• ४ जेठ २०८१, शुक्रबार

लिग–२ मा सकभर धेरै खेल जित्छौँ : सन्दीप

blog

पत्रकार सम्मेलनमा कप्तान सन्दीप लामिछानेलगायत । तस्बिर साभार : क्यान फेसबुक पेज

काठमाडौं, जेठ ८ गते । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आईसीसी  विश्वकप लिग–२ मा नेपालले सकभर धेरै खेल जित्ने बताउनुभएको छ । लिग–२ अन्तर्गत अमेरिकामा हुन लागेको नेपाल, ओमान र अमेरिकासम्मिलित त्रिदेशीय सिरिज अघि आइतबार आयोजित पत्रकार सम्मेलनमा सन्दीपले सिरिजका हरेक खेलमा जित निकाल्ने प्रयास गर्ने बताउनुभयो ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का अनुसार  नेपालले सिरिजको पहिलो खेल जुन ९ तारिख ओमानसँग खेल्नेछ । नेपालले दोस्रो खेल अमेरिकाविरुद्ध जुन ११, तेस्रो खेल ओमानविरुद्ध जुन १४ र अन्तिम खेल अमेरिकाविरुद्ध जुन १५ तारिख खेल्नेछ । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली टोली अमेरिका जानुअघि आइबार नेपाल र अमेरिकाबीच कुटनीतिक सम्बन्ध पूरा भएको ७५औं वर्षगाँठको अवसरमा लिग–२ बारे पत्रकार सम्मेलनगरी जानकारी दिएको हो । 

पत्रकार सम्मेलनमा सन्दीपले अमेरिकामा हुने सिरिजका लागि टोलीका सबै खेलाडी उत्साहित रहेको पनि बताउनुभयो । प्रशिक्षक पुवुदु दासानायकेले आफू अमेरिकाको समेत प्रशिक्षक रहिसकेकाले नेपालका लागि यस भ्रमण राम्रो अवसर हुने बताउनुभयो । दसानायकेले नेपाली टोली प्रतियोगिता अघिनै अमेरिका जाने र त्यहाँ नेपाली समुदायसँग केही अभ्यास खेल खेल्ने पनि बताउनुभयो । 

क्यानले अमेरिका भ्रमणका लागि एक साताअघि नै सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्सीय खेलाडी टोलीको घोषणा गरिसकेको छ । लिग–२ अन्तर्गत सिरिजमा १२ खेल खेलेको नेपाल अहिले तालिकाको छैटौं स्थानमा छ । ओमान, यूएई, स्कटल्याण्ड, नामिबिया, अमेरिका र पीएनजी गरी सात टोली सहभागी लिग–२ मा प्रत्येक टोलीले ३६ खेल खेलेपछि शीर्ष तीनमा रहने टोली सन् २०२३ मा भारतमा आयोजना हुने एकदिवसीय विश्वकप क्रिकेटमा छनोट हुनेछन् । 

नेपाली टोली 

सन्दीप लामिछाने (कप्तान), विनोद भण्डारी (विकेट किपर), आसिफ शेख, कुशल भुर्तेल, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, सुनिल धमला, देव खनाल, आदिल अन्सारी, करण केसी, सोमपाल कामी, विक्रम सोब, किशोर महतो र सागर ढकाल ।