• ९ असार २०८१, आइतबार

बाँकेमा मङ्गलबारदेखि कोभिडविरुद्धको खोप अभियान पुनः सुरु गरिने

blog

सिराज खान
नेपालगञ्ज, जेठ ९ गते ।
बाँकेमा जेठ १० गते अर्थात् मङ्गलबारदेखि कोभिडविरुद्धको खोप अभियान पुनः सुरु गरिँदैछ ।

स्थानीय तह निर्वाचनका कारण रोकिएको खोप अभियान निर्वाचन सम्पन्न भइ मतपरिणाम आइसकेकोले मङ्गलबारदेखि पुनः सुरु गरिने स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

जिल्लाका ८ वटै पालिकाका ८१ वटा वडामा यही जेठ १०, ११ र १२ गते १८ वर्षमाथिका नागरिकलाई कोरोनाविरुद्धको पहिलो, दोस्रो र बुष्टर डोज दिने कार्यक्रम रहेको स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।

उहाँले बाँकेमा चार लाख ४४ हजार ७६७ जनालाई पहिलो, दोस्रो र बुष्टर डोज दिने लक्ष्य लिइएको बताउनुभयो ।

स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा हालसम्म पहिलो डोज खोप लगाउन ३८ हजार १६२ जना, दोस्रो डोज लगाउन एक लाख ११ हजार १८१ जना र बुष्टर डोज लगाउन दुई लाख ९५ हजार ४२४ जना बाँकी छन् ।

खोप फोकल पर्सन श्रेष्ठले बाँकेको राप्ती सोनारीमा ५३ हजार ६९५, कोहलपुरमा ६३ हजार ५९४ जनालाई खोप लगाउने लक्ष्य रहेको बताउनुभयो ।

यस्तै, बैजनाथ गाउँपालिकामा ३४ हजार ८७५, खजुरामा ४५ हजार ८७०, जानकीमा ३५ हजार ३८५ जनालाई खोप लगाउने लक्ष्य लिइएको उहाँले जानकारी दिनुभयो ।

नेपालगञ्ज उपमहानगरपालिकामा ८४ हजार ६५८, डुडुवामा २४ हजार २७ जना र नरैनापुरमा ३३ हजार नौ जनालाई खोप लगाउने लक्ष्य रहेको फोकल पर्सन श्रेष्ठको भनाइ छ ।

मङ्गलबारबाट पुनः सुरु गरिने खोप अभियानका लागि सबै आवश्यक तयारी पूरा गरिसकिएको र भ्याक्सिन पुर्याउने कार्य पनि सोमबार साँझसम्म पूरा गरिसकिने स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।