वर्षीय हरिबहादुर थापा, ४२ वर्षीया गीता थापा, १९ वर्षीया टीका थापा, ३० वर्षीया बिमला थापा, उहाँका ९ वर्षीय छोरा पवन थापा तथा ८ वर्षीय रावल थापा रहेको जिल्ला प्रहरी कार्यालयको सञ्चार शाखाले जनाएको छ ।
दुर्घटनामा घाइते सबैलाई तत्काल उपचारका लागि कपुरकोट आधारभूत अस्पतालमा लगिएको थियो । घाइतेहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। रोल्पा गङ्गादेव गाउँपालिका–६ का २२ वर्षीय रामकुमार वलीले चलाएको उक्त गाडी दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।