• ९ मंसिर २०८१, आइतबार

कांग्रेस पहिलो र एमाले दोस्रो पार्टी

blog

रामेछाप (गोरखापत्र), जेठ ९ गते । रामेछापका सबै स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले आफ्नो कार्यभार सम्हालिसकेका छन् । रामेछापमा कांग्रेस पहिलो, नेकपा एमाले दोस्रो र नेकपा माओवादी केन्द्र तेस्रो भएको छ । कांग्रेसले नगरप्रमुख र उपप्रमुख एक–एक, दुई गाउँपालिका अध्यक्ष र चार उपाध्यक्ष जित्दै पहिलो पार्टी बनेको हो । 

कांग्रेसले रामेछाप नगरपालिका प्रमुख र उपप्रमुख, गोकुलगङ्गा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष, लिखुतामाकोसी गाउँपालिकाको अध्यक्ष, उमाकुण्ड गाउँपालिकाको उपाध्यक्ष र दोरम्बासैलुङ गाउँपालिकाको उपाध्यक्ष जितेको छ । कांग्रेसले ६४ मध्ये २४ वटा वडाको वडाध्यक्ष जितेको छ । 

एमालेले गोकुलगङ्गा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै गुमाएको छ र लिखुतामाकोसी गाउँपालिकाको उपाध्यक्ष मात्रै जितेको छ । एमालेले मन्थली नगरपालिकाको प्रमुख र उपप्रमुख, खाँडादेवी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष, उमाकुण्ड गाउँपालिकाको अध्यक्ष र लिखुतामाकोसी गाउँपालिकाको उपाध्यक्ष जितेको छ । साथै २४ वटा वडाको वडाध्यक्ष जितेको छ । अघिल्लो निर्वाचनमा दुई गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष जितेको माओवादी केन्द्रले यो निर्वाचनमा एक गाउँपालिकाको उपाध्यक्ष गुमाएको छ ।