शार्दूलवैभव, जोरावरसिंह, दिलीपप्रताप र बहादुर राज्यबर्धन नाम गरेका राजा थिए । उनीहरूका राज्य फरक थियो । उनीहरूको सोच एक अर्कासँग मिल्दैन थियो । उनीहरू आफ्नो राज्यलाई शक्तिशाली कसरी बनाउन सकिन्छ भन्ने मात्र सोचिरहन्थे । ती राजाले राज्यको सीमा पनि विस्तार गर्न चाहिरहन्थे । त्यसैले उनीहरू युद्ध गर्न निहुँ खोजिरहेका हुन्थे ।
उनीहरूले आफ्नो राज्यमा उद्योग कलकारखाना, सूचना प्रविधि आदिको विकासलाई प्राथमिकता दिएका थिए । उनीहरूले आधुनिक हातहतियारको उत्पादन पनि निकै गर्दै आएका थिए । छिमेकी राज्यलाई तर्साउन र देखाउन बेलाबखत हातहतियार प्रदर्शन गर्थे । अनावश्यक रूपमा हतियार विस्फोट गराउँदै आएका थिए । चार वटै राज्यमा प्राकृतिक स्रोतसाधनको अत्यधिक मात्रामा उत्खनन गरिँदै आएको थियो । यी कार्यले गर्दा ती राज्यको वातावरणमा नकारात्मक असर पर्न थालिसकेको थियो । वातावरणको नास गर्ने काम गर्दा जलवायु परिवर्तनको समस्या देखिन थाल्यो । गर्मीयाममा निकै गर्मी हुन थाल्यो । वर्षामा चाहिनेभन्दा बढी पानी पर्ने वा पानी नै नपर्ने समस्या सिर्जना भयो । जाडोमा निकै चिसो हुन्थ्यो । जलवायु परिवर्तनका कारण यस्ता असर देखिएका थिए । यसले गर्दा कतिपय जीवजन्तु लोप हुन थाले । कृषि उत्पादन पनि घट्न थाल्यो । मानिस धमाधम बिरामी पर्न थाले । विभिन्न रोग लागेर कम उमेरमै मानिसले ज्यान गुमाउन थाले ।
चार वटै राज्यका बिचमा सीमा समस्याका कारण झगडा हुन थाल्यो । झगडाले युद्ध सुरु भयो । युद्धमा मिसाइलको प्रयोग भयो । हातहतियार निर्माण गर्दा विकिरणबाट कैयौं मानिसले ज्यान गुमाए । युद्धका कारण खेतीपाती बन्द हुन थाल्यो । खानेकुराको उत्पादन हुन सकेन । मानिसले खान नपाएर ज्यान गुमाउन थाले । राजाहरूले आफ्ना परिवारलाई पनि गुमाउन थाले । खानेकुराको अभाव भएपछि लुटपाट मच्चियो । घर घरमा गएर मानिसले खानेकुरा चोर्न थाले । चार वटै राज्यमा अशान्ति मच्चियो ।
यो युद्ध छिटै रोकिँदैन भन्ने चारैजना राजाले महसुस गरे । त्यसैले उनीहरू वार्ताका लागि एउटै टेबुलमा बस्न तयार भए । वार्ता सुरु भयो । एक अर्काले आफूले गरेको गल्तीको पश्चाताप गर्न थाले । आफूहरूले गलत काम गरेको स्वीकार गरे । चारै जनाबिच लिखित सहमति भयो र युद्ध रोकियो ।
कुनै पनि हातहतियार उत्पादन नगर्ने सहमति गरिएको थियो । त्यसैले हतियार उत्पादन गर्ने उद्योगलाई उनीहरूले नष्ट गरिदिए । राज्यलाई हराभरा गराउन थाले । कृषि उत्पादनमा जोड दिए । कृषि उत्पादन बढ्न थाल्यो । धान, गहुँ, मकै, तरकारी जस्ता खाद्यवस्तु अरू राज्यलाई पनि बिक्री गर्न थाले । वातावरण प्रदूषण हुने उद्योग सबै बन्द गरिदिए । कम समयमा नै चार वटै राज्य हराभरा भयो । जलवायु परिवर्तनको समस्या पनि कम हुन थाल्यो । मानिस खुसी हुँदै गए । राज्य धनी हुँदै गयो ।