• १३ साउन २०८१, आइतबार

उडान नहुँदा चिनियाँ पर्यटक घटे

blog

काठमाडौँ, जेठ ९  गते । पछिल्लो समय नेपाल भित्रिने विदेशी पर्यटकको सङ्ख्या दैनिक दुई हजार नाघ्दासमेत चिनियाँ पर्यटकको सङ्ख्या बढ्न सकेको छैन् ।नेपाल–चीनबीच सिधा हवाई सेवा सञ्चालनमा आउन नसक्दा चिनियाँ पर्यटक बढ्न नसकेका हुन् ।

नेपाली पर्यटनको आधार मानिएका चिनियाँ पर्यटक भारतीय पर्यटकपछि सबैभन्दा बढी नेपाल भित्रिने गरेका थिए तर दुई वर्षअघि कोरोना महामारीको दोस्रो लहर सुरु हुँदा चीनले सङ्क्रमणको जोखिम कम गर्न व्यावसायिक यात्रुवाहक उडानमा लगाएको प्रतिबन्ध फुकुवा नहुँदा नेपाल भित्रिने चिनियाँ पर्यटकको सङ्ख्या ९५ प्रतिशतले घटेका छन् ।

कोरोना महामारीको अवधिमै भारततर्फ एयर बबलअन्तर्गत यात्रुवाहक हवाई सेवामार्फत यात्रुको आवागमन भइरहे पनि चीनसँगको हवाई सेवा बन्द भएयता चिनियाँ पर्यटक सहज रूपमा नेपाल आउन नसकेका हुन् । अहिले महामारीको असर कम भएर नेपाली पर्यटन क्षेत्र चलायमान हुन थाले पनि बन्द भएका चीनतर्फका उडान नियमित हुन नसक्दा नेपाल भित्रिने चिनियाँ पर्यटकको सङ्ख्या घटेको देखिन्छ ।

नियमित हवाई सेवा सञ्चालनमा आउन नसक्दा नेपाल–चीनबीचको व्यापार व्यवसायसमेत प्रभावित हुँदै आएको छ । “अहिले नेपालले नियमित उडान खोल्न चीनसँग अनुरोध गरे पनि उसले इच्छा नदेखाउँदा यात्रा महँगो त बनेको छ नै अर्काेतर्फ चिनियाँ पर्यटकमा आधारित गतिविधिसमेत प्रभावित बनेको छ,” पर्यटन बोर्डका कार्यकारी निर्देशक धनञ्जय रेग्मीले बताउनुभयो ।

व्यावसायिक उडान खोल्नेबारे चीनसँग भौतिक रूपमा छलफलसमेत हुन नसक्दा कहिलेबाट उडान सञ्चालनमा आउने भन्नेबारे समेत अन्योल कायमै रहेको उहाँले बताउनुभयो । नेपाल आउन चिनियाँ पर्यटकका लागि हवाई भाडा महँगो र स्थलमार्गमा झन्झट हुनाले पनि पर्यटक बढ्न नसकेको उहाँले बताउनुभयो ।

महामारी सुरु हुनुअघि नेपाली र चिनियाँ वायुसेवा कम्पनीले काठमाडौँमा नियमित उडान गर्दै आएका थिए तर महामारीपछि चीनबाट नेपालमा उडान भर्दै आएका एयर चाइना, चाइना साउथर्न, चाइना इस्टर्न र सिचुवान एयरलाइन्स र टिबेट एयरलाइन्सले यात्रुवाहक उडान सुरु गर्न सकेका छैनन् भने नेपालबाट समेत कार्गाे उडानबाहेकको उडान हुन सकेको छैन ।

चिनियाँ राष्ट्रपतिले दुई वर्षअघि गर्नुभएको नेपाल भ्रमणपछि नेपालमा चिनियाँ पर्यटक बढ्ने अनुमान गरिएको थियो । राष्ट्रपतिको भ्रमणपछि नेपालमा पाँच लाख चिनियाँ पर्यटक भित्र्याउने सरकारले लक्ष्यसमेत राखेको थियो ।

महामारीअघि नेपाल–चीन हवाई कनेक्टिभिटी बढेकाले हवाई यात्रु क्षमता पनि झन्डै चार लाख हाराहारी पुगेको थियो । महामारीअघि नेपाल–चीन सिधा हवाई यात्रा हङकङ, ग्वान्झोउ, कुन्मिङ, छेङ्दु र ल्हासासँग हुने गरेको थियो ।अध्यागमन विभागका अनुसार सन् २०१९ को पहिलो चार महिनामा ६१ हजार चिनियाँ पर्यटक नेपाल भित्रिएका थिए ।

अध्यागमन विभागका अनुसार सन् २०२१ मा छ हजार १९६ चिनियाँ पर्यटक नेपाल भित्रिएका थिए तर सन् २०२२ को पछिल्लो चार महिनामा एक हजार २३८ चिनियाँ नेपाल आएका छन् । यो वर्ष जनवरीमा ३२१, फेबु्रअरीमा २०५, मार्चमा ४३१ र अप्रिलमा २८१ जना चिनियाँ पर्यटन नेपाल भित्रिएका छन् । अप्रिलमा मात्रै गत वर्षको तुलनामा ६५ प्रतिशत चिनियाँ पर्यटक घटेको तथ्याङ्कले देखाएको छ ।

नेपाल आउन चिनियाँ पर्यटकका लागि हवाई भाडा महँगो र स्थलमार्गमा झन्झट हुनाले पनि पर्यटक बढ्न नसकेको पर्यटन व्यवसायीको धारणा छ ।चीनबाट पर्यटक नआउँदा त्यसको असर चिनियाँ रेस्टुरेन्टको व्यापारमा समेत परेको छ । कोरोनाअघिका वर्षमा ठमेलको ज्याठा क्षेत्रका अधिकांश चाइनिज रेस्टुरेन्टमा यतिबेला पर्यटकको भीडभाड हुने गरेको थियो । 

Author

मीनराज भण्डारी