काठमाडौं, जेठ ८ गते। बलात्कार आरोपमा पक्राउ परेका मनोज पाण्डेमाथि प्रहरीले थप अनुसन्धान सुरु गरेको छ। एक किशोरीले आठ वर्षअघि आफूमाथि यौन दुर्व्यवहार भएको भन्दै टिकटकमार्फत् भिडियो सार्वजनिक गरेपछि प्रहरीले शनिबार आरोपित पाण्डेलाई पक्राउ गरेको थियो।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक बसन्तबहादुर कुँवरका अनुसार पाण्डेमाथि अनुसन्धान सुरु गरिएको हो। आरोपितमाथि छानबिन सुरु भएको र छानबिनपछि मात्र थप विवरण दिनसक्ने उहाँले बताउनुभयो।
“कस्तो मुद्दामा जानेभन्दा पहिले घटनामा भएको खास के हो ? त्यो पत्ता लगाउने र त्यसपछि कानुनी उपचारमा जाने प्रक्रियामा हामी छौँ। अहिले प्रारम्भिक रुपमा आरोपितसँग सोधपुछ गरेर अनुसन्धानलाई अगाडि बढाएका छौँ’’, प्रमुख कुँवरले भन्नुभयो। आठ वर्ष पहिला भएको मिस ग्लोबल इन्टरनेशनल प्रतियोगितापछि पाण्डेले आफूमाथि यौन दुव्र्यवहार गरेको आरोप पीडित युवतीको छ।
पाण्डेले आफूमाथि दुव्र्यवहार गरेको युवतीले सार्वजनिक गरेलगत्तै सामाजिक सञ्जाल प्रयोगकर्ताले पाण्डेमाथि अनुसन्धान गर्न सरकारलाई दबाब दिएका थिए। पीडित युवतीको पक्षमा शुक्रबारदेखि नै राजधानीमा प्रदर्शनसमेत सुरु भएको छ।
युवतीलाई न्याय दिनुपर्ने विषयमा शुक्रबार बसेको संघीय संसदमासमेत आवाज उठेको थियो। सभामुख अग्निप्रसाद सापकोटाले यो विषय गम्भीर भएको भन्दै अनुसन्धान प्रक्रिया अगाडि बढाउन सरकारलाई निर्देशनसमेत दिनुभएको थियो।
तत्काल अनुसन्धान समिति गठन
गृह मन्त्रालयले सामाजिक सञ्जालमा महिला हिंसाका सम्बन्धमा प्रकाशित भिडियोबारे ध्यानाकर्षण भएको भन्दै अनुसन्धान गरी आवश्यक कारबाही गर्न दिएको निर्देशनमा प्रहरी प्रधान कार्यालयले पाँच सदस्यीय अनुसन्धान समिति बनाएर अनुसन्धान सुरु गरेको हो।
उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक बसन्तबहादुर कुँवरको नेतृत्व रहेको समितिमा प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइराला, प्रहरी नायब उपरीक्षक कोपिला चुडाल, प्रहरी नायब उपरीक्षक हरि बस्नेत र प्रहरी निरीक्षक सपना खड्का रहनुभएको छ। समितिले शुक्रबारबाटै काम सुरु गरिसकेको छ।
कानून संशोधनको माग
बलात्कारसम्बन्धी कानून संशोधनको माग गर्दै नेपाल विद्यार्थी संघले कानून, न्याय तथा संसदीय मामिला मन्त्रीलाई आइतबार मात्रै ज्ञापन बुझाएको छ। नेपालको फौजदारी संहिता, २०७४ मा व्यवस्था भए बमोजिम बलात्कारसम्बन्धी कानूनमा बलात्कारविरुद्ध मुद्दा दर्ता गर्न पाउने हदम्याद संशोधन गर्न तथा उक्त कानुनमा बलात्कारको परिभाषा र प्रमाण सङ्कलनमा सुधार गर्न मागसहित पत्र बुझाइएको हो।
नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पासहितको टोलीले कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) निवास हरिहरभवन, पुल्चोक पुगेर ज्ञापनपत्र बुझाएको छ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले सामाजिक सञ्जालमार्फत बलात्कारसम्बन्धी कानुनलाई छिटो प्रक्रियाबाट संशोधन गर्न र हदम्याद नलाग्ने व्यवस्था गर्न संसद्लाई आग्रह गर्नुभएको छ। कानुनमा हदम्याद तोकेकाले त्यो सच्याउन सर्वत्र दबाब बढ्दै गएको छ।
कस्तो छ हदम्यादको व्यवस्था ?
मुलुकी अपराध संहिता, २०७४ को २२९ मा रहेको हदम्याद : (१) दफा २२० अन्तर्गतको कसूरमा जहिले सुकै पनि उजुर गर्न सकिने कुरा उल्लेख छ। अपराध संहिता दफा २१९, २२१, २२२, २२३, २२४, २२५ र २२६ को उपदफा (३) अन्तर्गतको कसूरमा त्यस्तो कसूर भएको मितिले एक वर्षभित्र र यस परिच्छेद अन्तर्गतको अन्य कसूरमा त्यस्तो कसूर भएको कुरा थाहा पाएको मितिले तीन महिना नाघेपछि उजुर लाग्ने छैन भन्ने व्यवस्था छ।
तर, थुनामा रहेको वा नियन्त्रणमा लिएको वा अपहरण गरेको वा शरीर बन्धक लिएको व्यक्तिविरुद्ध कसूर भएकोमा थुना, नियन्त्रण अपहरण वा शरीर बन्धकबाट मुक्ति पाएको मितिले तीन महिना नाघेपछि उजुर लाग्ने छैन।