किएभ, मङ्सिर १९ गते । रुससँगको शान्ति प्रयासमा कुनै ठोस प्रगति नभएको मस्कोको सङ्केतपछि युक्रेनी प्रतिनिधिमण्डलले अमेरिकी वार्ताकारसँग शुक्रबार पनि वार्ता जारी राख्ने तयारी गरेको छ । युक्रेनका राष्ट्रिय सुरक्षा सचिव रुस्टेम उमेरोभ र जनरल स्टाफका प्रमुख एन्ड्री हेनाटोभको नेतृत्वमा रहेको टोली विशेष दूत स्टिभ विटकफको नेतृत्वमा रहेको अमेरिकी पक्षसँग पुनः छलफलमा बस्दै छ ।
राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले एक्समा उक्त छलफलको उद्देश्य मस्कोमा हालसालै भएका वार्ताका सबै विवरणको स्पष्टता प्राप्त गर्नु र कूटनीतिक प्रक्रियामा युक्रेनको चासो प्रमुखरूपमा सुरक्षित गर्नु रहेको बताउनुभयो । उहाँले युक्रेन ‘कुनै पनि सम्भावित घटना क्रम’ का लागि तयार रहेको र सम्मानजनक शान्ति स्थापनाका लागि सबै साझेदारसँग रचनात्मकरूपमा काम गर्ने प्रतिवद्धता दोहोर्याउनुभयो ।
जेलेन्स्कीले भन्नुभयो, “हाम्रो काम भनेको मस्कोमा के भनिएको थियो र पुटिनले युद्धलाई लम्ब्याउन वा युक्रेनमाथि दबाब सिर्जना गर्न कुन-कुन बहाना प्रयोग गर्दै हुनुहुन्छ भन्नेबारे पूर्ण जानकारी हाँसिल गर्नु हो । सम्मानजनक शान्तिले मात्र वास्तविक सुरक्षा दिन्छ र यसका लागि अन्तर्राष्ट्रिय समर्थन निरन्तर चाहिन्छ ।” यसअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी दूत विटकफसँग करीब पाँच घण्टा लामो वार्ता गर्नु भएको थियो । तर क्रेमलिनका वरिष्ठ सल्लाहकार युरी उसाकोभका अनुसार संवेदनशील क्षेत्रीय मुद्दामा कुनै सहमति हुन सकेन ।
इन्डिया टुडेसँगको अन्तर्वार्तामा पुटिनले युक्रेनको सुरक्षा रुसको सुरक्षा चासोमाथि आधारित हुनैपर्ने र मस्कोले आफ्नो ‘लालरेखा’मा सम्झौता गर्न नसक्ने स्पष्ट पार्नुभयो । नाटो विस्तारका विषयमा उहाँले पश्चिमी शक्तिमाथि आरोप लगाउँदै युक्रेनलाई नाटोमा तान्ने प्रयासले रुसको सुरक्षा गम्भीर जोखिममा पारेको बताउनुभयो ।
राष्ट्रपति जेलेन्स्कीबारे पुटिनले टिप्पणी गर्दै भन्नुभयो, “उहाँ शान्तिको वाचा गर्दै सत्तामा आउनुभयो, तर अहिले कट्टर राष्ट्रवादी शक्तिको हितलाई प्राथमिकता दिइरहनु भएको छ ।” पुटिनले वर्तमान युक्रेनी नेतृत्वको दृष्टिकोणलाई ‘चरम राष्ट्रवादीतर्फ उन्मुख’ भन्दै नव-नाजीवादसँग तुलना गर्नुभयो । पुटिनले सन् २०२२ मा युक्रेनसँग शान्ति वार्ताको प्रयास भएको दाबी गर्दै अहिले पनि वार्ताको ढोका खुला रहेको तर रुसको सुरक्षालाई कमजोर पार्ने सर्त स्वीकार्य नहुने पुनः जोड दिनुभयो । “युक्रेनलाई आफ्नै सुरक्षा प्रणाली छान्ने अधिकार छ, तर त्यो अधिकार रुसको खर्चमा प्रयोग गरियो भने स्वीकार्य हुँदैन,” उहाँले भन्नुभयो ।
उहाँले विगतका वाचा सम्झँदै भन्नुभयो, “हामीले असामान्य केही मागेका छैनौँ । सन् १९९० को दशकमा नै पूर्वतर्फ कुनै विस्तार नहुने आश्वासन दिइएको थियो, तर अन्ततः युक्रेनलाई समेट्ने प्रयाससम्म त्यसपछि निरन्तर विस्तार हुँदै गइरह्यो ।” पुटिनले युक्रेनको राज्य सार्वभौमसत्ताको घोषणापत्रले देशलाई ‘तटस्थ राज्य’को हैसियत दिएको उल्लेख गर्दै किएभले आफ्नै आधारभूत प्रतिबद्धताबाट विचलन गरेको आरोप लगाउनुभयो ।
युक्रेनको २८-बुँदे शान्ति प्रस्तावबारे सोधिएको प्रश्नमा पुटिनले ती २८ बुँदापछि २७ मा रूपान्तरण गरी चार छुट्टाछुट्टै प्याकेजमा विभाजन गरिएकाले छलफल ती बुँदामै सीमित रहेको बताउनुभयो । “नयाँ केही होइन-मूल संरचना उही २७ बुँदामै आधारित छ”, उहाँले निष्कर्ष प्रस्तुत गर्नुभयो । रासस/एएनआई