• १८ पुस २०८१, बिहिबार

बैङ्क लगानीको मध्यस्थकर्ता

blog

बैङ्क तथा वित्तीय संस्थाहरू राज्यको कानुनबमोजिम स्थापना र सञ्चालन भएका हुन्छन् । यी संस्थाले मूलतः वित्तीय मध्यस्थताको कार्य गर्छन् । बैङ्कले बचतकर्ताबाट निक्षेपको रूपमा बचत स्वीकार गर्दछ भने सो निक्षेपलाई उद्यम गर्न चाहने तर आफूसँग पैसा नभएका वा कम भएका व्यक्ति वा संस्थालाई कर्जा प्रदान गर्छन् । यसैले बैङ्क तथा वित्तीय संस्थालाई वित्तीय मध्यस्थकर्ता भनिएको हो ।

सामान्यतया बैङ्क तथा वित्तीय संस्थालाई कारोबारको इजाजत प्रदान गर्ने काम केन्द्रीय बैङ्कले गर्दछ । नेपालमा यो कारोबारको इजाजत केन्द्रीय बैङ्क नेपाल राष्ट्र बैङ्कले दिन्छ । यसै गरी इजाजतप्राप्त बैङ्क तथा वित्तीय संस्थाको नियमन, सुपरीवेक्षण, अनुगमन तथा कारबाही गर्ने काम पनि नेपाल राष्ट्र बैङ्कले नै गर्दछ ।

नेपालमा अहिले ‘क’ ‘ख’, ‘ग’ र ‘घ’ गरी चार वर्गका बैङ्क तथा वित्तीय संस्था रहेका छन् । ‘क’ वर्गका संस्थालाई वाणिज्य बैङ्क, ‘ख’ वर्गका संस्थालाई विकास बैङ्क, ‘ग’ वर्गका संस्थालाई वित्त कम्पनी र ‘घ’ वर्गका संस्थालाई लघुवित्त वित्तीय संस्था भन्ने गरिएको छ जसलाई बैङ्किङ प्रणाली पनि भन्ने गरिएको छ ।

बैङ्क तथा वित्तीय संस्था आर्थिक उन्नतिका साथी हुन् । सानैदेखि बैङ्किङ बानी गर्ने मान्छे सजग हुन्छ र आर्थिक उन्नतिमा अघि बढ्छ । उसले भविष्यका लागि आर्थिक योजना बनाउँछ र सोही अनुसार आर्थिक व्यवहार गर्दछ ।

त्यसो भए कारोबारका लागि बैङ्क छनोट गर्दा कुन कुन कुरामा ध्यान दिनुपर्छ त ?

बैङ्किङ कारोबारको सुरुवात खाता खोल्ने कामबाट सुरु हुन्छ । टाढाको बैङ्कमा खाता खोलेर बैङ्किङ कारोबार गर्दा समय बढी लाग्ने भएकाले आफूलाई पायक पर्ने नजिकको बैङ्क तथा वित्तीय संस्थामा खाता खोल्नु पर्छ । नेपाल राष्ट्र बैङ्कबाट इजाजत लिएका बैङ्क तथा वित्तीय संस्थामा कारोबार गर्नु पर्दछ ।

यी संस्थामा पाँच लाखसम्मको निक्षेपको बीमा गरिएको हुन्छ । यसैगरी नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाको नियमन एवं सुपरीवेक्षण गर्ने भएकाले बैङ्कले जथाभाबी गर्न पाउँदैनन् र हाम्रो निक्षेप सुरक्षित हुन्छ । यसै गरी बैङ्किङ कारोबार गर्न खाता खोल्नुअघि कति प्रतिशत ब्याज दिन्छन्, सेवाको प्रक्रिया कस्तो छ भन्ने जानकारी अनिवार्य लिनु पर्दछ । कारोबार सरल भएको बैङ्कमा खाता खोल्नु पर्छ । कर्मचारीको व्यवहार असल र ग्राहकमैत्री भएको बैङ्कमा कारोवार गर्दा सहज हुन्छ ।

बैङ्कले विभिन्न खाता सञ्चालन गरेका हुन्छन् । यीमध्ये चल्ती, बचत र मुद्दति खाता लोकप्रिय छन् ।  दिनमा अनेक पटक कारोबार गर्नेले चल्ती खाता खोल्नु उपयुक्त हुन्छ । यस खातामा ब्याज पाइँदैन । बचत पनि गर्ने र पैसा झिकिरहनेहरूका लागि बचत खाता उपयुक्त हुन्छ । यसै गरी केही समय पैसा आवश्यक पर्दैन भने बढी ब्याज पाइने मुद्दति खाता खोल्नु उपयुक्त हुन्छ ।

बैङ्किङ कारोबारको अर्को महत्वपूर्ण पक्ष ऋण वा कर्जा कारोबार हो । सर्वप्रथम लिएको कर्जा ब्याजसहित चुक्ता गर्नुपर्ने हुन्छ । घाँटी हेरी हाड निल्नु भन्ने लोकोक्ति सही हो । ऋण लिँदा आवश्यक मात्र र तिर्न सक्ने मात्र लिनु पर्छ । व्यापारका लागि लिएको ऋण आम्दानी हुने हुँदा ऋण तिर्न सकिन्छ । आम्दानी वृद्धि गर्न सहयोग पुग्ने भए मात्र ऋण लिनु पर्छ । व्रतबन्ध, विवाह र अन्य पार्टीका लागि कर्जा लिनु आत्मघाती हुन सक्छ ।

कर्जा लिनुअघि बैङ्क तथा वित्तीय संस्थामा गएर तिर्नुपर्ने ब्याज, अवधि, किस्ता रकम आदिबारे राम्रोसँग बुझ्ने गर्नु पर्छ । यसै गरी बैङ्क तथा वित्तीय संस्थाको कर्जाको ब्याजदर परिवर्तन हुने वा नहुनेसम्बन्धी नीति नियमबारे जानकारी आवश्यक छ ।

कर्जा लिँदा जुन कामका लागि ऋण लिएको हो सोही काममा प्रयोग गर्नु पर्छ भन्ने भुल्नु हुँदैन । आफ्नो व्यवसायको योजना बनाएर बैङ्क जानु पर्छ । ऋणका लागि निवेदन दिइसकेपछि ऋण स्वीकृत हुने समय, प्रक्रिया, ब्याजदर, समय, किस्ता रकमलगायतका बारेमा राम्ररी बुझेर मात्र कर्जा कारोबार गर्नु पर्दछ । कर्जा लिँदा परिवारका सदस्यसँग सल्लाह गर्न भुल्न हुँदैन । बैङ्कबाट प्राप्त हुन सक्ने अन्य सुविधा, अग्रिम भुक्तानी गर्न सकिने वा नसकिने, सकिने भए कुनै थप शुल्क लाग्ने वा नलाग्ने लगायतका विषयबारे जानकारी राख्नु पर्दछ ।

ऋण लिने निर्णय गर्नुअघि ऋण तिर्न सक्ने मात्र ऋण लिनु पर्छ । अहिले बजारमा ऋण मिनाहा गरिदिने हल्ला चलेको सुनिन्छ । यस्तो कुराको पछि लाग्न हुँदैन । नियतवश कर्जा नतिरेमा कालोसूचीमा परिने, धितो लिलाम हुने, जेल परिने, कुलवंशकै इज्जत जान सक्ने सम्भावनालाई कहिल्यै भुल्न हुँदैन । बैङ्क कर्जा आर्थिक उन्नतिको साधन पनि हुन सक्छ भने परिचालन गर्न नजान्दा विपत्तिको माध्यम पनि बन्न सक्छ ।

यसै गरी कुनै पनि व्यवसायमा लगानी गर्दा लगानीको ५० प्रतिशत रकम तपाईंको आफ्नो हुनु राम्रो हुन्छ । यसले लगानीकर्तालाई जोखिम कम हुन जान्छ । पहिला बचत गर्ने अनि मात्र ऋण लिने बानी गर्दा बैङ्क तथा ऋणी दुवैका लागि हितकर हुन्छ ।   

–युवामञ्च     

Author

डा.भागवत आचार्य